प्रदेश १ का मुख्य शहर विकासका लागि डेढ खर्ब लगानी



०४ जेठ २०७६, इटहरी

प्रदेश नम्बर १ अन्तर्गतका मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैंकले डेढ खर्व रुपैयाँ लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरी वैंकले लगानी गर्न लागेको हो ।

बैंकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौँमा सरोकारवाला स्थानीय निकायका प्रमुखहरुसँग छलफल चलाएको छ । प्रदेश नम्बर १ मा यति ठूलो रकम एकै पटक एशियाली विकास वैंकले लगानी गर्न लागेपछि स्थानीय तह हौसिएका छन् । विराटनगरका मेयर  भीम पराजुलीले  विराटनगर, दुहवी, इटहरी, इनरुवा, धरान र दमक  शहरको स्तरवृद्धिको लागि यति ठूलो रकम लगानी हुन लागेको बताए ।

भौतिक पूर्वाधार मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले आगामी डेढ बर्ष भित्रै योजना  छनौट गरी सरोकारवाला नगरपालिकासँग सहकार्य गरेर डीपीआर तयार गर्ने जानकारी दिएको मेयर पराजुलीले बताए । यसका लागि विभिन्न चरणमा  नगरपालिकाका प्रमुखहरुसँग घनिभूत छलफल चलिरहेको पनि उनले जानकारी गराए । यो महत्वकांक्षी आयोजना संचालनमा आएपछि विराटनगरको मुहार फेरिने मेयर पराजुलीले दावी गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस्