सुशासन र विकासको पर्याय बन्दै बूढानीलकण्ठ नगरपालिका 



०५ असार २०७६, काठमाडौं

नगरपालिका मध्ये सबैभन्दा धेरै शैक्षिक संस्था भएको नगरपालिका हो–बूढानीलकण्ठ नगरपालिका । नेपालकै दोश्रो धेरै जनसंख्या भएको बूढानीलकण्ठ नगरपालिका राजधानी मै राष्ट्रिय निकुञ्ज अटाउने सम्भवत विश्वकै एकमात्र नगरपालिका पनि हो । अब बूढानीलकण्ठ नगरपालिकाको पहिचान सुशासनयुक्त नगरपालिकाको रुपमा समेत स्थापित हुँदै गएको देखिन्छ ।

स्थानीय जनप्रतिनिहरुले जिम्मेवारी लिँदा समेत नगरपालिकाको कार्यालय समेत अहिले जतिको व्यवस्थित समेत थिएन । १३ ओटा वडामा निर्वाचित वडाध्यक्षहरु ७ कार्यालय मार्फत काम गर्न बाध्य थिए । त्यो बेला जनताको सेवा दिने वडा कार्यालयहरु जम्मा ७ वटा मात्र थिए । नगरपालिकाको बैठक संचालनदेखि वडा कार्यालयको व्यवस्थापन र संचालन गर्ने सम्बन्धमा कुनै कानुन थिएनन् । १५ वर्षदेखि सत्ता संचालन गरिरहेका कर्मचारीहरु नै आफूलाई शासक ठान्ने मानसिकता जीवन्त थियो । वडा कार्यालयदेखि नगरपालिकाको मुख्यालयसम्म कर्मचारीहरु पर्याप्त थिएनन् । भएका कर्मचारीहरु समेत जनताको कामलाई ध्यान दिनुभन्दा कमाउ धन्दालाई निरन्तरता दिइरहेका थिए । जनताको  कुनैपनि काम गर्दा आर्थिक लेनदेनलाई कर्मचारीहरुले सेवाको माध्याम बनाएका थिए । जसको परिणाम स्वरुप नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नै लाखौं खुस लिदैं गर्दा रंगेहात अख्तियारको फन्दामा पर्न पुगिन् ।

जनप्रतिनिधिहरु नेतृत्वमा आएपछि अव्यवस्थित नगरपालिकाको मुख्य प्रशासनिक भवन तुलनात्मक रुपमा व्यवस्थित गरियो । अहिले नगरपालिकाको आफ्नै मुख्य प्रशासनिक भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिको आगमन पछि ७ वडा कार्यालयबाट संचालित सेवालाई १३ वडामा विस्तार गरियो । जनताका दैनिक कामहरु तत्काल गर्ने वातावरण तयार गरियो । नगरपालिका संचालनको लागि अति आवश्यक पर्ने १६ स्थानीय कानुन, ऐन र कार्यविधि नगरकार्यपालिकाबाट निर्माण गरी संचालनमा ल्याईयो । ५ कानुनहरु कार्यपालिकाबाट पास भएर राजपत्रमा प्रकाशनको चरणमा रहेका छन् भने अन्य ११ कानुनहरु निर्माणको चरणमा रहेका छन् ।

नगरपालिकाको निर्माणाधिन भवन

केहि महिनाबाट संचालनमा आउने नगरपालिकाको प्रमुख प्रशासकीय भवनबाट सेवा संचालन भएसँगै अहिले प्रदान गरिने सेवाको प्रभावकारिता तथा अनुगमन र मूल्यांकनले समेत अझ गति लिने देखिन्छ । विहानको उज्यालोदेखि झमक्क साँझ पर्दा सम्म जनप्रतिनिधिहरु जनताको काममा लागिरहेका देखिन्छन् । घना बस्ति र धेरै जनसंख्या भएको नगरपालिकाले पर्याप्त र दक्ष जनशक्तिको अभावले अझैपनि जनअपेक्षा अनुसारको काम भने गर्न नसकेको देखिन्छ । खासगरी प्राविधिक क्षेत्रबाट हुने कामले अपेक्षित गति लिन सकेको छैन । नक्सापास, लागत ईष्टिमेट, योजना निर्माण तथा मूल्यांकनको क्षेत्रमा नगरपालिकाले आफ्नो क्षमता बढाउने तर्फ ध्यान दिने हो भने अझ आफ्नो कामलाई प्रभावकारी बनाउन सक्ने देखिन्छ ।

