मन्त्रीपरिषद् पुनर्गठनको बहसः पर्यटनमन्त्रीमा ‘योगश’को चर्चा



०७ अषाढ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्रीहरु फेरबदलको बहस सुरु भएको छ ।

बजेट पारितपछि मन्त्रीपरिषद् पुनर्गठन हुन सक्ने संकेत नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पुष्टि गरेका छन् ।

उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल भएको अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन् ।

हालका मन्त्रीहरुबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्र अनुरुप काम गर्न नसकेकाले मन्त्रीपरिषद् पुनर्गठनको गृहकार्यलाई अघि बढाईएको बताईएको छ ।

यसैबीचमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको रिक्त जिम्मेवारीको जिम्मा नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईलाई दिने निकट श्रोतले बताएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको गत १५ फाल्गुनमा देहवसानपछि रिक्त जिम्मेवारी प्रधानमन्त्री स्यवं आफैले सम्हाल्दै आएका छन् ।

भिजिट नेपाल–२०२० आयोजना गरिएकाले पर्यटनमन्त्री बनाईहाल्नुपर्ने दबाब प्रधानमन्त्री ओलीलाई छ ।

त्यसो त रिक्त मन्त्री पदका लागि आकांक्षीहरुको दौडधुप भने बढ्दो छ । तर, यो आकांक्षीहरुको दौडधुपको बावजुद प्रधानमन्त्री ओलीले भने पर्यटनमन्त्रीको आसनमा योगेश भट्टराईलाई देख्न चाहेको बताईएको छ ।

पूर्व एमालेबाट कृष्णगोपाल श्रेष्ठ, पार्वत गुरुङ, यज्ञराज सुनुवार तथा प्रेम आले अगायतका आकांक्षीहरु रहेका बताईएको छ ।

त्यस्तैगरि पूर्व माओवादीबाट देवेन्द्र पौडेल, प्रभु शाहलगायत आकांक्षीहरु रहेका बताईन्छ ।

‘योगेश’को सम्भावनाः

रिक्त जिम्मेवारीमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका स्थायी सदस्य तथा सांसद योगेश भट्टराईलाई दिने चाहना देखाएको निकट श्रोतको दावी छ ।

धेरै आकांक्षीहरुको भिडमा योगेश नै पर्यटनमन्त्री बन्न सक्लान् किनकी, प्रधानमन्त्रीले उनलाई पर्यटनमन्त्री बनाउन खोजेका छन् भन्ने समाचारहरु बाहिर आउन थालेका छन् ।

यदि यसै हो भने पर्यटनमन्त्रीको जिम्मा नेकपाका स्थायी समिति सदस्य तथा सांसद योगेश भट्टराईले नै पाउने पक्का जस्तै बनेको हो ।

तर, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, यो बारेमा सचिवालयमा आधिकारिक छलफल नभएको बताउँछन् ।

त्यस्तै योगेश भने यो बारेमा आफुलाई केही थाहा नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्