पब्जि यसकारण बन्द गर्न जरुरी छ



०३ जेठ २०७६, काठमाडौं

आजको समयमा विद्यार्थी तथा कलिला बालबालिकाहरु जान अन्जान बस इन्टरनेट गेमहरु खेल्न रमाइरहेका छन् । कतिपय इन्टरनेट गेमहरु यस्ता छन् । कि त्यस्ता खेलकुदको लतमा फसेका बालबालिकाले आफूलाई त्यस्ता खेलहरुबाट छुटकारा दिलाउन सम्भावना प्राय कम हुन्छ । समाजमा यस्ता प्रकारको खेल खेलेर कतिपय खेलहरुले कलिला मस्तिष्क भएका बालबालिकाको ज्यान लिईसकेको छ । यसरी ज्यान लिने खेल पछिल्लो समयमा लोकप्रिय भईरहेका छन् । यसले बालबालिकाको दिमागलाई नसालु पदार्थ लागुपदार्थ जस्तै गरी एककेहोरो बनाईरहेको छ । खेल खेल्न बानी परेको बच्चाले जब खेल्न पाउँदैन त्यो क्षण उसका लागि पिडादायी बनिरहेको हुन्छ । यसै सन्दर्भमा हामीले हाम्रा बालबालिकालाई, विद्यार्थीलाई बचाउन आवश्यक छ । यस बारेमा चर्चा गर्नु अगाडी नेट/इन्टरनेट र फेसबुक एप्लीकेशनको बिषयमा चर्चा गर्नु उचित ठानेको छु ।

इन्टरनेट आजको बदलिदो समयको अनिवार्य आवश्यकता बनिसकेको छ । इन्टरनेट प्रयोगका माध्यमबाट मानिसहरुले धेरै कुराहरु सिक्न सक्छन् धेरै कुरा कमाउन सक्छन्, पाउन सक्छन् । यसको प्रयोगबाट मान्छेले देश समाज परिवार सवै भेटाउन सक्छ । इन्टरनेटको प्रयोग आजको समाजमा कुनै कुनै न प्रकारले भईरहेको अवस्था छ । वेब साइटको विकासले आजको विश्व व्यवस्थामा क्रान्तिकारी हलचल ल्याएको अवस्था छ र इन्टरनेटसँग सम्बन्धित एप्लिकेशनहरु जसले आजको समयको मागलाई, मानिसहरुका चाहनाहरुलाई पुरा गरिरहेको अवस्था छ । इन्टरनेटसँग सम्बन्धित एप्लिकेशनहरु जस्तै युट्युव ह्वाट्स एप, भाईबर मेसेन्जर, फेसबुक, इमो लगायतका एप्लिकेसनहरु आजको दुनियाँमा धेरै महत्वपूर्ण र अनिवार्य आवश्यकताको बिषय बस्तु बनिसकेका छन् । जुन यस्ता प्रकारका इन्टरनेरट र संचार एप्लिकेशनहरु चलाउन बानी परिसकेको कुनै पनी मानिस यस्ता कुराहरुबाट टाढा रहन सक्दैन । इन्टरनेट मार्फत विकास भएको फेसबुकले इन्टरनेट दुनियाँमा बहुआयामिक परिवर्तन मात्रै गरिदिएन यसले सर्वसाधारणको लागि समेत संचारको आवश्यकतालाई सहज रुपले पुरा गरिदिएको छ । यसले समाजका लागि हरेक ब्यक्तिहरुले के गरिरहेका छन्, कता गइरहेका छन्, उनीहरु के पेशा गरिहेका छन् भन्ने सम्मका बिषयबस्तुहरु थाहा पाउन सकिने अवस्था रहेको छ । यसको लागि मानिसले दिईएको सूचना सही हुनु आवश्यक छ । त्यसकारण आजको समयमा यस प्रकारका सामाजिक संजालहरुबाट मानिस पर जान सक्दैनन् । फेसबुक प्रयोगको रफ्तारलाई महशुष मात्र गर्ने हो भने पनि दिनमा केही मिनेट मात्रको लागि भएपनि फेसबुक चलाउनेको संख्या थुप्रो रहेको छ अर्थात आजको दुनियाँ थोरै मात्र भएपनि समाजको बारेमा केही जान्ने लक्ष्य राख्छ ।

फेसबुक प्रयोगकर्ताले सही तरिकाले  प्रयोग नगरी दुरुपयोग गरेमा त्यसको दुश्परिणाम आज हामीले देख्दै भोग्दै आइरहेका छौं । यो एउटा इन्टरनेट मार्फत प्रयोग गरिने एप्लिकेशन हो र कतिपय मानिसहरु आज यसलाई  लतको रुपमा प्रयोग गरि आफ्नो महत्वपूर्ण समय खेर फालिरहेका छन् । यही फेसवुक पनि इन्टरनेट गेम प्रचार गर्ने महत्वपूर्ण माध्यम बनिरहेको छ । यस आलेखमा हामीले बिशेष गरी इन्टरनेट गेमहरुमा सबै भन्दा लोकप्रिय गेम पब्जिले सिर्जना गरेको बालबालिका तथा बिद्यार्थीको मानसिक समस्या र यस खेलको कारणले अभिभावकले भोग्नु परेको त्रसित मनोबिज्ञान र त्यसको दिर्घकालिन समस्या समाधानको बिषयमा यो सामग्री तयार पारिएको छ ।

