को हुन् त ‘राजकुमारी हया’, जसले दुबईका शासकलाई कवि बनाइन्



२० अषाढ २०७६, काठमाडौं

…अब मसँग बस्ने तिम्रो कुनै अधिकार छैन, मलाई केही फरक पर्दैन तिमी मर वा बाँच । अब भन्न केही बाँकी छैन, तिम्रो यो घातक मौनताले मलाई तनावमा पारेको छ’

यी सुन्दर हरफहरू कुनै वरिष्ठ साहित्यकारले लेखेका होइनन् । यी हरफहरुका रचयिता हुन् दुबईका शासक शेख मोहम्मद अल मकतुम

शेखले केही दिन अगाडि देश छोडेर आफूभन्दा टाढा गएका आफ्ना श्रीमती राजकुमारी हयाको सम्झनामा केही न केही कविता/हरफहरू लेखिरहन्छन् ।

अहिले राजकुमारी हया लण्डनको टाउन हाउसमा बस्दै आएकी बताइन्छ ।

राजकुमारी हया घोडसवारीको सौखिन थिइन् । यो पटकको रोयल एस्कटमा उनी अनुपस्थित भइन् ।

को हुन् राजकुमारी हया?

सन् १९७४ मे महिनामा जन्मेकी राजकुमारी हया जोर्डनका राजा हुसैनका छोरी हुन् ।

आफु सानै हुँदा आफ्नी आमाको हेलिकोप्टर दुर्घटनामा परेर ज्यान गएको थियो ।

राजकुमारी हयाले आफ्नो बाल्यकाल ब्रिटेनमा बिताएकी हुन् । उनले अक्सफोर्ड युनिभर्सिटीबाट राजनीति, दर्शन र अर्थशास्त्रको अध्ययन पूरा गरेकी छिन् ।

उनले पुराना केही अन्तर्वार्तामा आफू बाजलाई पाल्न र ठूला मेसिनको प्रयोगमा रुची राख्ने गरेको बताएकी थिइन् । यसबाहेक उनले आफू जोर्डनमा ठूलो ट्रक चलाउने लाइसेन्स पाउने एकमात्र महिला भएको दावी पनि गरेकी छिन् ।

जब उनी २० वर्षकी भइन् तब उनले घोडसवारीलाई आफ्नो करियरको रुपमा छानेकी थिइन् । घोडसवारीमा राजकुमारी हयाले सन् २००० को ओलम्पिक खेलमा जोर्डनको प्रतिनिधित्व पनि गरेकी थिइन् ।

उनी उक्त ओलम्पिक खेलमा आफ्नो देशको ध्वजावाहक पनि थिइन् । सन् २००४ को अप्रिल १० मा राजकुमारी हयाले दुबईका शासक र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मदसँग विवाह गरिन् ।

त्यतिबेला राजकुमारी ३० वर्षकी थिइन् । शेख मोहम्मद ५३ वर्षका थिए । राजकुमारी हया शेख मोहम्मदकी छैटौँ श्रीमती थिइन् । उनको विभिन्न श्रीमतीबाट २३ जना सन्तान भएको बताइने गरिएको छ ।

राजकुमारी जस्तै शेख मोहम्मद पनि घोडाको पारखी थिए । उनी गो–डोल्फिन नामको घोडाको तबेलाका मालिक पनि थिए । यी दुईको विवाह अम्मानमा भएको थियो ।

विवाहपछि राजकुमारी हयाले थुप्रै पटक शेख मोहम्मदसँगको आफ्नो सम्बन्धबारे जानकारी दिँदै आफू अत्यधिक खुशी भएको बताएकी थिइन् ।

इमिरेट्स वुमन म्यागजिनको २०१६ को अङ्कमा राजकुमारी हयाले शेख मोहम्मदबारे भनेकी थिइन्, “उनले जे गर्छन् त्यो अद्भूत हुन्छ । म हरेक दिन भगवानलाई धन्यवाद अर्पण गर्छु म उनको यति नजिक छु ।

 

सम्बन्ध खटपटको कारणः

गत वर्ष शेखकी छोरी शेखा लतिफाले देशबाट भाग्ने कोसिस गरिन् त्यसपछि शेख र हयाबीचको सम्बन्ध चिसिएको बताइन्छ ।

संसारभरि फैलिएको एउटा भिडियोमा ३३ वर्षकी राजकुमारी शेखा लतिफाले उनको परिवारमा कसैलाई पनि स्वतन्त्रतापूर्वक आफूलाई मनपर्ने कुरा गर्ने अधिकार नदिइएको बताइन्छ ।

मिडिया रिपोर्टमा शेखा लतिफा समुद्रको बाटो हुँदै संयुक्त अरब इमिरेट्सबाट भाग्न सफल भएको बताइएको थियो ।

यसमा उनलाई फ्रान्सका एक व्यक्तिले सहयोग गरेको बताइएको छ । तर, भारतको समुद्री सीमा नजिकैको सेनाले उनलाई रोके र पुनः दुबई पठाइएको थियो ।

गत डिसेम्बरमा उनका केही तस्वीर जारी भए, जसमा उनी इमिरेट्समा आयरल्याण्डका पूर्व राष्ट्रपति मेरी रोबिनसनसँग बसिरहेको देखिएको थियो ।

त्यतिबेला दुबईको प्रशासनले घर छोडेर भागेकी शेखा लतिफा अन्य देशमा उत्पीडनको शिकार हुनसक्ने बताउँदै अब उनी दुबईमा सुरक्षित भएको बताएको थियो ।

यो घटनापछि राजकुमारी हयालाई यसबारे विभिन्न जानकारी प्राप्त भएको र उनका श्रीमानले उनीमाथि दवाव सिर्जना गरेको बताइन्छ ।

बीबीसीलाई प्राप्त एक जानकारीका अनुसार सो पूरा घटनाक्रमपछि शेख लतिफामाथि पनि दवाव पर्न थालेको थियो ।

उनी ब्रिटेन पुग्नुअघि जर्मनी पनि गएकी थिइन् ।

सम्बन्धविच्छेदको तयारी

शेखले आजसम्म राजकुमारी हयाले देश छोडेको कुनै बयान भने दिएका छैनन् ।

उनले गत जुन १० मा एउटा इन्स्टाग्राममा कविता लेखेका छन् ।

यत्ति मात्र नभएर शेखका आफ्नो वेब साइटमा केही न केही कविताहरू कोरिरहन्छन् ।

‘टाइम्स अफ लण्डन’को एक रिपोर्ट अनुसार राजकुमारी हयासँग उनका ११ र ७ वर्षका दुई सन्तान पनि भागेका छन् ।
यी बच्चाहरुको नाम शेख जायद र शेखा अल जलिला भएको बताइएको छ ।

बीबीसीलाई प्राप्त एक जानकारी अनुसार राजकुमारी हया ब्रिटेनमा राजनीतिक शरण लिने कोसिस गरिरहेकी छिन् ।

त्यस्तै उनले शेख मोहम्मदसँग सम्बन्धविच्छेदको तयारी पनि गरिरहेकी छिन् ।

शेखले लगातार कविता लेखिरहेका छन्, भर्खरै मात्र उनले लेखेका छन् ।

‘मलाई एउटा पीडा भएको छ जुन कुनै औषधिले निको हुँदैन,
कसैबाट पनि यसको उपचार छैन ।’

 

प्रतिक्रिया दिनुहोस्