
३१ बैशाख २०७६, इटहरी
स्थानीयको विरोधको बावजुद पनि धरानस्थित विष्णुपादुका क्षेत्रमा रोकिएको कोशी करिडोर २ सय २० केभी प्रसारणलाइन आयोजनाको काम सुचारू भएको छ । जबरजस्ती आयोजना सुचारु हुँदा प्याराग्लाईडिङ व्यवसायीहरु विस्थापित हुनु परेको छ ।
राष्ट्रिय गौरवको आयोजनामा रहेको कोशी करिडोर २ सय २० केभी प्रसारण लाईनले धरान–२० स्थित विष्णुपादुका क्षेत्रलाई प्रभावित गर्ने भन्दै स्थानीयले विगत ४ महिनादेखि अवरोध गरेका थिए । उनीहरुले धरान–१७ स्थित सर्दु खोलाको किनार हुँदै भेडेटारसम्मको क्षेत्रमा बनिने १७ वटा हाईटेन्सन लाईनको टावर निर्माणको काम ठप्प पारेका थिए । प्रसारण लाईनले जनतालाई असर गर्ने भन्दै स्थानान्तरण गर्न माग गरे पनि आयोजनाले जबरजस्ती प्रशारण लाईनको काम अघि बढाएको छ ।
राज्यले विष्णुपादुकालाई कृषि पकेट क्षेत्र घोषणा गरेको छ भने सोही क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको प्याराग्लाईडिङका लागि हवाई मार्गको अनुमती दिएको क्षेत्र पर्छ । उदयपुरको बेलका नगरपालिकाको क्षेत्रदेखि उत्तरी मोरङसम्मको क्षेत्रमा हवाई मार्ग स्वीकृति भएको छ । तर कोशी करिडोरको प्रसारण लाईनले हवाई मार्गलाई नै अवरोध गर्ने भएपछि धरानका प्याराग्लाईडिङ व्यवसायीहरु विस्थापित हुने अवस्था रहेको छ ।





