रिमालको ‘छौंडा’ शब्दकोषको अर्थ र प्रतिक्रिया



२२ अषाढ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको ‘छौंडा’ शब्द मिश्रित ट्वीट गरेपछि सामाजिक संजालमा हँगामा फैलिएको छ ।

आइतबार एकाबिहान सल्लाहकार रिमालले ‘छौँडाहरू’ भनेर ट्वीट गरेका थिए । उनको यो शब्दप्रति कमेन्ट गर्नेहरूले तल्लो स्तरको शब्दावली भनेर आलोचना गरिरहेका छन् ।

रिमालकै दल नेकपा निकटका नेता तथा पत्रकारहरूले समते ‘छौंडा’ शब्द र ट्वीटको विरोध गरेका छन् ।

रिमालले ट्वीटमा भनेका छन्,

‘भनिन्छ, छौंडाहरू आफैं चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौंडाहरू आफैं चलमलाएका हुन् की कसैले छोडेका?

दुई तिहाईको ओली सरकारको चौतर्फी विरोध भइरहेका बेला सल्लाहकार रिमालले बचाउ गर्दै यस्तो ट्वीट गरेका हुन् ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार जस्तो व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्याल नै नगरेर तल्लो स्तरको शब्दावली प्रयोग गरेर सार्वजनिक अभिव्यक्त गर्दा वा सामाजिक सञ्जालमा दिँदा उचित नहुने भनी अहिले चौतर्फी विरोध भइरहेको छ ।

सरकारी शब्दकोषमा ‘छौंडा’को अर्थः

नेपालका विभिन्न भाषाभाषीमा छौंडा’को अर्थ शब्दकोषको पहिलो र दोस्रो अर्थका रूपमा पनि प्रयोग हुन्छ ।

तर नेपाली भाषी समाजमा भने शब्दकोषमा उल्लेख भएको चौथो नम्बरको अर्थमा बुझिन्छ । पहिलो दोस्रो तेस्रो अर्थ प्रतीक वा बिम्बका रूपमा बुझिन्छ । जस्तै केटाकेटीले धेरै चकचक गरे भने भनिन्छ, ‘यी छौंडा’हरु कत्ति चलेका’…

रिमालको यो ट्वीट हेर्ने हो भने शब्दकोषको पहिलो, दोस्रो र तेस्रो अर्थसँग मेल खाँदैनन् । नेपाली भाषीको (लोक)विश्वासअनुसार छौंडा’ बोक्सीले कसैलाई दुःख दिन पठाउँछन्, कार्यकर्ताका रूपमा । सामान्यतया: छौंडा’हरू आफैँ चल्मलाउँदैन् । बोक्सीद्वारा परिचालित हुन्छन् । तर अहिलेको आधुनिक समाजले बोक्सी हुन्छन् भन्ने कुरा मान्दैन ।

यो अन्धविश्वास हो । कसैलाई बोक्सी भने कानूनी कारबाही हुने व्यवस्था छ । बोक्सी नै हुँदैन भन्ने भएपछि छौंडा’ हुने कुरै भएन ।

सभ्य समाजमा विरोधी नै भए पनि कसैलाई छौंडा’भन्नु राम्रो मानिँदैन । अझ धर्ममा विश्वास नगर्ने र अन्धविश्वासका तीव्र विरोध गर्ने कम्युनिष्ट दर्शनको दीक्षा लिएका विद्वान् रिमालले एकाबिहानै ट्वीटमा किन यस्तो शब्द प्रयोग गरे होलान् र?

यसो भन्छन् आलोचकहरुः

रिमालको ट्वीटलाई आलोचना गर्दै धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले आफ्नो विचार राखेका छन् ।  उषाकिरण तिम्सेनाले रिमालको ट्वीटलाई आजको युगको राजनीतिक चेतनास्तरको वृद्धि भनेकी छिन् ।

उनी लेख्छिन्, ‘उच्चस्तरको यो ट्वीट आजको हाम्रो समाजको सांस्कृतिक , राजनीतिक चेतनास्तरको बिम्ब हो ।’

त्यसैगरि तारानाथ दाहाल लेख्छन्, ‘छि छि छि सरकारका प्रमुख सल्लाहकारको भनाई?’

त्यसैगरि पशुपतिनाथ नामक ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री ओली नभएर प्रधानमन्त्रीलाई सल्लाह दिने मान्छे गलत भएको लेखेका छन् ।

उनले लेखेका छन्, ‘धिक्कार छ महाठिस सल्लाहकार प्रम गलत होइनन् गल्ती गर्ने त रिमालहरु हुन, गाली ओलीले खानुपर्या छ।

त्यस्तै गरि डा. विजय पौडेलले यो अमूर्त कविता कसका लागि हो भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘विष्णु सर, यो अमुर्त कविता कसका लागि हो ? के यो तपाईकै ह्यान्डल हो? हो भने यस्तो नलेख्नुस । गलत गर्नेका विरुद्ध वैचारिक तरिकाले लेखम न है, यस्तो रिस लागेजस्तो नदेखाम भन्ने अनुरोध गर्दछू ।’

यस्तै कमल रिजाल अरुमाथि एक औंला उठाउँदा चार ओटा आफैतिर फर्किने बताएका छन् ।

उनले लेखेका छन्, ‘महाशयज्यु, बेफुर्सदीले गर्दा ऐना हेर्न बिर्सिनु भो कि कसो हो । सत्तारशक्तीको नशा त सबैलाई कडै पो लाग्दो रछ, अरुलाई त पहिले नै देखीएकै हो, हानिकारक छ ।
कसैलाई केहि नभन्ने बिचार गरियो । अरुमाथी एक औला उठाउदा चार आफै तिर फर्कन्छ । कम्णिष्ट झै तिक्ष्ण बुद्धी नभए पनि यति चै बुझिएकै छ ।’

यस्तै सल्लाहकार रिमालको ट्वीटलाई लिएर सयौंले आलोचना गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्