९ नम्बर ल्याउनुस्, ‘गोल्ड मेडल’ समाउनुस्



१८ अषाढ २०७६, काठमाडौं

नेपालमा भिन्नभिन्न खालका शैक्षिक संस्थाहरू छन् ।

त्यसमध्येमा देशकै सबैभन्दा जेठो, भरपर्दो र नेपालको शैक्षिक उन्नयनमा प्रमुख भूमिका खेल्दै आएको शैक्षिक संस्था हो, त्रिभुवन विश्वविद्यालय । तर, यस्तो देशको शैक्षिक भविष्यसँग जोडिएको त्रिभुवन विश्वविद्यालय पछिल्लो सयम भद्रगोलको जालो र आलोचनाको प्यारो बनेको छ ।

यस्तो अवस्थाले विश्वविद्यालयलाई नैतिकताको कठघरामा उभ्याएको छ ।

सजिलै अनुमान लाउन सकिन्छ, कि? विश्वविद्यालयको छवि कहाँसम्म गिर्यो भनेर, जसले पैसाको लालचमा ९ नम्बर ल्याउने विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ थमाइदिन्छ ।

कहिले कर्मचारी भर्नामा असमानताका समाचार त, कहिले पहुँचवालाका नातागोता र आफन्तहरूलाई जागिर खुवाउने खेल, अनि कहिले गोल्ड मेडल र प्रमाणपत्रहरू किनबेचका कुरा ।

यस्ता घटनाहरूले विश्वविद्यालयको छवि मात्र घटाएको छैन, विश्वविद्यालयमा अध्ययन गरेका र अध्ययन गरिरहेका विद्यार्थीका लागि पनि गर्व गर्ने ठाउँ राखिदिएको छैन ।

वर्षभरि नपढ्ने अनि परीक्षा आयो भनेको भनसुनको आधारमा परीक्षा हलमा छिरेर निस्केका विद्यार्थीलाई पैसाको लालचमा ६० नम्बरसम्म थपिदिने यो प्रवृत्तिले विश्वविद्यालयको स्तर कुन हदसम्म गिरेको छ, यो हामी यत्तिकै पनि अनुमान लगाउन सक्छौं ।

देशका करोडौँ किशोर किशोरीको भविष्य तथा सिङ्गो देशकै सरोकारसँग जोडिएको संस्थामा यस्तो विकृति देखिनु कसैको लागि सुखद होईन । 

विगतदेखि नै अनेकौँ झमेला र असङ्गतिमा देखिएको विश्वविद्यालय अन्ततः केही सीमित पहुँचवाला र रवाफिलो व्यक्तिहरूको स्वार्थको शिकार बन्न पुगेको छ ।

विश्वविद्यालयको उत्पादनः? विद्यार्थी कि पार्टी कार्यकर्ता?

त्रिभुवन विश्वविद्यालयको गेट क्रस गर्ने बित्तिकै देखिएका दृश्यहरूले जोकोहीलाई पनि एक छिन भ्रममा पार्छ ।

विचारगत र पार्टीगत टाँसिएका ती लथालिङ्ग साइनबोर्डहरूले यो विश्वविद्यालय हो भनेर आफैले आफैलाई प्रश्नोत्तरमा जाग्न मन लाग्छ ।

हुन त त्यतातिर एउटा तर्क गरिन्छ, यो सबै विद्यार्थीहरूको हितको निम्ति टाँसिएको साइनबोर्डहरू हुन् । उनीहरु भन्छन्,विगतमा योगदान दिनेहरूको औचित्य हो यो’

गेटबाट छिर्ने बित्तिकै बानी परेका बाहेक जोकोहीलाई त्यहाँको यो अवस्थाले शैक्षिक वातावरण नै खलल भएको भान हुन्छ ।

यसो भनिरहँदा विश्वविद्यालयका सबै प्राध्यापक र विद्यार्थीहरूलाई एउटै ड्याङका मुला’ भन्न भने अवश्य मिल्दैन । त्यस्ता प्राध्यापक र विद्यार्थीहरू पनि छन् । जसले स्वतन्त्र आफ्नै धर्मकर्म मात्रै निभाउन खोज्छन् ।

कालान्तरमा देशकै भविष्य खतरामाः

विश्वविद्यालयमा राजनीतिक विचार र रवाफमा हुने गरेको यस्ता गैरशैक्षिक कार्यले सीमित व्यक्तिको स्वार्थ पूर्ति भएपनि कालान्तरमा गएर देशकै भविष्य खतरामा पर्ने निश्चित देखिन्छ ।

सेमेस्टर सिस्टम लागू भएपछि केन्द्रीय क्याम्पसहरूमा राजनीतिक गतिविधिहरू केही हदसम्म कमी भएको भएपनि अन्य क्याम्पसहरूमा यसको प्रभाव झनै बढ्दो छ ।

कुनै पनि दलआबद्ध विद्यार्थीहरू यस्तो घटनाहरूलाई सुनौलो अवसरका रुपमा उपयोग गर्न खोज्छन्, यो विकृति हो भनेर थाहा पाउँदा पाउँदै पनि प्रशासन मूकदर्शक बनेको छ ।

यसतर्फ सबैको ध्यान खिचिनु आवश्यक छ ।

सिङ्गो देशकै भविष्य र विकाससँग प्रत्यक्ष सम्बन्ध राख्ने शिक्षा र शैक्षिक संस्थामा यस्तो खाले गतिविधिहरूलाई निर्मूल पार्न पाए देशले देशले लिएको गन्तव्यलाई सजिलै चुम्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्