‘प्रचण्ड’ले देखे आफैलाई खतरामा: भने, ‘हामी पनि मारिन सक्छौं’



१४ अषाढ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा भएका तीनवटा हत्याकाण्डलाई रहस्यमय घटनाको रुपमा लिदैँ केही अर्थपूर्ण धारणा राखेका छन् ।

शनिबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित कार्यक्रममा प्रचण्डले नेता मदन भण्डारी, त्यसपछि उनका चालक अमर लामाको हत्या अनि नारायणहिटी दरबारमा भएको घटनाहरु रहस्यमय भएको बताउँदै केही अर्थपूर्ण धारणाहरु राखेका छन् ।

ती घटनाका दोषी पत्ता लगाउन नसकेकाले राजनीतिक हत्याको सम्भावना अन्त्य गर्न आफूहरू विफल भएकोसमेत उनले बताए ।

त्यसक्रममा आफू पनि मारिन सक्ने उनले बताए ।

एमालेसँग एकता गरेर आफ्नो सिद्धान्त तथा विचारलाई तिलाञ्जली दिएको भनी आफ्नै पूर्व सहकर्मीहरुसँग मुडभेद बढिरहँदा उनले मदन भण्डारी र आफूले अघि सारेको वहुदलीय जनवादलाई समेत स्पष्ट पारे ।

प्रचण्डका अर्थपूर्ण धारणाहरुः

नाम भन्न सक्ने अवस्था कहाँ छ र?

मदन भण्डारीको रहस्यमय अवसान भयो । यो हामी सबैलाई अवगत नै छ ।

उहाँको हत्या भएकै हो । त्यो कुनै दुर्घटना होईन । त्यो नियोजित हत्या हो भन्ने हामी सबैलाई लागेको छ । तर, आजसम्म पनि दोषी यो नै हो भनेर किटान गर्न सकिएको छैन ।

हामी सबै आम नेपाली जनतालाई लाग्छ, त्यो अवसान एउटा भयानक डिजाइन अन्तर्गत गरिएको हत्या हो ।

हामी सबै त्यसको खोजीमा पनि हुन्छौं, साँच्चै को होला, हामीलाई मोटोमोटी लाग्छ पनि, तर मोटामोटी लागेकै आधारमा कसैलाई आरोपित पनि गर्न सक्दैनौं ।

हामीलाई यो विदेशी शक्ति हो कि भन्ने लाग्छ, उ विदेशी शक्ति हो कि भन्ने लाग्छ, देशभित्रको यो शक्ति र त्यो तत्व हो कि भन्ने पनि लाग्छ । तर हामीले नाम लिएर भन्न सक्ने स्थिति छैन ।

कता–कता उहाँहरूको गाडी चलाउने ड्राइभर (अमर लामा) को हत्या जसरी हुन गयो त्यो पनि एउटा प्रमाण नष्ट पो हुन गएको हो कि भन्ने पनि हामीलाई लाग्ने गर्छ ।

नेपालको इतिहासका यी सबै हत्या–प्रतिहत्याका घटनाहरूमा धेरै जसो हत्याराहरू पत्ता लागेका छैनन् ।

हत्याराहरूलाई जनसमक्ष ल्याएर, दोषी ठहर गरेर, उसलाई कारबाही गरेर फेरि ठूल्ठूला राजनीतिक हत्या–प्रतिहत्याका घटनाहरू रोक्ने प्रयासमा हामी सफल छैनौं ।

दरबार हत्याकाण्डः

त्यसपछि दरबार हत्याकाण्ड भयो । त्यसमा पनि किटेर यसैले नै हो भन्न सक्ने ठाउँमा छैनौँ ।

मैले पहिलो चोटि प्रधानमन्त्रीको रूपमा नारायणहिटीको अगाडि उभिएर भने, यसको पत्ता लगाएरै छोडिन्छ ।

तर पत्ता लगाउन सकिएन । कहिले अनौठो लाग्छ, केले दिँदैन हामीलाई? खोई?

