माछाबाट राम्रो आम्दानी भएपछी बाँझो जग्गा पोखरी बनाईदै



२९ बैशाख २०७६, इटहरी

मोरङमा माछा पालन आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । माछाबाट मनग्गे आम्दनी हुन थालेपछि ऐलानी पर्ती छाडिएका र बाँझो जग्गासमेत माछा पोखरीका रुपमा प्रयोग गर्न थालिएको छ । मोरङ कटहरी–१ महेशपुरका किसान देवराज चौधरीले पछिल्लो समय माछा पालनमा हात हालेका छन् ।

नहर किनारको बाँझो छाडिएको पुख्र्यौली जग्गामा पोखरी निर्माण गरेर उनले माछा पालन थालेका हुन् । जग्गाकै माथिबाट हाइटेन्सन बिजुलीको तार गएका कारण घडेरीको रुपमा विक्री नहुने र खेती गर्न समेत अपायक पर्ने भएपछि उनले सो ठाउँमा पोखरी खनेर माछा पालन सुरु गरेका हुन् । दुई वर्ष अघि बाँझो र खाडल परेको जग्गामा पोखरी निर्माण गरेर माछा पालन सुरु गरेका उनले दुई लट माछा विक्री गरिसकेका छन् ।

माछा विक्रीबाट प्राप्त आम्दनीबाट उनी सन्तुष्ट छन् । अन्य खेतीमा पटकपटक लगानी गर्नुपर्ने र आम्दनी कम हुने तर माछा खेतीमा त्यो भन्दा कम लगानीमै बढी आम्दानी हुने भएपछि आफुले माछा पालन सुरु गरेको चौधरीले बताएका छन् । माछा पालनका लागि सरकारी अनुदान समेत पाइने भएका कारण अन्य कृषिकर्म भन्दा माछा पालन बढी फलदायी रहेको उनको भनाइ छ ।

पछिल्लो समय नेपाल सरकारले भारतबाट आउने माछाको आयातामा रोक लगाएपछि कृषक थप लाभान्वित हुन थाललेको किसानको भनाई छ । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मोरङको कटहरी, धनपालथान र रंगेली नगरपालिकालाई मत्यजोनको रुपमा संरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्