प्रेम राई परिक्षितका कविताहरु…



२५ बैशाख २०७६, काठमाडौं

छेवैको दरबार हाईस्कुल
छठपर्वमा रानि पोखरी धपक्क बल्दा
सकेको ईर्ष्या गरिरहन्थ्यो
खचाखच भैइरहने भोटाहिटि
रानी पोखरीको बारभरि
अटाइ नअटाई भीड भरिरहन्थ्यो
रानी पोखरीको अदभुत कला देखेर
छेवैको ललितकला क्याम्पस मदहोस हुन्थ्यो

तर आजकाल रानी पोखरी
एकादेशको सुनकेशरी कथा भएकोछ
न आजकल घण्टाघरको घण्टिमा
तरङगहरुमा नाच्छ रानिपोखरी
प्रेमिलिन्छन न सुन्दर राजहन्सहरु
रानीपोखरीको कन्चन अवयवहरुमा
न त्रीचन्द्र कलेजको ईतिहास
पौडी खेल्छ शान्त स्निग्ध तलाउमा

प्रेम राई परिक्षित

प्रस्तुत कविताका पङक्तीहरुले आजको वास्तविकता बोलेका छन् । इतिहासको विरासत भित्र धरमराइरहेको र जीवन मरणको दोसाधमा आफ्नो अस्तित्वको खोजि गरिरहेको रानी पोखरिको आजको बास्तविकता पनि यही हो । सुन्दर निलो पोखरी उदाङगो मरुभुमिमा परिणत भए पछि यथार्थको धरातलमा लेखिएको उक्त कविताले आजको  सामाजिक प्रतिविम्बको विषय वस्तु पनि उजागर गर्छ ।

साहित्य हरेक भाषाहरुको मुटु बराबर हो बिना साहित्य भाषा समृद्ध हुन सक्दैन । जहा साहित्य लेखिन्छ त्यहा भाषाको उच्च विकास भएकै हुन्छ । श्रष्टाहरुले साहित्य लेख्ने क्रममा माया पिरति लेख्छन समाज लेख्छन अनि देश लेख्छन देशको माटो लेख्छन, माटोको सुगन्ध लेख्छन र समाजको यथार्थ चित्रण गर्छन जसले समाजलाई आयामिक परिवर्तन गर्न सहयोग पुगिरहेको हुन्छ ।

लामो समय देखि शिक्षा क्षेत्रमा कृयाशिल कवि तथा सात्यिकार प्रेम राई परिक्षित जसले साहित्यमा आफ्नो सशक्त कलम चलाइरहनु भएको छ । कबिता मार्फत समाज,देश, सामाजिक बिकृति बिसङगतिलाई प्रहार गरिरहनु भएको छ  ।

कबिताका पङक्तीहरुमा चेतनाको राको बालेर उहाका कबिताहरु बाचित छन । कविताहरुमा  माया प्रेम,देश प्रेमको राग पाइन्छ । यति शब्द मात्र यहा राख्दा साहित्यकार परिक्षित प्रति अन्याय हुन सक्छ यद्यपि उहाका रचना प्रकाशनका साथै नेपालि लेखक तथा सात्यिकार प्रतिको सम्मानमा हामिले बिभिन्न रचनाहरु लिएर आउने द्येयकना साथ कवि तथा साहित्यकार प्रेम राईका कवितालाई यहा प्रकाशन गर्ने जमर्को गरेका छौं ।

नेपाली वाङमयका चम्किला नक्षत्र सात्यिका मुर्धन्य प्रतिभा कवि तथा सात्यिकार प्रेम राई परिक्षित ज्यूको दश वटा कविताहरु प्रकाशन गरिएको छ ।

रानी पोखरी

घण्टाघरका
सुमधुर घण्टिहरुले
रानीपोखरी ब्युझाईरहन्थ्यो
स्निग्ध तरङ्गहरुमा डल्फिन झैं
घन्टिका तालहरुमा
रङ्गिन माछाहरु लोक भाकामा
गरिरहन्थे कला प्रदर्शन

