
१७ जेठ २०७६, काठमाडौं
चर्चित कलाकार तथा राष्ट्रसेवक धुर्मुस र सुन्तलीले चितवनको भरतपुर महानगरपालिकाभित्र बनाइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ विवाद उत्कर्षमा रहेको छ ।
रंगशाला बन्न लागेको स्थानमा जाने सडक बनाउने विषयमा विवाद हुँदा स्थानीयले रंगशाला निर्माणस्थलमा लगाएको बार भत्काइदिएपछि विवाद बाहिर आएको हो ।
‘धुर्मुस–सुन्तली’ र ‘रंगशाला’का कारण बाटोमा पर्ने ५०–६० घरमा क्षति पुर्याएर सडक बनाउने तयारी भएपछि आक्रोशित बनेका स्थानीयले रंगशालाको बार भत्काएर विरोध जनाएका हुन् ।
सीताराम कट्टेल ‘धुर्मुस’ले स्थानीयसँग सडक विस्तारमा विवाद हुँदा समस्या समाधानमा चासो नदिएको स्थानीयको आरोप छ ।
स्थानीयहरूले रंगशालातिर रहेको रामपुर कृषि क्याम्पसको जग्गालाई काटेर सडक विस्तार गर्न सुझाव दिएका थिए । यो प्रस्तावलाई सीताराम कट्टेल ‘धुर्मुस’ले अस्वीकार गर्दै आएका थिए ।
टोल विकास समितिका अध्यक्ष मीनबहादुर बस्नेतले सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आरोप लगाए जस्तो कमिशन मागेर दुःख दिएको भन्ने कुरालाई सिधै अस्वीकार गरेका छन् । ‘हामीसँग मिडिया छैनन्, ‘उहाँहरू ठूलो मान्छे हुँ भन्दैमा जे पायो त्यही आरोप लगाउन पाइँदैन, उनले भने ।
रंगशाला निर्माण स्थलसम्म पुग्ने बाटोलाई विस्तार गरेर सडक बनाउने विषयमा मेयर रेणु दाहाललाई पनि पहिला देखि नै जानकारी थियो । तर, मेयर दाहालले पनि समयमा समाधान खोज्न कुनै पनि पहल नगरेको टोल विकास समितिका अध्यक्ष बस्नेतले बताए ।





