रोकिएन हङकङ प्रदर्शन: प्रदर्शनकारी संसदमै पुगे



१७ अषाढ २०७६, काठमाडौं

बेलायतले चिनियाँ शासकलाई हङकङ हस्तान्तरण गरेको २२औं वार्षिकोत्सव समारोहका क्रममा सोमबार हङकङमा प्रदर्शन भएको छ ।

प्रदर्शनकै क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले समारोहको उद्घाटनका लागि झण्डोत्तोलन गर्ने क्रममा झडप भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रदर्शनकारीहरुलाई हटाउन प्रहरीले आँखा पोल्ने रसायन प्रयोग गर्नुको साथै अश्रुग्याँससमेत प्रयोग गरेको थियो । कत्तिपय आन्दोलनकारीहरुले संसद भवनभित्रै छिरेर तोडफोड गरेको बीबीसीले जनाएको छ ।

विरोधका क्रममा केही सरकारी कार्यालयहरुसमेत तोडफोड गरिएका छन् । झडपमा १३ प्रहरीसँगैं केही प्रदर्शनकारीहरु घाइते भएका बताईएको छ ।

त्यसलगत्तै प्रहरीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘प्रदर्शनकारीहरुले गैर–कानूनी कार्य गरे ।’

कार्यकारी प्रमुख लामले झण्डोत्तोलनका क्रममा शान्तिपूर्वक केही सुन्न आग्रह गरेपछि मानिसले होहल्ला तथा नाराबाजी गरेका थिए ।

सोमबारको प्रदर्शन हङकङमा हालै प्रस्तावित विवादास्पद सुपुदर्गी कानुनविरोधी पछिल्लो विरोध हो ।

प्रदर्शनकारीले लामको राजीनामा माग्दै आएका छन् । यसअघि सुपुदर्गी विधेयकविरुद्ध उत्रिएका प्रदर्शनकारीहरुले पनि प्रमुख लामको राजीनामा मागेका थिए ।

हङकङमा अपराधको आरोप लागेकालाई अभियोजनका लागि मुख्यभूमि चीन पठाउने सकिने प्रस्तावित कानुनको विरोधमा हङकङमा लाखौं मानिस विरोध प्रदर्शनमा उत्रेका हुन् ।

हङकङ सन् १९९७ मा स्वतन्त्र भएयता ‘एक देश, दुई प्रणाली’ अन्तर्गत चीनद्वारा शासित छ ।

विधेयकका आलोचकहरूले ‘सुपुदर्गी विधेयक’ले हङकङलाई योजनाबद्ध ढंगले चीनको पूर्ण–नियन्त्रणमा ल्याउन खोजिएको’ दावी गर्छन् ।

गत जुलाई १२ मा प्रहरीले अश्रुग्याँस र रबरका गोली प्रहार गर्दै भिडलाई तितरबितर पार्ने प्रयासपछिका हिंसात्मक प्रदर्शनहरू हङकङमा दशकपछि भएका हुन्  । हङकङकी न्यायमन्त्री टेरेजा चेंगले ‘प्रहरी दमनबारे अनुसन्धान गर्न अस्वीकार’ गरेकी छन् ।

तर, प्रदर्शनकारीहरूले सरकारलाई माफी माग्न र प्रस्तावित विधेयक निलम्बन गर्न माग गर्दै प्रदर्शन जारी राखेका छन्  ।

व्यापक विरोधपछि लामले विधेयक भने स्थगित भएको घेषणा गरिसकेकी छिन् ।

तर प्रदर्शनकारीहरूले लामको राजीनामा नआएसम्म विरोध जारी रहने बताउने गरेका छन्  । विरोध प्रदर्शनमा व्यापारी, कानुन व्यवसायी, विद्यार्थी, धार्मिक समूह तथा प्रजातन्त्र पक्षधरको उल्लेख्य सहभागिता रहने गरेको छ ।

‘ह्युमन राइटस् वाच’ लगायतका मानवअधिकार समूहले‘विरोधमा उत्रेकामाथि प्रहरीले अनावश्यक बल प्रयोग गरेको’ जनाएका छन् ।

ताइवानमा एक पुरुषले आफ्नी प्रेमिकालाई हत्या गरी हङकङ फर्केपछि सुपुर्दगी विधेयक प्रस्ताव गरिएको थियो ।

हङकङ अपराधीका लागि सुरक्षित स्थल हुन थालेको भन्दै सरकारले उक्त विधेयक ल्याइएको जनाएको छ ।

सम्बन्धीत समाचारः

हङकङ प्रदर्शन: विधेयक स्थगितको घोषणा तर, प्रदर्शनकारीहरु झनै आन्दोलित

प्रतिक्रिया दिनुहोस्