बूनपा १० आदर्श समाज टोल विकास संस्थाको अनुकरणीय सडक विस्तार योजना 



२१ जेठ २०७६, काठमाडौं

पुराना शहरहरुमा अहिले टोलै पिच्छे टोल विकास संस्थाहरु छन् । टोलटोलमा स्थापित प्रायः सबैजसो टोल विकास संस्थाको उद्देश्य आफ्नो टोलको विकास गर्ने नै हो । त्यसो हुँदाहुँदै पनि कतिपय टोल विकास संस्था तोकिएको जिम्मेवारी पुरा गर्न नसक्दा स्थानीय रुपमै आलोचित हुन्छन् भने कतिपय टोल विकास संस्थाहरु अपारदर्शीता, आर्थिक अनियमितता र गतिशीलताको अभावले विवादित पनि हुन्छन् । थोरै संख्याका टोल विकास संस्थाहरु मात्र राम्रो काम गरेर स्थानीय समुदायमा लोकप्रिय हुँदै अरु समुदायका लागि समेत प्रेरणादायी बन्छन् ।

यस्तै देखिएको छ, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रहेको आदर्श समाज मटबहाल टोल विकास संस्था । आफ्नो टोलमा रहेको १२ फिटे बाटोलाई आफ्नै खर्चमा १६ फिटे बनाएको संस्थाले अहिले २३४ मिटर बाटो प्रदेश सरकारको बजेट मार्फत बूढानीलकण्ठ नगरपालिकासँग सम्झौता गरी धमाधम कालोपत्रे गरिरहेको छ । निर्माणाधीन सडकको लागि टोल विकास संस्थाले गरेको योगदान, परियोजना कार्यान्वयनमा देखाएको पारदर्शीता र आफ्नै नीजि संरचना निर्माण जस्तो गरी गरेका स्थानीय समितिका सदस्यहरुको गतिशिलताको कारण चर्चा योग्य बनेको देखिन्छ ।

सामाजिक विकासको क्षेत्रमा २ दशक बढी समयदेखि क्रियाशील शान्तिराम ढुंगानाले नेतृत्व गरेको टोल विकास समिति विभिन्न सामाजिक कामहरुको कारण प्रायः चर्चायोग्य थियो । पछिल्लो समय सडक निर्माण परियोजनामा उनको योगदान र पारदर्शीताको कारण चर्चा योग्य बन्यो । संस्थामा उनी अध्यक्ष भएपनि गुणस्तरीय काम गराउने उद्देश्यले ढुंगानाले सडक निर्माणको लागि छुट्टै समिति गठन गराए । जसमा स्थानीय समाजसेवीदेखि नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी समेत समेटेर बाटो विस्तार तथा निर्माण उपभोक्ता समिति नै बनाए । जसको अध्यक्ष नारायण कुमार गुरुङ, उपाध्यक्ष बद्री पौडेल, सचिव दिल बहादुर पुरी र कोषाध्यक्ष सोनु लामा छन् । कामदेखि बजेट खर्च समेत यसै समितिले हेर्छ ।

अध्यक्ष ढुंगानाको अनुरोधमा वडा नं. १० का अध्यक्ष नवराज भट्टराई लगायत नगरपालिकाबाट सम्बन्धित अधिकारीहरु आएको बुझिएको छ। त्यसैगरी स्थानीय संस्थाले गरेको कामको अनुगमन गर्न बूनपा १० ले वडा सदस्य दिलकुमारी विकलाई जिम्मेवारी दिएको थियो । ढुंगानाले अनुगमन समितिमा टोलमै बस्ने पूर्व सांसद डेडराज खड्का र आफूलाई थपेर अनुगमन समितिलाई पूर्णता दिए । पूर्व सूचना बिना निर्माण स्थलमा परिवर्तन खबरको टोली पुग्दा विछ्याईएको कालोपत्रेको मात्रा पुगे नपुगेको नाप्नेमा पूर्व सचिव थिए भने सडक निर्माणमा समेत अनुभवी पूर्व सांसद खड्का छेउबाट अलकत्रा अलि थप्न निर्देशन दिँदै थिए ।

निर्माण उपभोक्ता समितिमा बसेका पूर्व सचिव र सांसद मात्र होईन । निर्माण समितिका सवै जसो र मुख्य समितिका अधिकांश सदस्यहरु आफ्नै नीजि बाटो ढलान गरे जसरी नै निर्माणाधीन काममा सक्रिएता पूर्वक चासो देखाईरहेका देखिन्थे । बन्दै गरेको सडकको ठाउँठाउँमा सडक निर्माणको लागि प्रदेश सरकारले विनियोजित गरेको ५० लाख मध्ये कर कटाएर आउने ४८ लाख ५७ हजार, स्थानीय उपभोक्ता योगदान गरेको ९ लाख ५ हजार  योगदान नगरपालिकाकाबाट गुणस्तर मापन गर्ने ईञ्जिनियरको नाम, स्थानीय निर्माण समितिको नाम र मोबाईल नम्बर उल्लेखित ब्यानर टाँगिएका देखिन्थे ।  त्यतिमात्र होईन, यदि समस्या भयो भने नपुग्ने जति मेरो जग्गाबाट काटेरै भएपनि बाटो बनोस भनेको समेत स्थानीयले बताए ।

सडक निर्माणबारे अध्यक्ष ढुंगाना भन्छन, ‘पहिले यो टोलमा बाटोको ट्रयाक नै थिएन, त्यो बेला ट्रयाक खोल्दादेखि अहिलेसम्म निकै पापड पेल्नु परेको छ । १२ फिट कायम भएको बाटोलाई अहिले स्थानीय टोलबासीलाई कुनै क्षतिपूर्ति नदिई १६ फिट बनाईएको छ । घर अगाडि निर्माण गरिएका पक्की पर्खाल भत्काएर आफ्नै लगानीमा बनाउन लगाउनु कम्ति चानचुने कुरा थिएन तर सबैको सामुहिक प्रयासले उद्देश्य पुरा भएको छ । आफ्नो जग्गा कति गयो भन्दापनि गाडी गुडाउन सकिने बाटो निर्माण गरिएको छ । कामको गुणस्तरमा  कुनै सम्झौता गरिएको छैन । ठूला गाडीको आवतजावतमा नियन्त्रण गर्न सकियो भने २० वर्षसम्म बाटोमा कुनै समस्या देखिदैन ।’

प्रतिक्रिया दिनुहोस्