सिताराम गुठीको १ हजार रोपनी जग्गा गायब



१४ असार २०७६, काठमाडौं

भोजपुरको षडानन्द नगरपालिका दिङ्लामा रहेको सिताराम गुठीको करिब १ हजार रोपनी जग्गा गायब भएको छ ।

गुठीको नाममा रहेको करिब १८ सय रोपनी जग्गामा अहिले ८ सय रोपनी समेत पुग नपुग अवस्थामा छ । मालपोत कार्यालय शाखा दिङ्लाको हालको तथ्यांक अनुसार केउरेनीपानीमा १ सय २२ रोपनी १३ आना ३ पैसा १ दाम, तुङ्गेछामा १ सय २ रोपनी २ आना १ दाम र मुलपानीमा ५ सय २३ रोपनी ८ आना ३ पैसा १ दाम गरी ७ सय ४८ रोपनी ८ आना ३ पैसा १ दाम मात्रै छ ।

समितिको अभिलेख अनुसार वि.सं. २०३६ साल भन्दा अगाडीको कागजहरुमा १८ सय रोपनी जग्गा गुठीको नाममा रहेको थियो । तर अहिले संखुवासभा र नेपाले डाँडामा गुठीको नाममा रहेको जग्गा हराईरहेको समितिका सचिव नगेन्द्र वस्नेतले बताए ।

हराएको जग्गा कस्ले उपभोग गरेको र क्षेत्रफल कति छ भन्ने थाहा नभएको सचिव वस्नेतले बताए । गुठीको नाममा नेपाले डाँडा, मुलपानी, केउरेनिपानी, तुङगेछा र संखुवासभामा पनि जग्गा छ । तर यकिन तथ्यांक भने गुठि सञ्चालक समितिसंग समेत छैन ।

वि.सं. १९३२ सालमा गुठीको स्थापना भएता पनि १९६६ मा यसले लालमोहर प्राप्त गरेको थियो । तर गुठि रेखदेख गर्ने भनी पुन २०५१ सालमा नरेन्द्र वस्नेतको अध्यक्षतामा षडानन्द सिताराम गुठी नामाकरण गरी संस्था दर्ता गरिएको थियो । नरेन्द्र वस्नेत पछि क्रमशः पदम राई, दिल कुमार राई, किशोर किँरात र हाल प्रकाश पौडेलको गुठि सञ्चालकमा नेतृत्व रहेको छ ।

यस अघिका अध्यक्षहरुले गुठीको जग्गाको विषयमा चासो नदेखाएको कारण गुठीको जग्गा कहाँ कति छ भन्ने यकिन नभएको अध्यक्ष प्रकाश पौडेलले बताए । उक्त जग्गा कस्ले उपभोग गरिरहेको छ ? यसलार्ई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा आफु अध्यक्ष भए देखिनै लागि परेको उनी बताउँछन् । पौडेलले आफु अस्वस्थ भएको भन्दै २०७६ जेठ २५ गते राजिनामा दिए पनि समिति मार्फत स्वीकृत भने भएको छैन । तर अस्वास्थको कारण मात्र नभई काम गर्ने वातावरण नभएकाले पनि राजिनामा दिएको हुनसक्ने समितिका सचिव र सदस्य दिपेश विष्ट बताउँछन् ।

वि.सं. १९६६ मा लालमोहर प्राप्त गरेको सिताराम गुठीको जग्गा वि.सं. २०३६ साल भन्दा अगाडीको अभिलेखमा १८ सय रोपनी रहेको पाइन्छ । तर अहिले मालपोत कार्यालयको तथ्यांक अनुसार  ७ सय ४८ रोपनी ८ आना ३ पैसा १ दाम मात्रै गुठीको नाममा जग्गा छ । नेपाले डाँडा र संखुवासभामा गुठीको नाममा रहेको जग्गा कस्ले कस्को पालादेखि हरायो यो प्रश्न कस्लाई गर्ने ?

प्रतिक्रिया दिनुहोस्