छेवैमा त्रीचन्द्र कलेज
आफ्नो गौरवपूर्ण ईतिहास
रात नपरेसम्म प्रतिबिम्बित गरिरहन्थ्यो
रानी पोखरीको सौम्य तरङ्गहरुमा
लक्ष्मी पूजाको झिलिमिली बत्तिहरु
बालिरहन्थ्यो रानी पोखरी
प्रताप मल्ल छेवैमा बसेर गदगदिरहन्थे

राजहन्सका प्रेमिल भाले पोथी
बालगोपाल महादेव परिक्रमा गरिरहन्थे
डुबुल्किन्थे र प्रेमिल सपनाहरु साटिरहन्थे
च्वाप च्वाप म्वाई खाईरहन्थे
पानीमा चम्चाकार पहेला ठुँडहरु डुबाएर
उत्तर तर्फ बिश्वज्योती सिनेमा हल
“द बङ्ग“ हाउसफुल चलचित्र हेर्न छाडेर
रानी पोखरीलाई एक निमेषले हेरिरहन्थ्यो

छेवैको दरबार हाईस्कुल
छठपर्वमा रानि पोखरी धपक्क बल्दा
सकेको ईर्ष्या गरिरहन्थ्यो
खचाखच भैइरहने भोटाहिटि
रानी पोखरीको बारभरि
अटाइ नअटाई भीड भरिरहन्थ्यो
रानी पोखरीको अदभुत कला देखेर
छेवैको ललितकला क्याम्पस मदहोस हुन्थ्यो

तर आजकाल रानी पोखरी
एकादेशको सुनकेशरी कथा भएकोछ
न आजकल घण्टाघरको घण्टिमा
तरङगहरुमा नाच्छ रानिपोखरी
प्रेमिलिन्छन न सुन्दर राजहन्सहरु
रानीपोखरीको कन्चन अवयवहरुमा
न त्रीचन्द्र कलेजको ईतिहास
पौडी खेल्छ शान्त स्निग्ध तलाउमा
खिसिटिउरी गरिरहन्छ
हाउसफुल बिस्वज्योती सिनेमाहल

इतिहास मेटेर रानी पोखरी
हिलो छ्यापिरहेछ
दिनदहाडै बलत्कृत रानिपोखरी
माईति नेपालको साहारा खोजिरहेछ
अपहरित रानी पोखरी
छेवैको प्रताप मल्लको शालिकलाई
हार गुहार मागिरहेछ
वस्त्रहरणमा परेकी द्रौपदिझैं
नाङ्गिएको रानी पोखरी
आज एकाएक खरानी पोखरी भएकोछ ।

सधै बादको लडाई लड्ने शान्तिबाटिका
रानी पोखरीको चीरहरणमा
बिरोधको शव्दोचारण सम्म गर्दैन
सन्सद गान्धारी झै आँखामा पट्टि बाधेर
आफैलाई बन्धक बनाईरहन्छ
एउटा ढोका बन्द गर्छ
अर्को लस्कर लिएर खोल्छ
ताल्चा खोल्ने र बन्द गर्ने राजनितिमा
रानी पोखरी हराएर आफ्नो पहिचान
आज हिले पोखरी भएकोछ
अनि धुलोपोखरी भएकोछ

बीसौ हजार मान्छे
टुडिखेलमा उभाएर
नेपालको झण्डा बनाउने युवाहरु
एकदिन रानी पोखरीमा उभ्याइदिए
नेपाल बन्द गर्ने मशाल जुलुसहरु
रानी पोखरीको लागि एकदिन
सिंहदरबार घेरिदिए
शान्तिबाटिकाको स्वरहरुले
कुम्भकर्ण महानगरपालिका झक्झकाईदिए
फेरि पनि रानिपोखरीले
इतिहासको गीत गाउने थियो
तरङ्गहरु परपर फैलाउदै
सेता राजाहंसहरुको प्रेमिल हनिमूनसङ्गै
फेरि जिवन्त मुस्कुराउने थियो
कान्तिपुरीको पहिचान
रानी पोखरी……!!

