काठमाडौंमा बिहान ८ देखि बेलुकी ७ बजेसम्म मालवाहक सवारी चलाउन रोक



१९ जेठ २०७६, काठमाडौं

काठमाडौंको चक्रपथ लगायत विभिन्न स्थानबाट साना तथा ठूला मालबाहक सवारी साधनको प्रवेश तथा सञ्चालनलाई निषेध गरिने भएको छ ।

आगामी असार १ गतेबाट बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालवाहक सवारी प्रवेशमा निषेध हुने भएको हो । यस्तो किसिमको व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको हो । भने दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

चक्रपथ बाहिरको चाबहिल-जोरपाटी सडक, गोपीकृष्ण-कपन सडक, नारायणगोपाल चोक-बुढानीलकण्ठ सडक, बालाजु बाइपास-गोलढुंगा सडक, बगडोल-नख्खु सडक, सातदोबाटो-हरिसिद्धी सडक, ग्वार्कोचापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।

उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिङरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको विभाग स्रोतले जनाएको छ । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ ।

काठमाडौं उपत्यकामा बढ्दो जाम न्युनीकरण र सहज रुपमा नाका सञ्चालनको व्यवस्थापनका लागि यो व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक कुमार दाहालले बताएका छन् ।

दाहाल भन्छन्, ‘शहरभित्र अत्यावश्यक बाहेकका कुनै पनि माल बोकेका सवारी अब ट्राफिकले रोक्छ, सानादेखि ठूला सबै मालबाहकलाई चलाउन दिँदैनौं ।’

अब नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने मालबाहक सवारी दिउँसो धादिङकै सडक खण्डमा रोकिनुपर्ने भएको छ । टोखाको बाटो भएर आउने सवारी पनि माथिल्लो भागमै रोकिनुपर्ने छ । ककनीको रुट हुँदै आउने मालबाहक सवारी गोलढुंगा अघि नै रोकिनुपर्ने छ । उनीहरुलाई रात परेपछि मात्रै काठमाडौंभित्र प्रवेश गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्