
२१ असार २०७६, देवचुली/दिपक शर्मा
नेपाल बालविवाह धेरै हुने देश भित्र पर्ने गर्दछ । वर्षेनी अनेक कारणहरुबाट उमेर नपुगीकन बालबालिकाहरुको हुने गरेकोे विवाहहरु प्रशस्त मात्रामा छ । पछिल्लो समयमा अभिभावकहरुले भन्दा पनि बालबालिकाहरु आफैंले भागेर गई गरिने विवाह देश भरी नै प्रशस्त रहेको कुरा बिभिन्न तथ्याँकहरुले बताएका छन् ।
तर नवलपुरको देवचुलीका बालिकाहरु भने यही बालविवाहको असर र यसको न्युनीकरणको लागि भने समुदायस्तरमा र विद्यालयमा विभिन्न कार्यक्रमहरुको सञ्चालन गरी जनचेतना फैलाउने गर्ने गरेका छन् ।

देवचुली १७ का किशोरीहरुले वडा नं. १७ मा स्थानीय स्तरमा रहेका किशोरीहरुलाई बालविवाह, यसको कानुनी प्रावधानहरु र यसको दिगो समाधानको लागि गर्न सकिने क्रियाकलापहरुको बारेमा कक्षा सञ्चालन गरिएको कुरा किशोरी अभियन्ता एवम नगरस्तरीय बाल सञ्जालकी उपाध्यक्ष निरुता खत्री सिंहले बताईन् ।
जागृती बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरेको किशोरी सशक्तिकरण कार्यक्रमका किशोरी शिक्षकहरुबाट यो कार्यक्रमको सञ्चालन गरिएको कुरा कार्यक्रम अधिकृत सविता पंगेनी बताईन् ।

देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा २०७५ भाद्र २९ गतेका दिन घोषणा भर्ईसकेको छ । तर यसको दिगोपनाको मुख्य चुनौतीको रुपमा भने बालश्रम र बालविवाह रहेकोले नगरपालिकाले समेत यसको दिगो समाधानको लागि समेत कार्यहरु सुरु गरेको नगरपालिकाले बताएको छ ।

नेपालको संविधान २०७२ मा बालअधिकारलाई मौलिक हकमा नै राखी धारा ३९ भित्र बुँदा नम्बर १ देखी १० सम्म समावेश गरेको र यसमा समेत बालविवाह कानुन विपरितको कार्य भएकोले समेत यसको समाधानको लागि बालसंरक्षण अन्तर्गत रही स्थानीय तहले कार्य सुरु गर्नुपर्ने कुरामा जोड दिनुपर्ने कुरा जागृति बाल तथा युवा सरोकार नेपालका जिल्ला कार्यक्रम संयोजक दिपक शर्मा बताए ।
कार्यक्रममा ३० जना बालक र बालिकाहरुलाई राखी बालविवाह न्युनिकरणको बारेमा कक्षा सञ्चालन गरिएको थियो ।