अमर गुलाबहरु

अनगिन्ती
पीडाहरुको घेराभित्र
सुरक्षित तिमी
लाखौं प्रेमील मनहरुको
स्पर्श सङ्गै
आफ्नो अस्तित्व
हजारौं पटक हत्या गर्ने
तिमी
कोमल
स्वार्थहिन
अमर गुलाबहरु
तिम्रो कुनै उपमा हुन्छ भने
त्यो दुई मुटु जोड्ने
बलीदान हो!!!

नियत्ति भित्र

हिड्नुको नियत्तिमा म
फगत पाईला सारिरहेको छु
बाच्नुको नियत्तिमा म
दुई सर्को श्वास फेरिरहेको छु

भुगोलको रेखा झैं
नशाहरु सङ्गै कुदिरहेको छु
मानौ म पत्रकार
समाचारको खोजिमा
शरीरका भूगोलहरुमा
आफै हबल बनेर अन्वेषण गरिरहेछु

भूगोलकै सम्म फाँटहरुमा
गन्तब्यहीन यात्रामा निस्किएको छु
सायद, म आफै भूगोल हूँ
घुम्नुपर्ने बाध्यतामा
बिना कक्ष फनफनी घुमिरहेको छु

भूगोल भित्र
आफुलाई बारबार खोजिरहेछु
तर त्यहि भूगोल भित्र आफुलाई नभेटेर
खेलौना ग्लोब झैं
कठपुतली भै इसारामा नाचिरहेको छु

त्यसैले ,
म भूगोल भित्रको गोल हूँ
गोल झै गुडिरहेको छु
जसले जता हान्यो त्यतै उडिरहेको छु

म हावा बिनाको गोल
आफै भित्र भद्रगोल छु
उफ्रदा उफ्रदै सकिनेछ मेरो अस्तित्व
त्यसैले,अस्तित्वकै निम्ति
घरि यता घरि उता उफ्रीरहेको छु
कहिलेकाहि गोलरक्षकलाई उछिन्दै
जालोभित्र थुप्रीएको छु
चौरहरुमा अरुका लागि उफ्रीएकोछु
हावा खुस्केर बारबार कुप्रिएकोछु

न म प्रभावित छु
आईन्स्टाइनको चालको नियमले
न म बिक्रित बिचलन पल्टाउन सक्छु
आर्कि्मिडिजको लिभरले उधिनेर
फगत उफारिरहेछन मलाई उनिहरु
उफ्रिरहेछु म पनि
न कुनै दिशा
न कुनै गन्तव्य
न कुनै सिमा
न कुनै उद्देश्य
बस् उनिहरु उफार्नुमा गौरव गर्छन
अनि म पनि उफारिनुमा
आफ्नो सफलता अनुभूत गर्छु!!

मन अनि चरा

तिमी पखेटा फिजाएर
तल माथि अनि माथि तल गर्दै
आकाश भरि फैलिन्छौ
र मलाई सोच्न बाध्य पार्छौ

म पटक्क सक्तिन
नियन्त्रण गर्न आफुलाई
अनि खोलिदिन्छु पाखण्डी ढोकाहरु
फुरुरुरु उड्छन् मनहरु
पिन्जडाको सुगा झैं
स्वतन्त्रतताको श्वास फेर्दै
तिमी भन्दा माथि माथि
अनि तिमी भन्दा पर… पर…

मेरो मन तिम्रा ती पखेटा भन्दा
के कम छन् र ?
पलभरमै सन्सार घुमिदिन्छन् ।
घाम जून पलभरमै
परेलीको गोजिभित्र अटाइदिन्छन्
बादल उघारेर चिहाइरहन्छन्
अनि छितिज नाघेर उडिरहन्छन

म आफै दङ्ग हुन्छु
आफ्नै क्षमता प्रति
मलाई तिमी जस्तै हुनु छैन
तिमीभन्दा अब्बल हुनु छ मैले
तिमी सिमिततामा बाधिन्छौ
र म अनन्त उडिरहन्छु
तिमी आहाराको खोजिमा तलासिन्छौ
र म साङ्ग्रीलाको खोजिमा आकासिन्छु

