
‘आफ्नै पार्टी सरकारमा हुँदा पनि बुवाको हत्याबारे कुनै चासो दिईएन्’
२९ बैशाख २०७६, काठमाडौं
सुर्खेत विरेन्द्रनगर–१ का ४५ वर्षीया चन्द्र प्रसाद आचार्यको हत्या भएको भन्दै उनका छोराछोरी न्याय माग्दै मिडियामा आएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा छोरा तिलकराज आचार्य र छोरी संगिता आचार्यले पत्रकार सम्मेलन गरेर आफ्नो बुवाको हत्या नै भएको आरोप लगाएका हुन् ।
उनीहरुका अनुसार मिति २०७५ साल फाल्गुन १८ गते शनिबारका दिन रातको १०ः०३ मा कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिका वडा नं. ६ (विरेन्द्रनगर मुख्य बजार) बुद्धपथमा रहस्यमय तरिकाले एकदमै निर्मम्ता पूर्वक हत्या गरि शव बाटोमा फालिएको अवस्थामा नेपाल प्रहरीका इन्स्पेक्टर डिल्लीराज सापकोटाको कमाण्डमा हिंडेको मोवाइल टोलीले फेला पारेको बताईएको थियो ।
उनीहरुले आफ्नो बुवाको निर्ममतापूर्वक हत्या गरिएको भन्दै सरकारसँग सत्य तथ्य छानबिन गरि आफूहरुलाई न्याय दिनुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै छोरी संगिताले भनिन्,‘बुवाको शवको अवस्था र पोष्टमार्टम रिपोर्ट हेर्दा यो हत्या नै भएको हाम्रो दाबी छ । त्यसैले सरकारले यसबारेमा छानबिन गर्नुपर्छ । आज ७१ दिन भैसक्यो, तर अहिलेसम्म यसबारेमा प्रहरी प्रशासनले सत्य तथ्य बाहिर ल्याउन नसक्नु एकदमै दुःखदायी कुरा हो ।’
आफ्नो बुवाको विरेन्द्रनगरको बिच बजार बुद्धपथमा नै हत्या हुँदासमेत प्रहरी प्रशासन अनुशन्धानमा चुक्नु र अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नुले आफूहरुलाई पीडामाथि थप पीडा थपिएको उनले गुनासो पोखिन् ।
उनले थप भनिन्,‘मैले मरिसकेको बुवालाई फर्काईदेउ भनेर कसैलाई पनि भनेको छैन, तर न्याय देउ भनिरहँदापनि आजसम्म न्याय नपाउँदा बुवा गुमाउनुकोभन्दापनि न्याय नपाउनुको पीडा ठूलो बनेको छ । हाम्रो परिवार यतिखेर विक्षिप्त छ ।’
मृत्तकका छोरा तिलकराज आचार्यले पनि आफ्नो बुवाको हत्या नै भएको दाबी गरे । सरकारले हत्यामा संलग्न दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरि कारवाही गर्नुपर्ने उनको माग थियो । आफ्नो बुवाको शव फेला परेको ठाउँ प्राईभेट हस्पिटल, नाम चलेका होटल र विभिन्न सञ्चार माध्यमहरु भएको ठाउँ भएको सुनाउँदै बुवाको व्यस्त बजारमा हत्या हुँदापनि कुनैपनि स्थानीय मिडियाले समाचार नबनाएकोमा आफूहरु थप संशकित भएको उनले स्पष्ट पारे ।
छोरा र छोरीका अनुसार मृत्तक तत्कालिन नेकपा एमालेमा आवद्ध थिए । अहिले सत्ताको नेतृत्व गरिरहेको नेकपामा आवद्ध सदस्य अर्थात भोटर हुँदापनि यो हत्याको विषयमा पार्टी नेतृत्वले यसबारेमा अहिलेसम्म कुनै चासो नदिएको उनीहरुको गुनासो छ । उनीहरुले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘मृत्तकको शरिरमाथि घाटमै पार्टीको झण्डा ओढाएर उहाँको बारेमा व्याख्या र विश्लेषण गरि एउटा शवमाथि राजनीति गर्ने स्थानीय नेताहरुसमेत ११ दिन पछि एकपटक पनि न त पीडित परिवारलाई भेट्न नै जानुभयो न त जिल्ला प्रहरी कार्यालयमा फलोअपको लागि नै जानुभयो । आफ्नै दुई तिहाईको सरकार हुँदासमेत उहाँहरु आफ्नो पार्टीको कार्यकर्ता माथि भएको अन्यायका विरुद्ध २ शब्द बोल्नुहुन्न भने उहाँहरुबाट हामीले के न्यायको आश गर्ने ?’
उक्त घट्नाको अनुशन्धाननको क्रममा सुरुवाती चरणदेखि नै प्रहरी प्रशासनले त्रुटिपूर्ण तवरले अनुशन्धान गरेको पनि उनीहरुको आरोप छ ।





