
०९ असार २०७६, काठमाडौं
चर्चित हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले विगत २० वर्ष देखि धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा तुईन तान्दै आइरहेका ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङलाई नयाँ घर हस्तान्तरण गरेका छन् ।
आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार पाँडे, जिग्री सहित मधुसुदन पाठक ‘सिते बा’, व्यवसायी हरि काफ्ले, नागरिक समूहका पदाधिकारीको उपस्थितीमा धादिङ रोराङ गाउपालिका वडा नं। ७ मा निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा उक्त घर निर्माण गरिएको हो । आज भन्दा ६ महिना अघि उनै श्यामहरिले तुईन चलाउने बाजेको फिल्मीकुरा टिभीमा भिडियो रिपोर्टिङ गरेका थिए ।
चर्चित हास्यकलाकार पाँडे र जिग्रीले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै पाँडेले शुक्रबहादुरको लागि यति राम्रो घर बन्नु खुसीको कुरा भएको बताए भने जिग्रीले एउटा पूण्यको काममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताए ।
उता शुक्रबहादुरले काठमाडौं देखि कलाकार आएर घर हस्तान्तरण गरिदिदा मनमा निकै खुसी लागेको बताए । उनले भने, ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाए, घर पनि पाए । म तुईन तान्दिन ।’ हाल उनीसँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोरा र आफ्नो जीविकोपार्जनको लागि उनले त्रिशुली नदीमा तुईन चलाउदै आएका थिए ।





