एयरपोर्ट डिजाइन गर्न कति मुश्किल



३० बैशाख २०७६, काठमाडौं

सन् १९९५ मा फ्रान्सेली मानवशास्त्री मार्क आग्रेले विमानस्थलाई ‘नन प्लेस’ भनेका थिए । मार्कका अनुसार संसारभरीका विमानस्थलको कुनै अलग पहिचान छैन ।

ती हरेक ठाउँ लगभग एकै खालका हुन्छन् । यस्तै जस्तै स्टारबक्स कफी शप वा म्याकडोनाल्ड्सका रेष्टुरेन्ट हुन्छन् । संसारभरी जहाँ जानुस् तपाईंले यी रेष्टुरेन्ट र विमानस्थल एकै किसिमका पाउनुहुन्छ ।

मार्क आग्रेले विमानस्थललाई मेसिन जस्तै भन्छन् । यसको उद्देश्य एउटै छ-एउटा स्थानबाट अर्को स्थानमा सही तरिकाले पुर्याउनु ।

त्यसकारण हरेक विमानस्थल एक विशेष रणनीतिसहित डिजाइन गरिन्छ । यसको पछाडि पूरा मनोविज्ञान हुन्छ ।

जब तपाईं कुनै विमानस्थलमा छिर्नुहुन्छ तपाईं आफ्नो नीजि पहिचान गुमाउनुहुन्छ । त्यसपछि तपाईंको पहिचान सरकारी परिचयपत्र वा अन्य दस्तावेजमा सिमित हुने गर्छ ।

तपाईं जस्तोसुकै सुरक्षा जाँचका लागि सहमती दिनुहुन्छ । हुन त तपाईंले अपरिचित स्थितीमा आफ्नो खुसीले यस्तो गर्नुहुन्छ भन्नुहोला ।

विमानस्थलमा जानु र सुरक्षा जाँचबाट गुज्रनु निकै तनावपूर्ण हुन्छ । यतिबेला फ्लाइटका लागि ढिला भयो भने तनावको स्तर थप बढ्ने गर्छ । कहिले सामान हराउँदा र कहिले अन्य कुनै कारणले पनि विमानस्थलको माहौल तनावपूर्ण हुनेगर्छ ।

एयरपोर्टको डिजाइनः

त्यसकारण जब एयरपोर्टको डिजाइन बन्छ तब त्यसको पछाडि एउटा मनोवैज्ञानिकले काम गरेको हुन्छ । जसले तपाईंको स-साना मनोवैज्ञानिक धक्का दिएर सुरक्षा जाँचबाट गुज्रनदेखि किनमेलसम्म प्रेरित गर्दछ ।

कुनै पनि विमानस्थलमा छिरिसकेपछि बाटो खोज्नका लागि स-साना इशारा दिइएका हुन्छन् । जतिसुकै भीड भएपनि मानिसहरु यस्तो बाटो पत्ता लगाएरै छाड्छन् । वरिपरिको माहौलले नै अब कता जाने भनेर तपाईंलाई ज्ञान दिन्छ ।

सिभिल इन्जिनियरिङ कम्पनी ज्याकब्सको एयरपोर्ट प्लानर अलेजान्द्रो प्यूब्ला भन्छन्, ‘विमानस्थलमा तपाईंलाई तस्बिरमार्फत् कता जाने भनेर इशारा गरिन्छ । यसका लागि रङको समेत छनौट गरिन्छ । तपाईं गलत दिशामा जाँदासमेत तपाईंलाई तत्काल थाहा भइहाल्छ । यसका लागि एयरपोर्टको डिजाइन जिम्मेवार हुन्छ ।’

आजकाल विमानस्थलमा सबैभन्दा मुश्किल काम भनेको सुरक्षा जाँचबाट गुज्रनु हो । अमेरिकामा ९-११ हमलापछि संसारभरीका विमानस्थलमा सुरक्षाको विशेष प्रबन्ध मिलाइएको छ । सुरक्षा त्यतिबेला पनि थियो तर यती कडा थिएन ।

