ओलीको मिडियाको भाषाप्रतिको बोलीः ट्वीटरमा आलोचनाको वर्षा



०४ अषाढ २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले संसद अवरुद्ध गरेपछि चुईक्क पनि बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नै सिंहदरबारमा साँझ धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरे ।

जहाँ, प्रधानमन्त्री ओलीले नेपाली संचारजगतको भाषाप्रति दिएका एक अभिव्यक्ति सामाजिक संजालमा अहिले एकाएक चर्चित बन्यो ।

प्रमुख प्रतिपक्ष तथा आफ्नो विरोधीहरुबाट रुष्ट प्रधानमन्त्री ओलीले नेपाली संचारजगतको बारेमा राखेको धारणाले अहिले उनी आफै आलोचित बनिरहेका छन् ।

यद्यपी, सामाजिक संजालहरुमा उनको आलोचना मात्र भएका छन्, उनलाई व्यङ्ग्यमात्र गरिएको भन्ने भने होईन । प्रधानमन्त्रीको बचाउ गर्दै टिप्पणीकारको धज्जी उडाउने पनि देखिएका छन् ।

तर, सरदरमा हेर्दा त्यो उनको अभिव्यक्तिअन्तर्गत अनुयायी भन्दा आलोचक नै बढि देखिए ।

“नेपाली संचारमाध्यमले भाषा, धर्म तथा संस्कृतिको कुरा गर्छन्….नेपाली भाषामा बाउलाई बाउ नै भनिन्छ, अनि बाउलाई त ‘तपाईँ’ नै भन्ने चलन हुन्छ…बाउलाई पनि तिमी, आमालाई पनि तिमी, हजुरबालाई पनि तिमी….यो त नेपाली भाषा संस्कृतिभित्र पर्दैन होऊ ।” प्रधानमन्त्री ओलीले सम्मेलनमा भनेका थिए ।

प्रधानमन्त्री ओलीले आफुलाई धेरै संचारमाध्यमले ‘तपाईँ’ नभनेर ‘तिमी’ भन्ने गरेको भन्दै नेपाली संचारमाध्यमहरुको आलोचना गरेका थिए ।

त्यसपछि… प्रधानमन्त्री ओली धेरैबाट आलोचित भईरहेका छन् । विशेषगरि फेसबुक तथा ट्वीटरमा उनको आलोचकहरु बढेका देखिन्छन् ।

“फेसबुकका संचालकले फेसबुक पैदा गरेर गल्ती गरे कि क्या हो? यस्सै भनेको होईन । हाम्रो समाज त एउटा सभ्य, शिष्ट र मर्यादित समाज हो । हाम्रो टेलिभिजनले ‘तपाईँ’ भन्न कहिल्यै जान्दैनन् । ‘तपाई’ भन्ने नेपाली शब्दै हराईसक्यो ।’ प्रधानमन्त्री ओलीले फेरि थपेका थिए ।

अभिव्यक्तिमाथि आलोचक र समर्थक

प्रधानमन्त्रीको मिडियाको भाषाप्रतिको सो अभिव्यक्ति नेपाली सामाजिक संजालहरुमा सार्वजनिक भएपछि धेरै प्रधानमन्त्रीकै व्यङ्ग्य गर्नतिर व्यस्त भए ।

त्यसो त प्रधानमन्त्रीसँग समर्थकहरु पनि नभएको होईन ।

मिडियाको भाषाप्रतिको सो अभिव्यक्तिलाई नै विषय बनाएर धेरैले आफ्नो आधिकारिक ट्वीटरमा आ–आफ्नो विचार दिएका छन् ।

पत्रकार प्रतीक प्रधानले लेखेका छन्, “गुठीलाई सामन्तवाद देख्ने हाम्रा प्रधानमन्त्रीलाई ‘तपाईँ हजुर’ भन्नुर्यो रे । ल है सचेत हौं ।”
‘तिमी लेख्दा गाली बेइज्जती लाग्ला । अझ साइबर ल नै लाग्न के बेर?’

