गृह मन्त्रालयको गाडी लक गर्ने ट्राफिकलाई सडकमै सम्मान



१३ असार २०७६, काठमाडौं

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङमा राखिएको नेपाल सरकार गृह मन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीको गाडी कारवाही गर्ने ट्राफिक प्रहरीलाई सम्मान गरिएको छ ।

अनाधिकृतको रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको बा २ झ ४३८८ नम्बरको सरकारी गाडीमा ट्राफिक प्रहरी जवान टिकाराम बुढाले कारबाही गरे । जवान टिकाराम बुढाले गृहका प्रवक्ता समेत रहेका सुवेदीको गाडी लक गर्नुका साथै एक हजारको चिट समेत काटेका थिए ।

गृहकै सह सचिवको गाडीलाई कारबाही गरेपछि ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेका हुन् । पद र शक्तिको भेद नगरी गल्ती गर्ने सबैलाई समान हिसावले कारबाही गरेको भन्दै उनलाई युवाहरुले सडकमै दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

गृहका सहसचिव सुवेदी पार्किङ गर्न निषेध गरिएको स्थानमा गाडी रोकेर खाना खान गएका थिए । सोही समयमा प्रहरीले उनको गाडीमा लक गरेको थियो ।

ह्वील लक गरेपछि चर्को दबाबमा केही समयमै अनलक गरेका थिए । तर उनले एक हजार रुपैयाँको चिट भने काटेका थिए ।

ट्राफिक प्रहरीले गाडी लक गरेको थाहा पाएपछि आफ्ना चालकसहित गाडी भएको स्थानमा आएर ट्राफिकलाई ‘म गृह मन्त्रालयको प्रवक्ता हुँ’ भन्दै चिट नकाट्न आग्रह गरेको जवानले बताएका छन्  । तर उनले गाडी लक गर्नुका साथै एक हजारको चिटसमेत काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्