नियन्त्रण गर्न सक्छौ तिमी
तिम्रा ती पखेटाका उडानहरु
तर,थाम्न सक्तिन म
खाँदिएका जिजिबिषाहरु
मेरा गतिशील मनका उडानहरु
एकपछिअर्को गर्दै उडिरहन्छन्
कर्याङ्कुरुङलाई पछि पार्दै
जो मनकै राडर
नियन्त्रण गर्न नसकेर अवाक छन्
बस्
यति फरक छ तिमी र म मा
अनि यति फरक छ
तिम्रो र मेरो उडानमा !

गुगल बर्ष

साथी शहरमा
नयाँ बर्ष हैन
आज गुगलवर्ष मनाइदैछ
ग्राफिक डिजाईनका
सुन्दर कलाहरुले
फेसबुकका भित्ताहरु
बिहानैदेखि रङ्गाइदैछ
अनलाईनका
मनोहर जिफ जिफि र स्टिकरहरुले
म्यासेन्जरका पानाहरु सजाइदैछ
लाग्छ साथी
आज नयाँ बर्ष हैन
गुगल बर्ष मनाइदैछ ।

थाह छैन साथी
मान्छेको दैनिकी बदलिन्छ बदलिदैन ?
यी औपचारिकताका
शुभकामनाहरुले
मनको बिकारहरु बग्छ कि बग्दैन ?
यी रङ्गिन स्टिकरहरुले
जे होस
मैले नि गुगल सर्च गर्दै
तिमीलाई शुभकामनाको
एउटा स्टिकर पोष्ट्याई दिएँ
मलाई थाह छैन
तिम्रो प्रतिक्रिया के हुनेछ
बस् ,मैले नि सन्स्कृती पछ्याई दिएँ ।

हेर्नुछ अर्को वर्ष
मेरो शुभकामनाको प्रगती तिमीमा
आफ्नै आँखा अगाडि
रुपान्तरित तिम्रा दैनिकीहरु
अनुभूत गर्नुछ मैले
तिम्रो
हिजो
आज
अनि भोलि
मेरो शुभकामनाका स्टिकर जस्तै
एप्सको भर्सन जस्तै
परिबर्तित हुन्छ हुदैन ?
मेरो गुगलका शुभकामनाले
तिम्रो जीवनको तात्विक्तामा
थोरै अन्तर पर्छ पर्दैन ?

जे होस्
नव बर्षको दिन
गोश्वारा हुलाक बन्द छ आज
तिमीलाई चिठी पठाउन सकिन
अरुको सिको गर्दै
जानीनजानी एउटा स्टिकर
गुगल दाइको हातमा
थमाईदिएको छु
शुभकामना छ तिमीलाई
नवबर्षको !
पाए पछि मलाई नि
गुगल दाईको हात लगाईदिनु
तिम्रा शुभकामनाहरु ।

साथी
हुलाक भए पैसा लाग्थ्यो
तर गुगल दाई
धेरै मायालु हुनुहुन्छ
सबै काम गर्दिनु हुन्छ बिना पैसा
बस्
मात्र पन्ध्र सोह्र हजारको
मोबाईल र इन्टर्नेट जोहो गर
यति भए
हाम्रो नवबर्ष अरुको जस्तै
शानदार हुनेछ
हाम्रो शीर ठाडो भएर बाच्नेछ
जोरिपारिको अगाडि !!

