भारतमा फेरि मोदी (लोकसभा चुनाव–२०१९)



०६ जेष्ठ २०७६, काठमाडौं

भारतमा लोकसभा चुनाव सम्पन्न भएपछि विभिन्न अनुमान तथा अड्कल गर्न थालिएको छ, कसले कत्ति मत पाउला भनेर !

त्यसमा पनि कत्तिले सत्तारुढ ‘भारतीय जनता पार्टी’ले नै फेरि एक चोटी राज गर्ने भनेका छन् भने अरुले अन्य कुनै पार्टीले नै चुनाव जित्ने अनुमान लगाईरहेका छन् ।

यसैबीच ‘एक्जिट पोल’ले भारतमा फेरि एक पटक मोदीले राज गर्ने देखिएको छ ।

सत्तारुढ ‘भारतीय जनता पार्टी’ नेतृत्वको एनडीएले गठबन्धनले प्रष्ट बहुमत ल्याएको देखाएको छ ।

‘भारतीय लोकसभा चुनाव २०१९’को अन्तिम चरणको मतदान आईतबार सकिएको छ ।

गत अप्रिलदेखि सुरु भएको लोकसभा चुनाव ७ चरणमा सकिएको थियो ।

कुल ५ सय ४२ सिटका लागि भएको चुनावमा प्रष्ट बहुमत ल्याउनका लागि २ सय ७२ सिट चाहिन्छ ।

यसैबीच मोदी नेतृत्वको गठबन्धनले प्रष्ट बहुमत ल्याउने ‘एक्जिट पोल’ सार्वजनिक भएको छ ।

तर, मतगणना भने आगमी २३ तारिखबाट हुनेछ ।

विभिन्न एजेन्सी र संचारमाध्यमले गरेका अनुमान अनुसार फेरि एक पटक वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले नै देशको नेतृत्व लिने भएका हुन् ।

उनको पार्टी ‘भारतीय जनता पार्टी’ नेतृत्वको एनडिए गठबन्धनले ३ सय भन्दा धेरै सिट जित्ने अनुमान ‘आजतक’ले गरेको छ ।

त्यस्तै ‘ईन्डिया टुडे’ अनुसार ५ सय ४२ सिटमा बीजेपी नेतृत्वको गठबन्धनले ३ सय ३९ देखि ३ सय ६५ सिटसम्म ल्याउन सक्ने देखिएको छ ।

प्रमुख प्रतिपक्ष कांग्रेस–आई नेतृत्वको गठबन्धनले ७७ देखि १ सय ८ सिट ल्याउन सक्ने देखिएको छ ।

त्यसैगरी जनताको बोलीका अनुसार बिजेपी नेतृत्वको गठबन्धनले ३ सय ५ र काँग्रेस नेतृत्वको गठबन्धनले १ सय २४ ल्याउने उल्लेख छ ।

भारतका विभिन्न स्थानहरुमा गरिएको ‘एक्जिट पोल’मा नरेन्द्र मोदी फेरि एक पटक भारतको प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

यस्तो छ, मत सर्वेक्षण नतिजा !

उत्तर प्रदेश सर्वेक्षण नतिजा–

भारतमा सरकार गठनका लागि सबैभन्दा धेरै प्रभाव उत्तर प्रदेशको नतिजाले पार्छ ।

५ सय ४२ सिट मध्ये उत्तर प्रदेशमा मात्र ८० सिट छ ।

गत निर्वाचनमा ‘भारतीय जनता पार्टी’ले ८० मध्ये ७१ सिट जितेको थियो ।

हिन्दु बहुल उत्तर प्रदेशमा धार्मिक मुद्दाले प्राथमिकता पाउँदै आएको छ ।

त्यसमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं पनि उत्तर प्रदेशको बनारसबाट निर्वाचन लडेका छन् ।

त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धी पनि उत्तर प्रदेशकै अमेठीबाट निर्वाचनको दौडमा आएका हुन् ।