प्रमाणित यात्रुमात्रै विमानस्थलभित्र छिर्न सक्छन् । त्यसपछि उनीहरुको टाउकोदेखि खुट्टासम्म जाँच हुन्छ । स्क्यानरबाट यात्रा गर्नुपर्छ । तपाईंको भित्री अंगको समेत अनुसन्धान हुन्छ ।

विमानस्थलभित्र हुने सबै सुरक्षा जाँचबाट गुज्रदैँ गर्दा हरेक यात्री आफसे आफ सुरक्षाकर्मी बन्ने गर्छन् । विमानस्थलको सुरक्षाबारे किताब लेख्र्ने यासल हाल भन्छिन्, ‘हरेक यात्रु ती नागरिक सुरक्षा टिमको हिस्सा बन्ने गर्छन् जो सुरक्षा जाँचको प्रक्रियासँग भली-भाँती परिचित हुन्छन् । ’

हरेक विमानस्थलमा राखिएका ठूल्ठूला बार्डले तपाईंलाई सुरक्षाका लागि जिम्मेवार हुनुपर्ने महसुस गराउँछन् । बोर्डमा लेखिएका हुन्छन् – तपाईं सुरक्षाको अन्तिम मोर्चामा हुनहुन्छ । तपाईंले केही गडबडी देख्नुभयो भने तत्काल बताउनुहोस्, आदि इत्यादि ।

रोचक कुरा के छ भने यी अत्यधिक सुरक्षा व्यवस्था विफल छन् । सन् २०१७ मा अमेरिकाको होमल्याण्ड सेक्युरिटी विभागले यसबारे अनुसन्धान नै र्गयो । उक्त विभागका अधिकारी नक्कली बन्दुक, चक्कु र विस्फोटक लिएर ७० प्रतिशत सुरक्षा जाँचबाट निकै सजिलै पार भए । यद्यपी, यो सन् २०१५ मा ९५ प्रतिशतभन्दा निकै कम थियो तर यसबाट स्पष्ट हुन्छ कि विमानस्थलमा सुरक्षाको व्यवस्था विभिन्न पक्षबाट अझै पनि असफल नै छ ।

विमानस्थलको कडा प्रबन्ध डर देखाउनका लागि होइनः

सुरक्षा मामलाका जानकार ब्रूस श्नायर भन्छन्, ‘आतंकवादका घटना निकै कम हुन्छ । मानिसहरुको सोचभन्दा निकै कम । यसका लागि सही अनुसन्धान, गोप्य जानकारी र आपतकालीन व्यवस्था नै एउटै मात्र विकल्प हो ।’

दुर्भाग्यवश् आतंकवादसँग लड्नका लागि मिलाइएको यो प्रबन्ध सर्वसाधारणले बुझ्दैनन् । न त यी प्रबन्धले जनता सुरक्षित महसुस गर्छन् । त्यसकारण विमानस्थलमा सुरक्षाको अत्यधिक प्रबन्ध मिलाइएको हुन्छ । र हरेक नयाँ घटनासँगै सुरक्षाको नयाँ पत्र जोडिने गर्छ ।

सन् २००१ मा जुत्तामार्फत बिस्फोटक लैजाने कोसिस विफल भएपछि जुत्ता खोलेर जानुपर्ने नियम बनाइयो ।

सन् २००६ मा तरल बिस्फोटक लैजाने कोसिस गरेपछि त्यसपछि कुनै पनि तरल पदार्थ विमानस्थलमा जफत गर्ने गरिन्छ ।

यो प्रबन्ध मानिसहरुलाई सुरक्षाको महसुस गराउनका लागि गरिएपनि वास्तवमा यो खासै प्रभावकारी भने छैन । आतंकवादीले कसरी हमला गर्छन् त्यो कसैलाई पनि थाहा हुँदैन ।