केचनाको उचाई

सगरमाथाको गन्तव्य
आधि बाटोमा यात्रा बिसर्जन
एउटा अपुरो अनि असफल यात्रा
दोष लिएर बाच्नु छैन मलाई
होचै सहि बरु सिङ्गो केचना भएर
ठिङ्ग उभिनु फरक पहिचान
सफलताको गिनिज बुक भित्र
लिपिबद्ध गौरवपूर्ण पानाहरु बोकेर

सबै होचो कहाँ हेपिन्छ र ?
सबै होचो ढिस्को मात्र कहाँ हुन्छ र ?
त्यही होचो भित्र
म बिष्णुको बामन अवतार भेट्छु
त्यही होचो भित्र
मलाला होचै भएर अग्लिन्छिन कताहो कता.. ?
र त्यही होचो भित्र
म अरुण उपत्यकाको बिशालता अनुभूत गर्छु

त्यसैले,
उचाई होचोमा पनि हुन्छ
बस् त्यसमा गहिराई हुनुपर्छ
उचाई गहिराईमा पनि हुन्छ
बस् गहिरिनु जान्नु पर्छ
उचाई पोकली जस्तै तल झर्नुमा पनि हुन्छ
बस् मान्छेको मन जित्नुपर्छ

म आज त्यही सन्सारले पढ्ने
होचो केचनाकलन बन्ने यात्रामा
गोक्यो आधार शिविर छाडेर
नाम्चे बजार हुँदै
तल…तल…तल… ओर्लिरहेछु
तल…तल…तल… गहिरीरहेछु
उचाईको खोजीमा…..!!

शब्द वर्णन
केचना झापा जिल्लामा अवस्थित नेपालको सबैभन्दा होचो
स्थान जुन समुद्र सतहबाट ७० मिटर उचाईमा छ।
पोकली ओखलढुङ्गा जिल्लामा रहेको नेपालको सबैभन्दा
लामो झरना

।।। प्रयोग ।।।

तिमीले बोलेका
मिठा नमिठा
हर शब्दहरुलाई
मैले आफ्नै सम्झी
ओँठभरी बोल्ने कोसिस गरेँ
तिम्रा हर निर्देशनहरुलाई
मेरो कर्म हो भनेर
आँखा चिम्लेर समर्थन गरेँ

तिम्रा हर उपेच्छाहरुलाई
तिमी आफ्नै हौ भनेर
मुटु मिचेर बिर्र्सीिदएँ
तिमी हिड्नका लागि मैले
मेरा बाटाहरु तिमिलाई
निर्वाध छाडिदिएँ
तिमी तिर्खाएका बेला
मैले आफ्नो तिर्खा बिर्सिएर
मेरो कुवा तिमिलाई सुम्पिदिएँ

तर,जब म आफ्नो शब्दहरु
आफै बोल्न कोशिश गर्छु
जब म तिम्रो हर निर्देशन
आँखा चिम्लेर समर्थन गर्न सक्तिन
जब म सहन सक्तिन तिम्रा उपेच्छाहरु
जब म मेरा बाटाहरुमा
जानी नजानी आफै हिड्न खोज्छु
जब म मेरो कुवाको पानीले
आफु सिन्चित हुने प्रयत्न गर्छु
अनि हुन्छु म तिम्रा लागि
कपटी
स्वार्थी
मतलबी
अनि सङ्कुचित !

जब मलाई तिम्रो साथको जरुरी हुन्छ
जब मलाई तिम्रो बलियो हातको
जरुरी हुन्छ
तब तिमी सबै बिर्सन्छौ तिमी प्रतिको
मेरो लगाब तृष्णा उद्वेलन अनि समर्पण
अनि बर्षिन्छ लगातार म माथि
तिम्रा ती तीखा आरोपका बाणहरु
र हुन्छ तिम्रालागि
मेरो सफेद मन अनि परेवी सोँचहरु
सङ्किर्ण
प्रायोजित
नियोजित
अनि बिखण्डित !
आहा, कति प्रगाढ हाम्रो सम्बन्ध !!

जीवनको रङ्ग

जीवनको
रङ्ग बदल्न खोज्छु
जीवनले फेरि पनि
आफैलाई रङ्ग्याईदिन्छ
आफ्नै रङ्गहरुले
पोतिदिन्छ लतपत
बेढङ्गका रङहरुले
मन नपरे पनि स्विकारिरहन्छु
जीवनका रङ्गहरु
मन नपरेको कपडाको
रङ्ग अनि बुट्टाहरु
स्वीकार्नु अनि अनुभूत गर्नु
पनि त जीवनको सुन्दरता रहेछ!

