
१४ असार २०७६, काठमाडौं
नेपाली सेनाको मुख्यालय नजिकै भद्रकाली मन्दिरमा आफूलाई ‘धर्ती माता’ बताएर युवतीलाई यातना दिने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो। तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हव ल्दार एकाएक काप्न थालिन्। भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजापाठका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाता कुँवरलाई देखेकी थिइन्। ती हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ। भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गर्ने निर्णय प्रहरीले लिइसकेको छ।
अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो। लगत्तै ति हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। प्रहरी स्रोतका अनुसार धर्ममा बढी आस्था रख्ने ति हवल्दार मानसिक रुपमा विक्षिप्त छन्। शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ति हवल्दार काप्न थालेकी थिइन्।
काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार हवल्दारमा अचानक देखिएको फरक रुपबारे समेत अनुसन्धान सुरु भएको छ। हवल्दारको नाम भने गाेप्य राखिएकाे छ ।