प्रतीकको ट्वीट ट्वीटरको फिडमा देखेपछि निर्मला ढकाल प्रधानमन्त्रीको बचाउ गर्छिन् ।

ढकाल लेख्छिन्, “प्रतीक जी तपाईँबाट यस्तो आशा थिएन । केपी ओली र प्रधानमन्त्रीबीचको भिन्नता सायद छुट्याउनै सक्नुभएन की?”

यस्तै गरि कत्तिले त प्रधानमन्त्री ओलीलाई ‘राजा बन्न खोज्यो’समेत भनेका छन् ।

लेखक खगेन्द्र संग्रौला लेख्छन्, “आमाबाबा हामीलाई ‘तँ’ भन्थे, त्यसमा ममताको कमी थिएन । हामी बाआमालाई तिमी भन्थ्यौं, त्यसमा आदरभावको कमी थिएन । सम्माननीय ओली मिडिया मलाई ‘तपाईँ’ भनिनस् भनेर राजाझैं कुर्लिन थाले । यी ‘समाजवादी’सँग डर लाग्छ । लेखक र पत्रकारलाई झ्याप्पै पक्रेर थला बसाउने पो हुन् कि?”

यसैगरि तपाई/तिमी/तँ जे भनिएपनि ती सबै नेपालीहरुकै संस्कार भएको मनोभावका साथ बबिता राई ट्वीटरमा लेख्छिन् ।

“नेपालका कत्तिपय जनजातिहरुमा बाआमालाई ‘तिमी’ सम्बोधन गर्ने चलन छ । प्रधानमन्त्री ज्यूका अनुसार यो त नेपाली संस्कारभित्र नपर्ने रहेछ । कसको संस्कार चाहिँ नेपाली रहेछ?”

प्रधानमन्त्रीको मिडियाको भाषाप्रतिको अभिव्यक्तिलाई लिएर कत्तिले आक्रोसपूर्ण भाषा तथा शैली देखाएका छन् त कत्तिले कवितात्मक र व्याङ्ग्यात्मक शैली पनि अपनाएका छन् ।

कवि रमेश सायन लेख्छन्, “प्रधानमन्त्रीले भन्नुभयो । बोल्नु भयो । ठीकै छ त । त्यो उहाँको भाषा हो । तर हामी त ‘बाउ आयो सुगुरले सप्पै साग खाुनभयो’वाला भाषा सुन्दै बोल्दै आएको मान्छे । आँ होस् हामी हाम्रो भाषा बोल्छम् । प्रधानमन्त्रीले भने ठीकै छ ।

अनि कत्तिले प्रधानमन्त्रीको चित्त दुखाईले विगतको कथाको याद आएको कुरा पनि उल्लेख गरेका छन् ।

ट्वीटरमा हिमा विष्ट लेख्छिन्, “हिजोको प्रमको चित्त दुखाई त कुनै बेलाको कथाको याद आयो । दाई ‘आलु तारेको छ’ भनेर सोध्दा ‘छैन’ अनि आलुको के परिकार पाईन्छ त छिट्टै भन्दा ‘फ्रेञ्च फ्राईज’ भनेको याद आयो ।”

 

यस्तो व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्रीलाई थुप्रै झटारोहरु आएका छन् ।

‘मपाई कजिनी’ नाम भएको ट्वीटर प्रयोगकर्ता लेख्छिन्, “हजुर केपी ओली सरकार, कुन–कुन असंस्कारी पत्रकारले हजुरका जुनाफमा अनादर प्रकट गरे, नाम हुकुममात्र होस् । एकएकलाई प्रभुका पाउमा शीर नुहाउन हाजिर गराउँछे सेविकाले राष्ट्रसेवक हजुरको बाहुलीबाट यस्तो सवक पाउनेछन् की तिनका सात पुस्ताले सम्म अंग्रेजीमा पनि हजुर/तपाईँ भन्न थाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्