नयाँ प्रयोग, हाइकु वर्णमाला, नेपाली भाषा



०५ जेठ २०७६, काठमाडौं

बाबुआमाहरु आफ्ना छोराछोरीलाई विद्यालयमा नेपाली पढ्न अप्ठारो लाग्छ भनेको सुन्दा खुसी मानेर हाँसेको देख्न थालियो । हाम्रा बालबच्चा पनि नेपाली पढ्न अप्ठारो लाग्छ भन्न थाले । नेपाली ऐच्छिक रुपमा लिन पाउने अवसर भएका कक्षामा नेपाली नलिनेको सङ्ख्या बढिसकेको अवस्था छ । यस्तो स्थिति बढ्दै आउँदा दुर्गा अधिकारी ‘भमरकोटे’ बाट लिखित हाइकु वर्णमाला देखा परेको छ । वर्णमालाको किताब सानो हुनु स्वाभाविक हो ।

सानो किताब लेख्न उति सजिलो हुँदैन । झल्लक हेर्दा सानो देखिए पनि प्रभाव र उपयोगका हिसाबले यो पुस्तक धेरै महत्व बोकेको छ । सानो किताब भनेर आँखा नलाग्न सक्छ । सानो औषधिले ठुलो जिउको रोग निको हुन्छ । सानो चाबी हरायो भने ठुलो घरमा पस्न पाइँदैन । त्यसैले यसो भन्न मन लाग्यो-

प्रयोग राम्रो
नेपाली वर्णमाला
सिक्न सजिलो ।१।
सुन्दर बन्यो
हाइकु वर्णमाला
दुर्गा सरको ।२।
नेपाली युवा
बालबालिका खुबै
मन पराउँछन् ।३।

नेपालीले नेपाल खोज्ने समय भएको छ । जुनसुकै कुरालाई पनि विदेश र विदेशीले प्रमाणित गरेपछि नेपालीले पत्याउँछ । आज हाम्रो देश अरुका देशका लागि अध्ययनको क्षेत्र बनेको छ । यहाँको भौतिक र बौद्धिक विषयको अध्ययन गर्दै उनीहरुले धेरै उन्नति गरिसके । हामी आफ्नो परिचय गुमाउँदै बसेका छौँ ।

अरुले गरेको काम धेरै सजिलो लाग्छ । आफूले गर्दा त्यसको गहिराइ बल्ल बुझिन्छ । सबै कुरो आफ्नै देशमा छ । यो देश बौद्धिक र भौतिक दुवै पक्षका समृद्ध छ । ज्ञानको स्रोतका रुपमा उहिलेदेपखि पुर्खाले लेखेर दिएको ज्ञान छ । सुनको बालुवा भएको प्राकृतिक देन छ । यति हुँदा पनि हामी किन पछाडि पर्यौँ होला ? हामीले आफ्ना पुर्खालाई विश्वास गर्न सकेनौँ, अर्को देशकाले विश्वास गरे ।

पुर्खाले दिएको विशिष्ट ज्ञानलाई चिनेनौँ, उनीहरुले चिने । हामीले पूजाका विधि बनायौँ, उनीहरुले त्यसैबाट प्रविधि बनाए । हामी मास्तै गयौँ, उनीहरु जोड्दै गए । आज विदेशमा संस्कृत विद्याको प्रचार व्यापक हुँदै छ । हाम्रा देशमा समाप्त गरिँदै छ । हामीले सानो देखे पनि महत्व बुझ्नेका लागि ठुलो कुरो भयो हाम्रा पुर्खाका भाषा, त्यसको वर्णमाला । सानोलाई उपेक्षा गरेर ठुलो खोज्दै हामी ठुला देशमा पस्तै छौँ । महत्व बुझ्नेहरु सानो देशमा आएर धेरै खालका अवसर जुटाउँदै छन् । त्यसैले उनीहरुको जस्तै उन्नतिमा जानका लागि अब नेपालीले नेपाल खोज्ने बेला आएको छ । त्यसका वर्णमाला खोज्नु पहिलो काम हो । नयाँ शैलीबाट सो कामको थालनी गर्ने हाइकु सङ्ग्रहका स्रष्टा दुर्गा अधिकारी ‘भमरकोटे’ ले सो काममा पाइला सार्नुभएको छ । प्रथमतः हाइकु सिक्न खोज्नेका लागि पनि यस पुस्तिकाले उदाहरण सहयोग गर्न सक्छ भने गाउँदै वर्णमाला सिक्नका लागि पनि यो पुस्तक उपयोगी छ । सानो देखिए पनि काम उपयोगी भएकाले पुस्तकले सफलता पाउने देखिन्छ । त्यसैले लेखकको कार्य धन्यवादयोग्य छ ।

प्रतिक्रिया दिनुहोस्