युवानिलकण्ठको दोस्रो श्रृङ्खलाको भव्य समापन (फोटो फिचर)



१७ असार २०७६, काठमाडौं

युवानिलकण्ठको दोस्रो श्रृङ्खलाको समापन कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलले आगामी आर्थिक बर्षदेखि कामले गति लिदैँ सुशासन तर्फ अगाडी बढ्ने बताएका छन् ।

नगरप्रमुख खरेलले युवानिलकण्ठको कामबाट अन्य युवाहरुले इष्र्या राख्न थालेको बताउँदै जिम्मेवार बन्ने प्रक्रियामा रहेका युवाहरुलाई नगरविकासमा योगदान गर्न अनुरोध गरे ।

कार्यक्रममा उप–प्रमुख रमादेवी राईले नगरपालिकाले युवालाई लगानी गर्नुपर्छ भन्दै अनुसन्धान गरेर काम गर्न खोज्नु राम्रो भएको बताइन् ।

बूढानिलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले र्सिजनशील युवा बनाउने अभियानमा युवानिलकण्ठको प्रशंसनीय भूमिका रहेको बताए ।

त्यस्तै नगरसल्लाहकार रविन अधिकारीले २५ मार्क सापटी लिएर भएपनि युवाद्धारा प्रस्तुत परियोजनामा १२५ प्रतिशत नम्बर दिने बताउँदै युवाद्धारा अपेक्षा गरिएका परियोजनाका लागि बजेट दिने कुरा नगरपालिकाको प्रक्रियामार्फत हुने बताए ।

नगरपालिकामा स्थायी बसोबास गर्ने २२ जना युवाहरुलाई छनौट गरी आवासीय तालिम सहित विभिन्न परियोजनामा स्वंयमसेवी काम गरी ४ वटा अनुसन्धानमूलक परियोजना प्रस्ताव पेश गरेका छन् । जसमा विद्युतीय शासन कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सहजीकरण गर्न युथ आउटरिज कार्यक्रम, मेयर स्कलरसिप र इको टुरिजम रहेका छन् । छनौट गरिएका परियोजनामा सहयोग गर्न सहभागी युवाहरुले जनप्रतिनिधिहरुलाई अनुरोध गरे ।

युवानिलकण्ठद्धारा आयोजित दोस्रो श्रृङ्खलामा सहभागीहरुलाई नगरसल्लाहकारहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

निमेश थापाले सञ्चालन गरेको कार्यक्रममा अशोक थापाले स्वागत र सुमित्रा श्रेष्ठले कार्यक्रमको बारेमा जानकारी दिएको कार्यक्रममा नगरपालिकाका सल्लाहकारहरु, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गैसस महासंघ काठमाडौँका अध्यक्ष प्रदिप डंगोल, बूढानीलकण्ठ निर्माण व्यवसायी संघका अध्यक्ष ध्रुव भट्टराई लगायत स्थानीय समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्