सबै मिलाएर भन्ने हो भने विमानस्थलमा गरिने यो सुरक्षाको प्रबन्ध मानिसहरुलाई डराउनका लागि नभई  पटक-पटक विमानस्थलतर्फ आकर्षित गराउनका लागि हो ।

हरेक यात्रु ग्राहकः 

वास्तवमा विमानस्थलमा आएपछि र सुरक्षा जाँचबाट गुज्रिएपछि हरेक व्यक्ति एक ग्राहक बन्ने गर्छन् । त्यसपछि तपाईं सुरक्षित महसुस गर्नुहुन्छ र तपाईंको तनाव कम हुन्छ ।

आफ्नो सामान पुनः पाइसकेपछि तपाईं एयरपोर्टको त्यो भागमा प्रवेश गर्नुहुन्छ जहाँ पसल हुन्छन् । कुनै पनि विमानस्थलका लागि यो स्थान निकै महत्वपूर्ण हुन्छ । यहाँ तपाईं बसेर सुस्ताउन सक्नुहुन्छ । कफी पिएर मन शान्त बनाउन सक्नुहुन्छ । यसै हिस्सामा रेष्टुरेन्टदेखि पसलसम्म हुन्छन् । अर्थात्, स-सानो ईशारामा तपाईंको दिमागलाई अब सुरक्षा जाँच सिद्धियो, सपिङको बेला भयो भन्ने सन्देश दिइन्छ । यहाँ हरेक यात्रु मूल्यवान ग्राहकमा परिणत हुन्छन् ।

विमानस्थलमा सुरक्षा जाँचको घेरा र गेटको ठिक बीचमा शपिङ एरिया हुन्छ । अर्थात्, हरेक यात्रुले यो पार गर्नैपर्छ ।

थुप्रै विमानस्थलमा पसलको बाटो दाहिने फर्किएको हुन्छ किनभने संसारका धेरैजसो व्यक्ति दाहिने हात नै बढी प्रयोग गर्छन् ।

विमानस्थलमा किनमेललाई जोड दिने कारण पनि छन् । तपाईं विमान यात्रा गर्न सक्नुहुन्छ भने तपाईंको खल्तीमा पैसा छ । तपाईंसँग प्रतिक्षाका लागि समय पनि छ । तपाईं कतै पनि जान पाउनुहुन्नँ । अर्थात् तपाईं बन्धक ग्राहक हो । त्यसो भए तपाईंको खल्तीबाट किन पैसा ननिकाल्ने ? सुरक्षा जाँचबाट गुज्रिएपछि विमानमा सवार हुनुका बीच एक घण्टाको समय हुन्छ । तपाईंको मुड पनि राम्रो हुन्छ । विभिन्न कम्पनीले यसको भरपुर फाइदा उठाउन चाहन्छन् ।

प्युब्ला भन्छन्, ‘लण्डनको गेटविक र हिथ्रो विमानस्थलमा त ‘तपाईंसँग आधा घण्टा, २५ मिनेट भएकाले सपिङ गर्नुहोस्’ समेत भनिन्छ ।’

हालका दिनमा विमानस्थलमा ग्राहकलाई लोभ्याउने सिलसिला यति सफल भएको छ कि एयरपोर्टले विभिन्न नयाँ सुविधा दिन थालेका छन् । सिंगापुरको चांगी एयरपोर्ट र दक्षिण कोरियाको इन्चोन एयरपोर्टमा सिनेमा हल छन् । अमेरिकाको डेनवर विमानस्थलमा स्केटिङ रिंक छन् । स्विडेनको राजधानी स्टकहोमको आरल्याण्डा विमानस्थलमा त विवाहका लागि चर्चसमेत बनाइएको छ ।

भविष्यका विमानस्थल स-साना शहर जस्तै हुनेछन् जहाँ तपाईं केही घण्टादेखि केही दिनसम्म बिताउन सक्नुहुन्छ । एजेन्सी  

प्रतिक्रिया दिनुहोस्