स्थानीय सरकार पछिको २ वर्षे कार्यकालमा भएका उपलब्धिहरुको लेखाजोखा गर्ने हो अहिले स्थानीय जनताले प्रत्यक्ष कर मार्फत नगरपालिकामा ३२ करोड चालिस लाख बुझाएका छन् । यहि कार्यकालमा जनप्रतिनिधिको प्रयासले प्रदेश र संघीय सरकार मार्फत अहिले ५ अर्ब भन्दा वढीका सडक, खानेपानी, शिक्षा, पार्क निर्माणका कामहरु संचालनमा रहेका छन् ।

हिजो र आजको वास्तविक भोगाई :
हामीले देखे भोगेकै हौं । जनप्रतिनिधिको अभावमा भएका नागरिकका दैनिक र विकास निर्माणका कामहरु । स्थानीय सरकारको नेतृत्वमा उद्धव प्रसाद खरेल आएपछि उनी र उनको समूहले गर्नुपर्ने जत्ति काम गरेन भन्नेहरुका तर्कहरु पुष्टि हुने केहि आधारहरु पनि हुन सक्छन तर स्थानीय जनताले तिरेको कर र नेपाल सरकारबाट प्राप्त अनुदानबाट गरेका सबै कामहरु पारदर्शी छन् । नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु वा कुनैपनि कार्यपालिकाका सदस्यहरु २ वर्षे कार्यकालमा आर्थिक अनियमितताको विषयमा प्रश्न गर्ने ठाउँमा समेत पुगेका छैनन् । गर्नहुने र मिल्ने कामको विषयमा नगरपालिकाका कुनैपनि जनप्रतिनिधिहरुले हुन्न भन्ने र जनताको काममा आनाकानी गरेका छैनन् । राम्रो सेवा सुविधा लिने कर्मचारीहरु कार्यालय समय भन्दा बढी यदाकदा मात्र खटेका छन् तर नगरप्रमुखदेखि, वडा अध्यक्ष र वडा सदस्यहरुसम्म मिर्मिरे उज्यालोदेखि रातीसम्म विकास निर्माणका मात्र होईन नागरिकका दैनिक समस्याहरू समाधानमा लागिरहेका देखिन्छन् ।

कतिपय नगरपालिकामा वडाध्यक्षहरुदेखि नगप्रमुखसम्म भ्रष्टाचारको अभियोगमा अख्तियार धाईरहेका छन् । कतिपय नगरपालिकाहरु आफ्नो कार्यालय संरचनालाई व्यवस्थित गर्न थालेकै छैनन् । बूढानिलकण्ठ नगरपालिका अब केहि महिनाभित्रै आफ्नै व्यवस्थित कार्यालय भवनमा सर्दैछ । १३ मध्ये ११ वडा कार्यालयहरू आफ्नै भवनमा संचालनमा रहेका छन् भने २ वडा कार्यालयहरु पनि भाडाको घरबाट आउँदो वर्षभित्र आफ्नै भवनमा सर्नेछन् । स्थानीय नागरिकहरु राज्यलाई तिर्नुपर्ने कर तिर्न आनाकानी गर्ने, ५ तल्ले घर अगाडिको सडकको सानो खाल्डो सम्म पुर्न नगरपालिका गुहार्ने मानसिकतामा रुपान्तरण नगरेसम्म न त नगरपालिकालाई सोचे अनुरुप विकास गर्न सकिन्छ न त काम गर्ने स्थानीय जनप्रतिनिधिले गरेको कामको खुलेर चर्चा गर्न सकिन्छ ।