हामी मारिन पनि सक्छौं

कहिलेकाहीँ चिन्ता लाग्ने कुरा के हो भने, हामी आजभोली आफ्नो छाला बचाउनेतिर त छैनौं?

प्रतिक्रियावादी धेरै नरिसाउन् भन्ने तिर हाम्रो जान थालेको त कतै छैन भन्ने मात्रै हो फेरि, आरोप होईन?

हामी त मारिएका छैनौं आजसम्म त । मारिन पनि सक्छौं । यो विचारणीय छ ।

मैले दुईवटा कुरा भने, एउटा हामीले पत्ता लगाउन सकेका छैनौं । त्यसकारण फेरि त्यस्ता घटना दोहोरिदैँन भन्ने सुनिश्चित गरेका छैनौं ।

अर्कोतिर फेरि त्यस्तो नदोहोरियोस् भनेर हामी छाला जोगाउन तिर लाग्ने खतरा पैदा भएको छ ।

किन भने दोषी पत्ता लगाएर त्यसलाई जनताको बिचमा ल्याउन सक्दा हामीले छाला जोगाउनु पर्दैन ।

मदन–प्रवृत्तिलाई आत्मसात

उहाँको त्यही प्रवृति, त्यही सृजनशील र गतिशील बुझाइको एउटा उत्तराधिकारीको रूपमा नेकपा एमालेका नेताहरू पछिल्लो चरणमा खासगरी तत्कालीन एमाले अध्यक्ष केपी ओली र त्यसरी नै सङ्कीर्णता, आग्रह र पूर्वाग्रहमा होइन, गति र सृजनामा मार्क्सवादलाई बुझिनुपर्छ भन्ने मान्यताबाट विकसित भएको तत्कालिन नेकपा माओवादी केन्द्र र म समेत, हाम्रो त्यहाँ कहीँ न कहीँ प्रवृत्ति मिलेकै हो ।

दुईटै धाराहरू अन्तत: शान्तिपूर्ण र वहुदलीय प्रतिस्पर्धामार्फत निर्वाचनको प्रक्रियाबाट सरकारको नेतृत्व गर्दै समाजवादको आधार तयार पार्ने भन्नेकुरामा एक ठाउँमा आएको हो ।

हामी कसैले पनि अब कुनै आग्रह(पूर्वाग्रह राख्न जरूरी छैन। हामीले अप्ठेरो मान्नुपर्ने कुरा पनि छैन । त्यो ठाउँमा हामी आइपुगेकै हौं ।

त्यसको सबभन्दा ठूलो प्रमाण त्यतिबेला हामी दुबैजना (आफू र केपी ओली) मदन भण्डारीको अवसान भएकै दिन पार्टी एकता घोषणा गर्ने निष्कर्षमा पुग्नुका पछाडि पनि हामीले त्यो गतिशीलता, सृजनशीलता, राष्ट्र र जनताको नयाँ आवश्यकतालाई आत्मसात गर्ने, मदन भण्डारीको त्यो प्रवृतिबाट सिक्ने र त्यसलाई समातेर अगाडि बढ्ने सङ्कल्पको प्रतिवद्धताकै परिणाम थियो। यसको केही ऐतिहासिक अर्थ छ, ऐतिहासिक महत्त्व छ ।

अब यो पार्टीलाई सुदृढ गर्ने र सरकारलाई सफल पार्ने कुरामा र जनआकाङ्क्षालाई सम्बोधन गर्ने कुरामा असफल भयौं भने हामी दुईटा नेताको वा पार्टीको मात्र असफलता हुनेवाला छैन, कम्युनिष्टआन्दोलन फेरि यही रूपमा उठ्न सायदै सम्भव हुन्छ ।

यो राजनीतिक प्रणाली नै जानेवाला छ र देशको एकता पनि खतरामा पर्ने वाला छ ।

प्रतिक्रिया दिनुहोस्