संविधानसभा पदकः केही सांसदलाई हर्ष, देशको लागि फजुल खर्च



२९ जेष्ठ २०७६, काठमाडौं

नेपालमा वि. स. २०६५ जेष्ठ १५ मध्यरातको संविधानसभाको पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणा गर्न सफल भयो ।

बेलाबखत हुने शक्ति–संघर्ष र खटपटका कारण प्रजातन्त्रमा विश्वास गर्ने राजनीतिक दलका लागि राजासहितको प्रजातन्त्र स्वीकार्य थिएन भने, कम्युनिष्टहरुको अभीष्ट नै गणतन्त्र थियो ।

कम्युनिष्टहरुकै माओवादी पार्टीको पछिल्लो जनयुद्धका कारण नेपालको राजनीतिलाई त्रिकोणात्मकबाट दुई धुरीमा विभाजन गरिदियो ।

त्यसपछि दरबार हत्याकाण्डबाट सत्तारोहन गर्न पुगेका ज्ञानेन्द्रको मूर्खताका कारण माओवादीसहित अन्य राजनीतिक दलहरु गणतन्त्रका पक्षमा उभिए ।

यसकै परिणामस्वरुप वि. स. २०६३/६३ को जनआन्दोलनको सफलतासँगैं देशमा गणतन्त्रको स्थपाना र नयाँ संविधान जारी भयो ।

यहीँ गणतन्त्र घोषणाको अवसर पारेर संविधानसभा स्थपनाको चौंथो वर्षमा संविधानसभाका सदस्यहरुलाई ‘संविधानसभा पदक’बाट विभूषित गरियो ।

संघीय सरकारले गत जेष्ठ १६ मा राष्ट्रपतिको हातबाट पहिलो र दोस्रो संविधानसभाका सदस्यहरुलाई ‘संविधानसभा पदक’ प्रदान गर्यो ।

तर, पदक बीचमा विवादित पनि देखियो ।

आम–सर्वसाधारणदेखि सांसदसम्मले पदकको औचित्यमाथि प्रश्न उठाए ।

नेपाली सेनालाई पदक निर्माणको लागि भनी रु ४ करोड ६४ लाख पेश्की दिईएको बताईएको छ ।

पदकको लागत?

सांसदहरुलाई प्रदान गरिएको पदक निर्माणको सहजीकरणको जिम्मा गृह मन्त्रालयको विभूषण शाखाले लिएको थियो ।

‘१,१२३ ओटा पदक निर्माणको जिम्मा नेपाली सेनालाई दिईएको हो ।’ गृह मन्त्रालयको लेखाशाखाले भनेको छ ।

एउटा पदकको मूल्य ४१,३०० पर्न जाने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

“पदकमा १७० ग्राम चाँदी र ५.४५ ग्राम सुनको प्रयोग भएको छ ।” नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने ।

त्यत्ति सुन र चाँदीले मात्रै पनि पदक पूर्ण हुँदैन । त्यसबाहेकका पदकको जलप, सिलाई, हुक तथा अन्य सामग्री पनि उत्तिकै मात्रामा प्रयोग भएको पदकमा प्रष्ट देखिन्छ ।

‘नेपाली सेनाले बनाएकाले यहाँ निर्माण ज्याला भने समावेश गरिएको छैन ।’ पाण्डेले भने ।

किन पदक विवादमा?

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कत्तिपयले पदकमा तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सुर्य भएको भन्दै विरोध जनाए ।

प्रतिपक्षले मात्रै नभएर सत्तारुढकै कत्तिले पदकको खुलेरै विरोध गरे ।

सत्तारुढ नेकपाकै सांसद रामकुमारी झाँक्रीले पदकको बारेमा चित्त बुझाईनन् । उनले आफ्नो सामाजिक संजाल ट्वीटरमार्फत आपत्ति जनाईन् ।

उनले भनेकी छिन्, ‘संविधान बनायौ स्याबास भने पनि जनताले भन्ने हो । राजनीतिकर्मीलाई जनताबाहेक कसैले दिएको तक्मा/पदकको मूल्य हुन्न । यो के तक्मा शितलनिवास भोज खान जाँदा लगाउने? कि जन्त, मलामी, बिहे पार्टी पास्नीमा जाँदा?’

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संविधानसभा निर्माता सभासदलाई चिनारी (पदक) वितरण गर्ने शैलीमै प्रश्न उठेको बताएका थिए ।

यस्तै पहिलो संविधानसभाका प्रमुख सचेतक लक्ष्मण घिमिरेले पदकको औचित्य नभएको र आफु त्यसको सुहाउँदो पात्र नभएको बताउँदै पदक बहिस्कार गरे ।

त्यसैगरी अर्थविद् शंकर शर्मा भन्छन्, “यस्तो कुरामा फजुल खर्च नगरेकै भए राम्रो हुन्थ्यो । त्यो तक्मा लिएर जाने कहाँ हो? कहाँ राख्ने हो? त्यसको साटोमा प्रमाणपत्र मात्रै दिएको भएपनि हुन्थ्यो, राज्यको पैसा त जोगिन्थ्यो ।”

यस्तै विभिन्न राजनीतिक दल तथा व्यक्तिहरुले यसको चरम विरोध गरेका छन् ।

पदकमा के छ?

पदकको माथिल्लो किनारामा सात ओटा नेपालको राष्ट्रिय फूल राखिएको छ ।

त्यस्तै पदकको बीचको भागमा नेपालको संविधान अङ्कित गरिएको छ । र त्यसभन्दा बाहिर सुर्यजस्तो देखिने आकृति समावेश गरिएको छ ।

त्यस्तै पदकको तल्लो किनारामा दुई ओटा हात छन् ।

त्यसतल ‘संविधानसभा दपक’ लेखिएको छ ।

पदकको विषयमा गृह मन्त्रालय?

गृह मन्त्रालयले भनेको छ, ‘सात ओटा लालिगुँरास सात प्रदेशको प्रतीक हो भने, सुर्यजस्तो सुनौला धर्सा भने देशको ७५३ ओटा स्थानीय तहको प्रतीक हो ।’

दुईओटा हातहरु भने महिला र पुरुषको भएको र त्यसले समावेशी संविधानलाई जनाउने गृह मन्त्रालय दावी गर्छ ।

त्यस्तै गरि पदकको किनारामा भएको ७७ ओटा ताराले भने ७७ ओटा जिल्लाको प्रतिनिधित्व गर्ने बताईएको छ ।

कत्ति सांसदले लिए पदक?

पदक पाउने सांसदको संख्या १,१०६ जना रहेको गृह मन्त्रालयले सार्वजनिक गरेको सूचीमा देखिएको छ ।

जसमध्ये ७३१ जनाले भने पदक राष्ट्रपतिकै हातबाट लिएका बताईएको छ ।

बाँकीका लागि गृह मन्त्रालयमा आएर लिन सकिने व्यवस्था मिलाईएको छ ।

जसमा केहीले भने, लिएर पनि गएका बताईएको छ ।

पदक पाउने सूचीमा अटाएका सदस्यहरुको नामः

प्रतिक्रिया दिनुहोस्