मैजुबहालको सडक निर्माणमा गति दिन डा. भट्टराईको ताकेता



२० असार २०७६, काठमाडौं

नेकपा केन्द्रिय सदस्य तथा प्रधान मन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफ्नो पहलमा पारेको काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित मैजुबहाल सडक विस्तार आयोजनाले अपेक्षित गति नलिएपछि स्थलगत रुपमै सरोकारवालासँग छलफल गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नं. ७ मैजुबहाल रिङ्गरोड व्यवस्थित नहुँदा स्थानीय जनप्रतिनिधिको अनुरोधमा डा. भट्टराइले ४ करोड ३३ लाख बजेट विनियोजन गराई २०७६ बैशाख मसान्तदेखि आयोजनाको काम थाली पुस मसान्त सम्ममा सम्पन्न गर्नुपर्नेमा सुरुवाती काममा नै ढिलासुस्ती भएपछि कामपा वडा नं. ७ वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा निर्माण व्यवसायी, स्थानीय सरोकारवाला र जनप्रतिनिधिको संयुक्त अन्तरक्रिया आयोजना गरिएको छ ।

कार्यक्रममा डा. भट्टराईले आफू हुर्किएको र खेलेको मैजुबहाल लगायत वडा नं. ७ को विकास निर्माणमा आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै स्थानीयको माग बमोजिम समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित ठेकेदारहरुलाई निर्देशन दिएका थिए । स्थानीय जनप्रतिनिधिलाई आवश्यक भूमिका निर्वाह गर्न अनुरोध गरेका थिए ।

वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोलले आफ्नो वडाको विकासको लागि डा. भट्टराईको पहलप्रति धन्यवाद दिदैं सडक निर्माणको गति अगाडि बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता
जनाए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीका सह स्वकीय सचिव शिव भट्टराई, वडा सदस्यहरु कृष्णमणि भट्टराई, निर्मला पुडासैनी र नेकपाका नेता टिका पराजुली, निर्माण व्यवसायी लगायत स्थानीय सरोकारवालाको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्