हङकङ प्रदर्शन: विधेयक स्थगितको घोषणा तर, प्रदर्शनकारीहरु झनै आन्दोलित



०२ अषाढ २०७६, काठमाडौं

हङकङ सरकारले विवादित सुपुर्दगी विधेयक स्थगित गर्ने घोषणा गरेपनि त्यहाँको अवस्था अझै तनावग्रस्त बनेको छ ।

प्रदर्शनकारीहरु सडकमै रात बिताईरहेका छन् । उनीहरुले भनेका छन्, ‘विधेयक स्थगित भएर मात्र हुँदैन, फिर्ता हुनुपर्छ ।’

हङकङका अधिकारीहरुले विधेयक स्थगितको घोषणा गरेपनि प्रदर्शनकारीहरुले भने फिर्ता नै हुनुपर्ने माग राख्दै झनै आन्दोलित भईरहेका छन् ।

विधेयकको विरोधमा प्रदर्शनकारीहरुले कालो लुगा लगाई मूख्य सडकखण्ड नै अवरुद्ध गरिरहेका छन् ।

आईतबार मात्रै करिब २० लाख आन्दोलनकारीहरुको सहभागीतामा विरोध प्रदर्शन भएको च्यानल न्यूज एसियाले जनाएको छ ।

हङकङ सरकारले संसदमा कैदीबन्दीलाई चीन सुपुर्दगी गर्ने प्रावधानसहित ल्याएको विधेयकविरुद्ध उनीहरु आन्दोलित बनको हुन् ।

किन चर्कियो आन्दोलन?

हङकङका कैदीबन्दीलाई चीनको मूख्य भू–भागमा सुपुर्दगी गर्ने प्रवाधनसहितको विधेयक आएपछि त्यहाँका अधिकांश मानिसहरु आन्दोलित बनेका हुन् ।

प्रदर्शनकारीहरुले त्यहाँको मूख्य सडकमासमेत छेकबार लगाई अवरुद्ध गरेका थिए ।

आईतबार भएको उक्त विशाल विरोध प्रदर्शनका प्रदर्शनकारीले सडकमै रात बिताएका अन्तराष्ट्रिय संचारमाध्यमहरुले समाचार संप्रेशन गरेका छन् ।

यो तनावग्रस्त अवस्थापछि त्यहाँ अधिकारीहरुले विधेयक स्थगितको घोषणा गरेका थिए ।

तर, विधेयक स्थगित मात्र नभएर पूरै फिर्ता नै हुनुपर्ने भन्दै आन्दोलनकारीहरु थप आन्दोलित भईरहेका छन् ।

बुधबारमात्रै भएको प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा केही घाइतेसमेत भएका थिए ।

नेत्री क्यारी लामको राजीना माग

हङकङकी नेत्री क्यारी लामले विधेयक पारित गरिएकोमा क्षमायाचना गरिन् । तर, प्रदर्शनकारीहरु भने उनले राजीनामा नै दिनुपर्ने अडान राख्छन् ।

उनीहरुले भनेका छन्, ‘क्यारी लामले राजीनामा नदिए हङकङमा चिनियाँ प्रभावहरु बढ्छन, जसले हामीहरुलाई असहज हुन्छ ।’

‘उनले हामी सबैको माग र इच्छालाई बेवास्ता गरिरहेकी छिन् ।’ एक ६७ वर्षीया प्रदर्शनकारीले भनेका छन् ।

सांसदहरुबीच हात हालाहाल

अरोपितहरुलाई मुद्दा चलाउन चीन पठाउन मिल्ने गरि सुपुर्दगी कानूनमा परिवर्तन गर्न खोजिएपछि शनिबार हङकङको संसदमा सांसदहरुबीच हात हालाहाल भएको छ ।

हात हालाहाल भएपछि केही सांसद घाइते भएका थिए भने, एक सांसद गम्भीर घाइते भई अस्पतालसम्म पुर्याईएको थियो ।

प्रदर्शनकारीहरुमाथि रबरको गोली

विधेयक फिर्ता हुनुपर्छ भनी सडकमा ठूलो संख्यामा उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले रबरको गोली प्रहार गरेको थियो ।

प्रहरीहरुको सो अवरोधपछि प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

जोशुवा वोङ थुनामुक्त

‘छाता आन्दोलन’का अगुुवा तथा विद्यार्थी नेता जोशुवा वोङ सोमबार थुनामुक्त भएका छन् ।

तनावग्रस्त प्रदर्शनबीच ‘सेतो फूल’ !

सुपुर्दगी विधेयकको विरोधमा हङकङका जनताहरु आन्दोलनकारीहरु लगातार प्रदर्शनमा देखिएका छन् ।

यसैबीच शनिबार लडेर एक प्रदर्शनकारीको ज्यान गएको छ ।

उनकै निम्ति भनेर आईतबार अन्य प्रदर्शनकारीहरुले हातमा ‘सेतु फूल’ लिएर पनि प्रदर्शनमा उठेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्