भारतमा कथन छ ‘जसले उत्तर प्रदेश जित्छ उसले सरकार बनाउँछ।’

भारतको उत्तर प्रदेशले अहिलेसम्म भारतका लागि नौ प्रधानमन्त्री दिइसकेको छ ।

झण्डै बेलायतको आकारको उत्तर प्रदेशनै भारतीय लोकसभा निर्वाचनको केन्द्र हो ।

भारतीय टेलिभिजन च्यानल ‘एनडिटिभी’ले यसपटक बिजेपीले उत्तर प्रदेशमा १६ सिट गुमाउने अनुमान गरेको छ ।

अघिल्लो पटक ७१ सिट जितेको बिजेपीले ५५ सिट जित्ने ‘एनडिटिभी’को मत सर्वेक्षणले देखाएको छ ।

अर्थात् बिजेपी नै उत्तर प्रदेशमा सबैभन्दा ठूलो पार्टी हुनेछ ।

भारतीय कांग्रेसले यसपटक पनि २ सिट मात्र जित्ने सर्वेक्षणमा उल्लेख छ ।

सन् २०१४ को चुनावमा पनि कांग्रेसले दुई सिटमै चित्त बुझाउनु परेको थियो ।

जबकी बिएसपी र एसपी गठबन्धनले २३ सिट प्राप्त गर्ने देखाएको छ ।

बाँकी सिट बिएसपी र एसपीले प्राप्त गर्नेछन् ।

‘टाईम्स’को सर्वेक्षणले त्यहाँ भाजपाले ५८, कांग्रेसले २ र बहुजन समाजवादी गठबन्धनले २० सिट ल्याउने देखाएको छ ।

त्यसैगरी, ‘एबिपी’को सर्वेक्षणले भने भाजपा २२, कांग्रेस २ र गठबन्धनको ५६ सिट आउने देखाएको छ ।

जनकी बातको सर्वेक्षणमा भाजपाको ५३, कांग्रेसको ३ र गठबन्धनको २४ सिट आउने देखिएको छ ।

‘सी भोटर’को मत सर्वेक्षणले पनि यस्तै नतिजा देखाएको छ ।

उसको सर्वेक्षणअनुसार भाजपा ११, कांग्रेस दुई र अन्य दलले २९ सिट जित्न सक्छन् ।

‘जनकी बात’का अनुसार त्यहाँ भाजपाले २२, कांग्रेसले ३ र अन्य दलले १७ सिट जित्ने देखाएको छ ।

महाराष्ट्र सर्वेक्षण नतिजा–

महाराष्ट्रमा कूल ४८ सिटका लागि चुनाव भएको थियो ।

सन् २०१४ मा त्यहाँ शिव सेना र भाजपाले समान ४१ सिट जितेका थिए ।

यसपालि पनि उनीहरूले ३६ सिटसम्म जित्ने मत सर्वेक्षणमा देखिएको छ ।

‘सी भोटर’का अनुसार त्यहाँ एनडिएले ४३ र कांग्रेसको युपिए गठबन्धनले १४ सिट जित्न सक्छन् ।

बिहार सर्वेक्षण नजिता–

बिहारमा ४० सिटका लागि चुनाव भएको थियो ।

जसमा आईतबार ८ सिटका लागि गरिएको थियो ।

आईतबार चुनाव भएका नालंदा, पटना, साहिब, पाटलिपुत्र, आरा, बक्सर, सासराम, काराकाट र जहानाबादबाट १ सय ५७ प्रत्यासी थिए ।

नेपालको सीमासँग जोडिएकाले बिहारको मत सर्वेक्षणमा नेपालीले समेत धेरै चासो देखाएका छन् ।

सन् २०१४ को चुनावमा त्यहाँ २२ सिट ‘भारतीय जनता पार्टी’ले जितेको थियो भने, कांग्रेसले २ सिटमात्र पाएको थियो ।

