११ औँ राष्ट्रपति रनिङ शिल्ड रिलायन्स इन्टरनेसल एकेडेमीलाई



०९ असार २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित एघारौँ राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा रिलायन्स इन्टरनेसनल एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । १२१ विद्यालय रहेको बूढानीलकण्ठ नगरपालिकामा रियाले सबैभन्दा बढी स्वर्ण, रजत र कास्य पदक जित्दै शिल्ड आफ्नो हातमा पारेको  थियो ।

यसअघि पनि वि.सं. २०७३ र ७४ को रनिङ शिल्ड जितिसकेको रिलायन्सले यससँगै तीनपटक सो उपाधि प्राप्त गरेको छ ।

एथलेटिक्स, भलिबल, कबड्डी, शटपुट, हाइजम्प, रिले लगायतका दर्जनौँ खेल समावेश भएको उक्त प्रतियोगितामा एथलेटिक्सका अधिकांश विधाका साथमा कबड्डीमा रिलायन्सका विद्यार्थी पुरस्कृत भएका थिए ।

असार ५ देखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पुरस्कार वितरण समारोह ८ गते आइतबार अपरान्ह बुढानीलकण्ठका मेयर उद्धव खरेलको प्रमुख आतिथ्यमा भएको थियो । बाल उद्धार माध्यमिक विद्यालयले व्यवस्थापन गरेको कार्यक्रमको समापन सत्रमा बुढानीलकण्ठ नगरपालिका प्रतिनिधीहरू, जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरू, विभिन्न विद्यालयका प्रिन्सिपलहरू, शिक्षक एवम् विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगरका प्रमुख खरेलले विजेता विद्यार्थीहरूलाई बधाइ दिनुका साथै आगामी वर्षको प्रतियोगिता समयमै सुरु गरी भव्य तरिकाबाट सम्पन्न गरिने भन्दै विद्यार्थीलाई आगामी वर्षको लागि पनि तयार रहन सुझाए ।

 

प्रतिक्रिया दिनुहोस्