के हो पब्जि ?
पब्जि गेमको बिकास पब्जि कर्पोरेसनले गरेको इन्टरनेट गेम हो । यो गेम अनलाइनमा बसेर धेरै खाोलाडीहरुले एकै पटक खेल्न सक्छन् । यस गेममा युद्धमा लडिने लडाई जस्तै अनलाइन मार्फत लड्न भिड्न सकिन्छ र यसले आफू प्रत्यक्ष रुपमा युद्धमा सहभागी भएको जस्तो महशुस गराइदिन्छ । यो गेम खेल्ने अनलाइन खेलाडीहरुमा यस खेलको लत बसेको हुन्छ जसरी मानिसमा जाड रक्सी चुरोट लगायतको लत बसेको हुन्छ । यो खेल मार्फत मनोरन्जन लिन थालेका खेलाडीहरुले यो खेल्न छोड्ने सम्भावना कम रहन्छ । यो खेल युवा विद्यार्थी र बालबालिकाहरुमा लोकप्रिय छ ।

यस खेलका नकारात्मक असरहरु :
वास्तवमा यो खेलले समाजमा एक प्रकारको चुनौती सिर्जना गरेको छ जसका कारणले समाजमा थुप्रै प्रकारका समस्याहरु सिर्जना भइरहेका छन् । कलिलो मस्तिष्क भएका बालबालिकामा यस खेलले नकारात्मक असर पारिरहेको छ । यहाँ सम्मकी विश्वका बिभिन्न देशहरुमा पब्जि खेलेर ज्यान गुमाउनेको संख्या पनि क्रमस: बृद्धि भईरहेको छ । पब्जिले शारिरीक र मानसिक समस्या निम्त्याईरहेको छ । पब्जि खेल्ने मानसिहरुलाई समय बितेको पत्तो हुँदैन । यसले समयको बर्बादी समेत पारिरहेको छ ।

आजकाल बिद्यालय जाने समयका बालबालिबकाले मोवाईल वा ट्याव मार्फत पब्जि खेल्न नपाएमा पारिवारिक कलह नै हुने गरेको पब्जि खेल्ने लत लागेका बच्चाका अभिभावकहरु बताउँछन् । स्कुले बालबालिकाले आफ्ना साथीहरुसँग स्कूलमा पढाईको विषयमा भन्दा बढी पब्जि खेलको बारेमा छलफल गरेको तथ्य समेत फेला परेको छ ।

पब्जि लगातार खेल्नाले कतिपय बालबालिकाले ज्यान समेत खेर फालिसकेका छन् । यो खेल्न बसेपछि यसमा नै लगातार ध्यान दिएको कारणले ज्यान गुमाएका उदाहरण प्रशस्त मात्रामा भेटिन थालेका छन् । यसले गर्दा आफ्नो बच्चाबच्चीले पनि कतै त्यस्तै खेलको सिको गरेर परिणाम सोही प्रकारको निस्कने हो की भनेर चिन्तित भएका अभिभावकहरु थुपै्र भेटिन्छन् ।

अभिभावक शिक्षक र सरोकारवालाहरुले पब्जि खेललाइ नियन्त्रण गर्नुपर्ने मागलाई सम्बोधन गर्ने गरी सो खेल बन्द गरिएको थियो । जतिवेला यससँग सरोकार राख्ने शिक्षक अभिाभवकहरुले राहत महशुस गरेको बताइन्छ । तर त्यो लामो समय सम्म रहेन । अदालतमा रिट निबेदन पेस गरेर पुन: पब्जि खेललाइ कानुनी मान्यता दिईयो ।  यस निर्णयले अभिभावक, शिक्षक तथा सरोकारवालाहरु पुन: चिन्तित बने ।

संविधानविद् डा. भिमार्जुन आचार्य, प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरी र प्याब्सन उपमहासचिव आरबी कटुवालले यस विषयसँग सम्बन्धित रहेर दिएको  विचार :

