
१५ जेठ २०७६, काठमाडौं
हाम्रो छिमेकी देश भारतमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको ज्यान गएको छ । हिजो सम्म ६ जनाको संख्या थियो भने आजको संख्या १७ पुगेको रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले बताउनु भयो । साथै अन्य ४० जनाको उपचार भैरहेको अधिकारीले आज बताएका छन् ।
यो घट्ना उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा भएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट गर्दै बिरामीको उपचारमा सक्दो सहयोग गर्न स्थानीय प्रशासनलाई आदेश दिनु भएको थियो ।
सन २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।





