जनकपुरमा १५ दिने ‘जानकी नवमी’ महोत्सव धुमधामका साथ मनाइँदै



२७ बैशाख २०७६, काठमाडौं

रामायणकी आर्दश नारी सीताको जन्मदिनको अवसर पारेर जनकपुरधाममा जानकी नवमी  तथा जन्म महोत्सव मनाइँदै छ ।

रामायणकालमा सीताको जन्म राजा जनकले हलो जोत्दा भएको धार्मिक मान्यताअनुसार प्रत्येक मनाउँदै आएको जानकी नवमी यो वर्ष पनि मनाउन लागिएको हो । विगतका वर्षहरुमा औपचारिकतामा मात्र सिमित हुने जानकी नवमी यस वर्ष धुमधामसँग मनाइँदै छ ।

जानकरी नवमीको अवसरमा प्रदेश नं. २ सरकारले सार्वजनिक बिदा घोषणा समेत गरेको छ । जानकी मन्दिरले जन्म महोत्सव १५ दिवसीय कार्यक्रम गरेर मनाइरहेको छ ।

बैशाख शुक्लपक्ष नवमी तिथिका दिन जन्म भएको मान्यताअनुसार प्रत्येक वर्ष जानकी जन्मोत्सव भव्यरुपमा जनकपुरधाममा मनाउने गरिएको छ ।

महोत्सवमा नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट आएका श्रद्धालु भक्तजनहरुले जनकपुरधामको पवित्र नदी तथा तलाउहरुमा स्नानगरी पूजापाठ गरेका छन् ।

जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर , लक्ष्मण  मन्दिरलगायतका मन्दिरहरुमा भीड लागेको छ । सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नव दुलहीझैँ सिँगारिएको छ ।

२२ गतेबाट सुरु भएको जानकी महोत्सव विभिन्न कार्यक्रहरुसँगै अगामी जेठ ४ गते जानकी मन्दिरको गर्भगृहमा जानकी जन्म छठिहार समारोह प्रश्चात विधिगत रुपमा सम्पन्न गरिनेछ

प्रतिक्रिया दिनुहोस्