
१४ असार २०७६, इटहरी
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई अमेरिकाको बालटिमोर जाने प्रस्तावलाई मन्त्रीपरिषद् बैठकले अनुमोदन गरेको छ । यो सँगै यही असार १६ गते राई अमेरिकाको औपचारिक भ्रमणमा जाने भएका छन् ।
राई जुलाई ५ देखि ७ तारिखसम्म हुने नेपलिज एशोसिएसन इन अमेरिकाको नेशनल कन्फ्रेन्सको प्रमुख अतिथिको रुपमा सहभागी हुने आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । राई असार २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
बैठकले प्रदेश सार्वजनिक, निजी, साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७६, प्रदेश लोकसेवा आयोग विधेयक २०७६, प्रदेश जाँचबुझ तथा अनुसन्धान आयोग विधेयक २०७६, प्रदेश स्वायत्त संस्था गठन विधेयक २०७६ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । यस्तै बैठकले पाँचथर मिक्लाजुङ्की सीता खजुमको उपचारका लागि लागेको ६९ हजार ३ सय १४ रुपैयाँ प्रदेश सरकारले व्यहोर्ने, समिटर्स समिट आयोजना गर्ने पनि निर्णय गरेको छ । त्यसका लागि मुख्यमन्त्रीको सयोजकत्वमा तयारी समिति गठन गर्ने निर्णय समेत भएको छ ।
बैठकले सगरमाथा क्लव बिउ कोष स्थापना तथा संचालन कार्यविधि स्वीकृत गर्नुको साथै मोरङ कटहरीमा रहको कटहरी फलफूल तथा तरकारी थोकबजार संचालन नियमावली २०७६ लाई पनि स्वीकृति प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए ।