डा. भिमार्जुन आचार्य
पब्जि बास्तबमा नै अहिलेको बालबालिका, विद्यार्थी र युवाहरुमा देखिने गरि समस्या सिर्जना गरिरहेको खेल हो । यसले बालबालिकाहरुमा डरलाग्दो गरि नकारात्मक असर पारिरहेको छ । यसलाइ नियन्त्रण गर्न निश्चय नै जरुरी छ । नेपाल सरकारले यो खेललाई बन्द गरेको थियो जुन कुरा सवैको पक्षमा थियो । पुन अदालतको आदेश मार्फत बालबालिकाको स्वतन्त्रताको बिषयलाई देखाएर खोलियो । यो सही थिएन । अधिकार भन्दैमा सवै कुरा निरपेक्ष हुन्छ भन्ने छैन । राज्यले आफ्नो आवश्यकता अनुसार निर्णय गर्न सक्छ । यस खेललाई राज्यले प्रतिबन्ध लगाउने बिषयमा मेरो पूर्ण समर्थन र सहयोग रहन्छ । बालबालिका सम्बन्धी इजलासहरु पनि छन् र बालबालिकाको बिषयमा त्यस प्रकारका इजलासहरुले काम पनि गरिरहेका छन् तर स्वतन्त्रताका नाममा बालबालिकाको मानसिकतालाई असर पर्ने यस्ता खेलहरुलाई आदेश मार्फत खुला गर्नु सही निर्णय होईन । अभिाभवक र शिक्षकहरुले उठाएको जायज बिषयलाई समाधान गरि कडाइका साथ नियन्त्रण गर्न आवश्यक छ र अर्को कुरा युरोप अमेरिका लगायतका देशहरुमा बालबालिका सम्बन्धी सम्वेदनशील बिषयहरुमा राज्यले लिएको निर्णयलाई कार्यान्वयन गराईका प्रशस्त उदाहरणहरु छन् त्यसकारण हामीले हाम्रो आवश्यकताको बिषयलाई कुनै निर्णय वा ऐन बनाएर कार्यान्वयन गर्न सक्छौं ।

टिकाराम पुरी प्याव्सन केन्द्रीय अध्यक्ष
पहिलो कुरा यो बिषय राज्यले गर्ने बिषय बस्तु हो । यसमा राज्य नै अगाडी आउनु पर्दछ । आजका युवा पुस्ता नेट र इन्टरनेटको सदुपयोग भन्दा पनि दुरुपयोग गर्नमा उद्धत रहेको छ । यस्ता इन्टरनेट मार्फत खेलिने खेलहरुको कारणले निश्चय नै बालबालिकाको मानसिकतामा असर पारिरहेको छ । यसमा अभिभावक सचेत हुन जरुरी छ । उनीहरुलाई सम्झाएर बुझाएर यसबाट बिद्यार्थीको खेल मोहबाट बाहिर ल्याउन सकिन्छ । सरकारले गरेको निर्णय सही थियो । यस्ता बिषयहलाई हटाउन आवश्यक छ । प्याब्सनका तर्फबाट हामीले पनि यस बिषयलाई अगाडी बढाउने भन्ने कुराकानी गरिरहेका छौं । यस बिषयलाई निराकरण गरेर हामी अगाडि बढ्ने बिषयमा गम्भिर छौं  ।

आरबी कटुवाल उपमहासचिव प्याब्सन
यस्ता बिषयको टुङ्गो लगाउने र विद्यार्थी र विद्यालयसँग नेट/इन्टरनेट सम्बन्धिको बिषयमा हेर्न छुट्टै किसिमको इजलास निर्माण गर्न आवश्यक देखेको छु । यस बारेमा गम्भिर ढङ्गले सोच बिचार गर्न जरुरी छ । नेपाल सरकारले पब्जि प्रतिबन्धका केही दिन हामीले राहत महशुष गरेका थियौं तर त्यो कुरा लामो समय रहन सकेन । यसले बिद्यार्थीको मानसिकतामा नकारात्मक असरहरु देखा परिरहेका छन् । यसले हामीलाई चिन्तित बनाइरहेको छ । बच्चाबच्चीहरु ल्यापटप मोबाईल तथा इन्टरनेट एक्सेस हुने उपकरणहरुमा झुम्मिरहेका छन् । पढ्नमा मन नलगाएको जस्तो भईरहेको छ यसलाई समयमा नै रोक्न सकिएन भने यसले भविष्यमा दीर्घकालीन असर पर्ने निश्चित जस्तै छ । अर्को कुरा हामीले भलिवल फुटवल लगायतका खेल खेल्नका लागि उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ ।

अब बिद्यार्थीहरुलाई यस्ता बिषयबाट हटाउनका लागि सिर्जनात्मकता निर्माणमा ब्यापक जोड दिन जरुरी छ । शिक्षण सिकाई क्रियाकलापमा रोमाञ्चक तरिकाले पढाउने, उनीहरुमा इन्टरनेट प्रयोग र दुरुपयोग सम्बन्धी बिषयमा सचेतना जगाउन आवश्यक छ साथै अभिभावकलाई यस बिषयमा ब्यापक शिक्षा दिन जरुरी छ ।

अभिभावकले कस्ता बिषयमा ध्यान दिन जरुरी हन्छ यो बिषयलाई हामीले आगामी दिनमा प्रकाशन गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्