
२० जेठ २०७६, काठमाडौं
सुन ओसारपोसार हुन लागेको भन्ने सूचनाको आधारमा सीआईबीको कर्मचारी भनि यात्रुबाहक बस चेकजाँच गर्दै लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले आफूहरुलाई सीआईबीको प्रहरी भन्दै गाडी चेकजाँच गर्ने बाहनामा लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।
एसपी भट्टराई भन्छन्, ‘उनीहरुले गाडीमा सुन ओसार–पसार हुन लागेको सूचना पाएका रहेछन् ।’
जंगलमा गाडी रोकेपछि उनीहरुले बन्द ढोका खोल्न लगाई बसभित्र पसेर सहचाकलाई सुन (माल) खोई भन्दै हातपात समेत गरेको प्रहरी अुसन्धानमा खुलेको बताईएको छ ।
जेठ १७ गते बिहान ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गको बाराको सिमरा उपमहानगरपालिका वडा नं १६ स्थित चौधकिलोको जंगलमा काठमाडौंबाट महोत्तरी जाँदै गरेको रात्रीकालिन यात्रुबाहक बस लुटपाट गर्ने ७ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
बसमा सवार यात्रुहरुले दिएको हुलियाको आधारमा खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरिएको एसपी भट्टराईले बताएका छन् ।
पक्राउ पर्नेमा सर्लाही हरीवनका दिल कुमार दोङ, विजय लामा, सिन्धुली हरीहरपुरका टाइगर भन्ने सुनिल तामाङ, रौतहट गुजरका ज्ञान बहादुर थिङ रहेका छन् । यस्तै काभ्रे महाभारतका विशाल पाख्रिन, बर्दिबासका सन्तोष भन्ने रमेश कुमार र सिन्धुली मरीनका संघर्ष थिङ रहेको बताईएको छ ।
बा ७ च ४८७६ नम्बरको रातो स्कारपियो गाडी, ज १२ प ४६८० र बा ८६प ९७७१ नम्बरको पल्सर मोटरसाइकलमा आएका ७ जनाको समूहले ना ७ ख २७९० नम्बरको रात्रीकालिन यात्रुबाहक बसलाई नियन्त्रणमा लिई बसमा रहेका सहचालकलाई कुटपिट गरी करिब ५० हजार नगद र सामसुङको एउटा मोबाईल सेट समेत लुटपाट गरेका थिए ।
पक्राउ परेकाहरुलाई डाँका मुद्दामा ५ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।





