बलि चढाएर देउता खुशी पार्ने निहुँमा यी कलिला बालकको लिइयो ज्यान, तीन जना पक्राउ



१५ जेठ २०७६, काठमाडौं

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका शम्भु साहका अढाई वर्षीय बालक छोरा आर्यन साहको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन सातादेखि अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हत्या ‘बलि’ का लागि भएको हुन सक्ने तथ्य भेटिएको छ । आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो। अघिल्लो साँझ हराएका बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटेका थिएनन्।

बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो। घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । अनुसन्धान ‘बलि’ तिरै केन्द्रित रहे पनि घटनास्थल र समयबारे अभियुक्तहरूको फरक–फरक बयानले छानबिन लम्बिएको प्रहरीले जनाएको छ।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार आर्यन हत्याको अनुसन्धान धेरै कोणबाट भइरहेको छ । ‘शवको अवस्था, घटनास्थलको प्रकृति र पक्राउ परेकाको बयानले बालकलाई बलि दिइएको हुन सक्ने भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ एसपी खनालले भने, ‘हत्याको ठयाक्कै कारण के हो भन्ने दुई–चार दिनमा प्रस्ट हुन्छ ।’ प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गरेर छाडेको छ । साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको हो ।

प्रतिक्रिया दिनुहोस्