सम्भावना नमूना नगरको : योजना नगरप्रमुखको
तुलनात्मक रुपमा उद्धव खरेल जान्ने नगरप्रमुख नै हुन् । हिजो गाउँ विकास समिति हुँदै जिविस महासंघ रहँदादेखि अहिले नगरपालिका संघको केन्द्रीय नेतृत्वमा रहँदासम्म उनको छवि स्वच्छ र प्रष्ट जनप्रतिनिधिको रुपमा कायम छ । शिक्षा र अनुभवले गर्दा खरेल नगरभरिका सबैभन्दा बढी जानकारी राख्ने व्यक्ति हुन् । त्यसो भन्दैमा जिम्मेवारीको हिसाबले आफूले सकेसम्म कम बोल्ने, सरोकारवालाका कुराहरु बढी सुन्ने, बोल्नै पर्ने ठाउँमा मात्र बोल्नुपर्नेमा त्यसो भएको देखिदैन् । त्यसैले आफू कम बोल्ने र सरोकारवालाका कुराहरु बढी सुन्ने तर्फ नगरप्रमुखले ध्यान दिँदै अघि बढ्ने हो भने नमूना नगर निर्माण अभियानले सार्थकता पाउने देखिन्छ ।

नगरप्रमुख खरेल क्षेत्रगत र विषयगत रुपमा प्रशस्त जानकारी राख्ने व्यक्ति हुन । तुलनात्मक रुपमा उनमा सबैजसो  विषय, व्यक्ति र क्षेत्रको सूचना र ज्ञान छ । त्यसैलाई आधार बनाएर कतिपय अवस्थामा उनी जुनसुकै विषयवस्तुप्रति आफू बढी नै जानकार भएको ठान्छन् र कतिपय अवस्थामा विषयविज्ञले दिएको सुझाव समेत वास्ता गर्दैनन् भन्ने आरोप लाग्ने गरेको सुनिन्छ । धेरैजसो विषयहरुमा खरेल अरुलाई विश्वास गर्दैनन् । त्यसैले उनको योजना बनाउने र कार्यान्वयन गर्ने भित्रि समूह नै छैन । नगरपालिकाको नेतृत्वकर्ताले त्यसो गर्नु तथ्य संगत हुँदैन् । नगरपालिका आफैमा सामुहिक जिम्मेवारीले चल्ने संयन्त्र हो । त्यसैले विषय विज्ञले दिएका सुझावहरुलाई नीति निर्माण तथा विकास निर्माणका सवालमा प्रयोग गर्दै समूहमा काम गर्ने बानीको विकास गर्ने हो भने नमूना नगर निर्माणको यात्रा पक्कै पनि सहज हुने देखिन्छ ।

नगरप्रमुख खरेलले कामको प्राथमिकीकरण गरेका छैनन् । योजना बनाएरै काम गर्ने बानीको विकास गर्न सकेका छैनन् । जसले गर्दा नीतिगत, प्रशासनिक र विकास निर्माणका कामले अझ गति लिन सक्ने सम्भावना जिवन्त छ । खरेल उपत्यकाकै सबैभन्दा भाग्यमानी नगरप्रमुख समेत हुन् । उनको नगरमा वर्तमान सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल मात्र होइनन् विकासवादी नेताको छवी बनाएका डा.राजन भट्टराई समेत छन् । दुबै नेताहरु वर्तमान राजनीतिको केन्द्रभागमा छन् र दुबैले विकास मार्फत राजनीतिक छवीलाई स्थापित गर्न चाहिरहेका छन् । प्रदेश सरकारमा रहेका मुख्यमन्त्रीदेखि अधिकांश मन्त्रीहरु समेत मन्त्री पोखरेल र नेता भट्टराईको अनुरोधलाई काट्ने हैसियतमा छैनन् त्यसैले पनि नगरप्रमुख खरेलले आफूलाई व्यवस्थित गर्दै काम गर्ने शैली बदल्ने हो भने बूढानीलकण्ठ नगरपालिका सुशासनयुक्त नगरपालिका मात्र होइन विकास निर्माणमा नेपालकै अब्बल नगरपालिका बन्नेमा दुविधा देखिदैन ।

प्रतिक्रिया दिनुहोस्