‘आजतक’का अनुसार भाजपाको गठबन्धन एनडिएले बिहारमा ३८ सिट जित्ने छ ।

कांग्रेसको गठबन्धन युपीएले भने जम्मा २ सिट ल्याउने देखिएको छ ।

त्यस्तै ‘एनडिटिभी’ले गरेको मत सर्वेक्षणले भने बिजेपी र एनडीएलाई ३० सिट र कांग्रेस र आरजेडीको गठबन्धनलाई ११ सिट मिल्ने देखाउँछ ।

त्यस्तै ‘एबिपी’को ‘एक्जिट पोल’का अनुसार एनडीएले ३४ र यूपीएले जम्मा ६ भोट ल्याउने छ ।

‘सी भोटर’ले भने एनडीएले ३३ र यूपिएल ७ सिट जित्ने देखाएको छ ।

गुजरात सर्वेक्षण नजिता–

प्रधानमन्त्री मोदीका गृहप्रदेश गुजरातमा लोकसभाको ३६ सिटको लागि चुनाव भएको थियो ।

जसमा २४ सिट भाजपाले जित्ने विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

भारतमा आईतबार मतदान सकिएपछि विभिन्न संस्थाले मत सर्वेक्षण सार्वजनिक गरिराखेका छन् ।

‘एबिपी’का अनुसार गुजरातमा २ सिट मात्रै कांग्रेसले जित्ने अनुमान गरिएको छ ।

मोदी सन् २००१ देखि २०१४ सम्म यो प्रदेशमा मुख्यमन्त्री भएका थिए ।

तमिलनाडु सर्वेक्षण नजिता–

तमिलनाडू लोकसभा सिटको आधारमा भारतको निर्वाचनमा प्रभावित पार्ने पाँच राज्य मध्ये एक हो ।

जहाँ, ३९ सिटको लागि मतदान भएको थियो ।

भारतमा सत्तारुढ भाजपाले सन् २०१४ को चुनावमा तमिलनाडूमा मात्र एक सिट जित्न सफल भएको थियो ।

तर यसपटक तमिलनाडूमा सिट बढाउन भाजपाले गठबन्धन गरेको छ ।

उसले तीन क्षेत्रीय पार्टीहरू गठबन्धन गरेको छ ।

अर्कोतर्फ भारतीय कांग्रेसले पनि त्यहाँ चार वटा क्षेत्रीय पार्टीसँग गठबन्धन गरेको छ ।

राष्ट्रिय पार्टीका रूपमा रहेका भाजपा र कांग्रेस दुबै तमिलमा प्रभावहीन छन् ।

यसपटक तमिलनाडूको ३९ मध्ये ३८ सिटमा मात्र निर्वाचन भएको छ ।

वेल्लोरको निर्वाचन रद्द भएपछि त्यहाँ ३८ स्थानमा मात्र मतदान भएको हो ।

‘न्युज अइटिन’ले गरेको सर्वेक्षणमा भने ३८ मध्ये २२ देखि २४ सिटमा मात्र कांग्रेस गठबन्धनले जित्ने देखाईएको छ ।

बाँकी १४ देखि १६ सिटमा ‘भारतीय जनता पार्टी’ सम्मिलित गठबन्धनले जित हात पार्ने दावी गरिएको छ ।

त्यस्तै ‘चानक्य न्यूज’ले बिजेपी गठबन्धनले ६ सिट कांग्रेस गठबन्धनले ३१ सिट जित्ने अनुमान लगाएको छ ।

‘सी भोटर’को मत सर्वेक्षणले कांग्रेस गठबन्धनले २७ सिट र ‘भारतीय जनता पार्टी’को गठबन्धनले ११ सिट जित्ने दावी गरेको छ ।

‘टाईम्स’ले कांग्रेस गठबन्धनले २९ सिट र ९ सिट ‘भारतीय जनता पार्टी’को गठबन्धनले जित्ने दावी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्