ट्राफिक नियम उल्लंघन गरे बग्गीखानाबाट तपाईंलाई फोन आउँछ…



०५ जेठ २०७६, काठमाडौं

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई सीसीटीभीबाट निगरानी तथा बोलाएर कारबाही गर्न थालेको छ ।

महाशाखाका प्रमुख प्रहरी उपरीक्षक (एसएसपी) बसन्त पन्त ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी सुरु भएको बताउँछन् ।

महाशाखाले सीसीटिभी शाखा बनाएको छ, जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरे नगरेको हेर्छ । नियम मिचेको देख्नासाथै सम्बन्धित क्षत्रेका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।

त्यहाँ खटिएका ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर नोट गरिन्छ । सवारीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनीलाई फोन गरेर महाशाखा बोलाइन्छ  ।

‘बोलाउँदा पनि नआए हामी फेरि फलो गर्छौं,’ पन्तले भने, ‘अझ अटेरी गरे पत्र नै काट्छौं ।’ तीनपटकसम्म अनुरोध गर्दा वेवास्ता गरेर सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्ने गरिएको जानकारी गराए ।

बैशाख महिनामा १६५ जनालाई सीसीटीभी फुटेज हेरेपछि आफ्नो गल्ती स्वीकार गरेर ट्राफिकको कारबाहीमा परेका छन् ।

सीसीटीभी निगरानीका आधारमा सडकमै कारबाहीमा पर्नेको संख्या ९९४ छ । यसले गर्दा ट्राफिक प्रहरी नदेख्नासाथै नियम मिचेर अघि बढ्ने प्रवृति निरुत्साहित हुने विश्वास ट्राफिक प्रहरी महाशाखाको छ ।

‘विगतमा ठक्कर दिएर र दुर्घटना गराएर भाग्ने सवारीका हकमा हामीले सीसीटिभीबाट निगरानी गर्ने गरेकै थियौं,’ एसएसपी पन्त भन्छन्, ‘अहिले भने हामीले सवारी नियम मिच्ने सवारीको निगरानी गरेका छौं । हामीले अन द स्पट फेला नपारेपनि सीसीटीभी फूटेजका आधारमा बोलाएर कारवाही गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्