महांकाल–चुनिखेल कौडोल सडक निर्माणमा ठेकेदारको चरम लापरवाही



२६ जेठ २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. ६ महांकाल ओरालोदेखि बूढानीलकण्ठ वडा न. ११, १२ हुँदै १३ चुनिखेल कौडोलसम्म ढल सहितको ७ किमी सडक विस्तारमा मुख्य ठेकेदार रविन श्रेष्ठको कम्पनीले मापदण्ड विपरीतको ढल विस्तार गरी चरम लापरवाही गरेको स्थानीय जनप्रतिनिधिको आरोप रहेको छ ।

संघीय सरकारको परियोजनामा निर्माणाधीन सडकको ठाउँठाउँमा ढलको पाइप जोइनिङमा बेवास्ता गर्दा  सडक कालोपत्र नगर्दै ठाउँ ठाउँबाट ढलको दुर्गन्धित पानी खुला सडकमा बगिरहेको छ ।

सडक विस्तारसँगै विस्तार गरिएको टेलिफोनको पाइपबाट ढलको पानी निस्किएपछि १ महिना लामो समयदेखि दुर्गन्धित ढलको पानी सडकमा बग्नाले स्वास्थ्य र वातावरणमा मात्र नभएर आफ्नो ब्यापारमा समेत असर परेको एक स्थानीय महिलाले बताईन् ।

काठमाडौँ सडक डिभिजन कार्यालयका परियोजना मुल्याकंन गर्ने इन्जिनियर सुदर्शन कार्कीसँग सडक निर्माणको लापरवाहीबारे कुरा गर्न खोज्दा सुरुमा आफूलाई जानकारी नभएको बताए । केही समयपछि टेलिफोन कल ब्याक गरेका कार्कीले वडाध्यक्ष शम्भु भट्टराईसँग कुरा भएको र भोलिसम्ममा बिग्रिएको ठाउँको तोकिएको मापदण्ड अनुसार लिकेज भएको ठाउँमा रिङ हालेरै भएपनि ढलको उचित व्यवस्था गर्ने बताउँदै भोली काम हुने भएकोले समाचार प्रकाशन नगर्दा हुन्न र ! भनी समाचार सम्पे्रषण रोक्ने प्रयास गरेका थिए ।

यस विषयमा कुरा गर्दा बूनपा १२ का वडाध्यक्ष शम्भु भट्टराईले मुख्य ठेकेदार तथा पेटी ठेकेदारको लापरवाहीले गर्दा पब्लिकले विहानदेखि बेलुकासम्म आफूलाई फोन गरी   तपाई स्थानीय सरकार जनताले पाउने सेवासुविधा यही हो भनी गुनासो पाख्ने गरेका छन् ।

वडा सदस्य पुरुषोत्तम नेपालले संघीय सरकारले बजेट छुट्याएको परियोजनामा स्थानीय जनप्रतिनिधिको उचित भूमिका नभएकोले गुणस्तरतामा चाहेर पनि सुधार ल्याउन नसकेको बताए ।

स्थानीय विनोद पाठकले विगत एक महिनादेखि बाटोमा ढल बाहिर निस्कने, दुर्गन्ध आउने, विभिन्न रोगका महामारी फैलिने र ढल नै पोखरी जस्तो भएर कुनै पनि समय दुर्घटना हुन  सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्