
१६ जेठ २०७६, काठमाडौं
धनुषा जिल्ला मिथिला नगरपालिका वडा नं ६ का अढाई वर्षीय बालक शमिर कुमार शाह (आर्यन)को हत्या गरि देउतालाई बली चढाउने संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शम्भु कुमार शाहका अढाई वर्षीय छोरा आर्यनलाई गत बैशाख २३ गते अपरान्ह ५ बजे अपहरणमा परेका उनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो ।
करिब एक महिनापछि शाहको हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई जेठ १५ गते उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेको हो । महतोले प्रहरी समक्ष सो बालकलाई आँफैले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको भनि स्वीकारेका छन् ।
महतोले हत्यागर्दा प्रयोग गरेको एक थान धारिलो हतियार, टिसर्ट, गम्छा र धोतीसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी शाह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए ।
बालकको हत्यापछि महतोले उक्त शव कृष्णनन्दन महतोको घर पछाडि खेतको झाडीमा फालेको बताए । पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक ७ दिनको म्याद थप गरिएको छ । अन्धविश्वासकै कारण उक्त घटना भएको प्रहरीको निष्कर्ष छ ।
लामो समय देखि धामीझाँक्रीको काम गर्दै आएका महतो देवी देवताको नाममा नर वलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको उनले स्वीकारेका छन् ।





