बूढानीलकण्ठमा ‘यूवा स्वरोजगार तथा क्षमता विकास’ कार्यक्रम २०७६ सम्पन्न



१८ जेठ २०७६, काठमाडौं

उद्यमशिल युवा समृद्ध राष्ट्र भन्ने नाराका साथ भएको ‘युवा स्वरोजगार तथा क्षमता विकास’ कार्यक्रम २०७६ बूनपा १० स्थित कपन पार्टी भेन्युमा सम्पन्न भएको छ ।

बूनपा नगर प्रमुख उद्धव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि बूनपा उपप्रमुख रमादेवी राई, अतिथिहरु वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई लगायत अन्य समाजसेवी तथा युवाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख खरेलले नगर भित्रका सबै यूवाहरुले कुनै न कुनै एउटा सीप लिन आवस्यक रहेको बताउँदै एक युवा एक सीप हुन आवस्यक रहेको बताए ।

नेपाल सरकारले छुट्याएको यूवा स्वरोजगार अन्तर्गतको ५० लाख रुपैया १ महिना भित्र नगरभित्र स्थायी रुपमा बसोवास गर्ने वेरोजगार युवालाई दिन तयार रहेको नगर प्रमुख खरेलले जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि उपप्रमुख राईले अन्य राष्ट्रमा गएर पसिना बगाउनु भन्दा युवाहरुले नेपालमै विभिन्न किसिमका तालिम लिएर आफ्नो खुट्टामा आफै उभिन आग्रह गरिन् ।

उपप्रमुख राई भन्छिन्, यूवाहरुले अन्य देश गएर डलरको सपना देख्नु भन्दा आफ्नै मातृभूमिमा सीपमूलक कार्य गर्न आवस्यक छ । 

वडा नं १० का वडाध्यक्ष भट्टराईले युवाहरुलाई विभिन्न किसिमका तालिम लिएर आफ्नो क्षमता विकास गरि स्थानीय श्रोत साधन प्रयोग गरेर स्थानीय तहमै रोजगारीको अवसर सृजना गर्नु पर्ने बताए ।

अग्रसर यूवा उपभोत्ता समितिका अध्यक्ष विवेक अधिकारीले यूवाले प्राविधिक सीप दक्ष रुपमा सिकेर एउटै कामलाई निरन्तरता दिन आवस्यक रहेको बताउँदै युवा लक्षित कार्यक्रम आगामी समयमा पुनः गर्ने प्रतिवद्धता जनाए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० द्वारा आयोजित ‘युवा स्वरोजगार तथा क्षमता विकास’ कार्यक्रम २०७६ अग्रसर युवा उपभोत्ता समितिको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्