डा. राजन भट्टराईले चावहिल बंगालामुखी मन्दिरको अक्षयकोषलाई सहयोग गर्ने 



१३ जेठ २०७६, काठमाडौं

विकासवादी नेताको छवी बनाएका नेकपा केन्द्रीय सदस्य तथा परराष्ट्रविद डा. राजन भट्टराई काठमाण्डौ क्षेत्र नं. ४ को विकास निर्माण र सामाजिक गतिविधिमा निकै उत्साहपूर्वक लागिरहेका छन् ।

मैजुबहालस्थित बंगलामुखी मन्दिर व्यवस्थापन समितिद्वारा डा. राजन भट्टराईलाई सहयोगको लागि अपिल गर्दै गरेको भिडियो :

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रभावशाली सल्लाहकारको भूमिकामा रहेर व्यस्तताको बावजुत आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण र सामाजिक काममा निकै गतिशिल देखिन्छन् । जनताको साथ पाएपनि नपाएपनि आफ्नो चुनावी घोषणापत्रलाई लागू गर्न निरन्तर क्रियाशील र प्रतिवद्ध डा. भट्टराईले मेलम्ची खानेपानी परियोजना विस्तार सहित दर्जन भन्दा बढी योजनाको लागि  करिब २ अर्ब हाराहारीका परियोजनाहरु आफ्नो क्षेत्रमा पारिसकेका छन् । विकास निर्माणका ठूला परियोजनामा बजेट विनियोजन गराउन सफल डा. भट्टराईको प्रभावकारीतालाई बुझेका जनताले अन्य सामाजिक र विकासका कामहरुमा एकमात्र विकल्प देख्न थालेका छन् । त्यसैले अहिले डा. भट्टराई क्षेत्रगत विकास र सामाजिक गतिविधिमा निकै क्रियाशील  छन् । स्थानीय जनप्रतिनिधि मात्र होईन सामाजिक संघ संस्था र सामाजिक व्यक्तिहरु उनलाई भेट्न र आफ्ना समस्या राख्न केन्द्रित देखिन्छन् ।

गत शनिवार चावहिल मैजुवहाल स्थित बंगालामुखी मन्दिर व्यवस्थापन समितिले डा. भट्टराईलाई निमन्त्रणा गर्याे । मन्दिरमा पूजा गरि फर्किएका भट्टराईलाई भाडामा संचालन गरिएको मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लगियो र मन्दिर संचालनको जटिलताबारे जानकारी गराईयो । व्यवस्थापन समितिका पदाधिकारीहरुले मन्दिर क्षेत्रमा  सिसि क्यामेराको व्यवस्था गरिदिन, प्रहरी सुरक्षा राखिदिन, पुजारीको लागि तलब व्यवस्थापन गरिदिन र मन्दिरको अक्षयकोष बढाउन सहयोग गरिदिन समेत अनुरोध गरे ।

डा. राजन भट्टराईले मन्दिर व्यवस्थापन समितिले आफूलाई बोलाएकोमा धन्यवाद दिँदै मैजुवहाल क्षेत्रमा आफू हुर्किएको भन्दै आफूले गाई चराएको ठाउँ भएको बताउँदै चावहिल क्षेत्रमा आफ्नो गहिरो सम्बन्ध रहेको समेत बताए ।

सिसि क्यामेरा व्यवस्था गरौला भन्दै प्रहरीको व्यवस्था गरेपनि स्थान अभाव रहेकोले त्यसबारे अहिले भन्न नसकिने बताए । मन्दिर संचालनको लागि राज्यको कुनै निकायमा बजेट भएको आफूले नबुझेको बताउँदै मन्दिरको अक्षयकोष निर्माणको लागि व्यक्तिगत रुपमा सहयोग गर्ने बचन दिए ।

कार्यक्रममा डा. भट्टराईको साथमा काठमाडौँ महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष शुद्ध डंगोल, नेकपा नेता टिका पराजुली, वडा सदस्यहरु कृष्णमणि भट्टराई, कृष्ण प्रसाद घिमिरे लगायत मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र सहयोगीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्