
२९ बैशाख २०७६, इटहरी
प्रदेश नम्वर १ का विभिन्न भाषाभाषीका गीत संगीतहरु समावेश गरेर सुनसरीको इटहरीमा बहुभाषिक संगीत उत्सव आयोजना गरिएको छ । जातजाति र भाषाभाषीका परम्परागत शैलीका गित संगितको संरक्षण तथा बहुभाषिक गीत संगीतको विकासमा टेवा पुर्याउने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा संगीत साधना प्रतिष्ठान नेपालले बहुभाषिक संगीत उत्सवको आयोजना गरेका हुन् ।
बहुभाषिक संगीत उत्सवमा प्रदेश नम्वर १ मा बसोवास गर्ने जातजातिले बोल्ने विभिन्न भाषामा १६ जना गायक गायिकाहरुले गीत संगीत प्रस्तुत गरेका थिए । बहुभाषिक संगीत उत्सवमा उराँव, मुस्लिम, आठपहरिया राई, थारु, मगर, लिम्बु, चाम्लिङ्ग, दुमी, राजवंशी, धिमाल, शेर्पा, वान्तवा, सुनुवार, नेपाली भाषाका गीत संगीत समावेश रहेका थिए ।
प्रत्यक्ष गायक तथा संगीत समावेश रहेका कार्यक्रममा अग्रज संगीतकार शिलाबहादुर मोक्तान लगायतका संगीतकारहरुले संगीत दिएका थिए । कार्यक्रममा गायक गायिकाहरु मात्र नभएर दर्शकहरुको सहभागीता समेत समावेशी रुपमा रहेको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य अशोक कुमार राईको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व सदस्य राम धामी लगायतका पुर्वका कला, गीत, संगीत क्षेत्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।