हिडाउन खोज्छु
जीवनलाई आफ्नै गोरेटोहरुमा
तर जीवन आफ्नै बाटोमा
एकोहोरो हिडिरहन्छ
र मलाई घिसारी रहन्छ
पछ्याउनुको बिकल्प छैन मलाई
घिस्रनुको बिकल्प छैन मलाई
बिकल्पहिन जिन्दगी
म घिस्रीरहन्छु एकोहोरो
एक ठाउँमा बस्नु भन्दा
सकिनसकी घिस्रदै दूरीहरु छिचोल्नु
पनि त जीवनको जिवन्तता रहेछ!

खुल्ला आकाश
अनि फराकिलो बाटो
एक्लोपनले सताई रहन्छ
साँगुरा गल्लीहरुमा
डरले डेरा जमाई रहन्छ
सङ्घर्षमा होमिन्छु
तर फेरि पनि जिन्दगी
म माथी षडयन्त्र बुनिरहन्छ
फसाईरहन्छ मलाई
आफ्नो माकुरी जालहरुमा
यो अन्तर सङ्घर्ष
पनि त आयाम रहेछ जीवनको!

म समर्पणको भाषा बुझ्छु
तर आत्मसमर्पण बुझ्दिन
लडाई चलिरहेछ
अन्तिम लडाई अस्तित्वको
कि म आफ्नै रङ्गहरुमा
जीवनको रङ्गहरु मिसाउन सकूँ
आफ्नै बाटाहरुमा
जीवनलाई डोरिन बाध्य पारूँ
जीवनको उचाईलाई
बुझाईका गहिराईहरुले नाप्न सकूँ
अनि जीवनको सुन्दरता
आफ्नै हातहरुले अनुभूत गर्न सिकूँ
आफ्नै मनले स्पर्श गर्न सिकूँ!!

मेरो कविता अनि देश

मेरो कविता जस्तै
आज देश बोलेको भए
मेरो कविता जस्तै
आज देश बाँचेको भए
सायद, मेरो देश मेरो कविता जस्तै
आत्माबलका दुई खुट्टा टेकेर
स्वाभिमान उचाल्ने थियो

मेरो कविता जस्तै
देश सुन्दर बिम्बहरुले कुँदिएको भए
मेरो निरासाको
सुख्खा मरुभूमीहरुमा
सुन्दर सम्भावनाहरु फुल्ने थियो
मेरो छोराको जिज्ञासा भरि
भबिष्यका रङ्गिबिरङ्गी
ईन्द्रेणिहरु टाङ्ने थियो
हजुरबा र हजुरआमाको चाउरिएका
अनुहारभरि अनगिन्ती लालिमा कोर्ने थियो

किनभने
लोलोपोतो जान्दैन
मेरो शान्त स्निग्ध कविता
चाकडी र चाप्लुसी मान्दैन
मेरो बोधगम्य कविता
न घुस खान्छ
न नाताबाद मान्छ
न कृपाबादको पुच्छर समाउँछ
आकाश जस्तै खुल्ला छाती बोकेर
सधै घाम जून र ताराहरु
उमारिरहन्छ मेरा कविताहरु

मेरो सदाचारी बेदाग कविता
जान्दछ त केवल एक आदर्श देश
जहाँ शिशिरमा वसन्त ढकमक्क फुलोस्
जहाँ साच्चिकै म बाँचेको
एउटा आभास होस्
र त्यही सदैब अभ्यास होस्
र देश रातहरुबाट आजाद होस्
र देश मेरो कविता जस्तै
सधै सधै र फेरि सधै आवाद होस् !

काँडा

अनाहकमा कहिले घोचेको छु र ?
मैले तिमिलाई बिनासित्तै
तिम्रो खुसी कहिले खोसेको छु र ?
मैले तिम्रा लक्षहरुमा
कहिले रोकेको छु र ?

तिमिले मेरो झाङहरुमा
कुनै प्रवाह नगरी
आफ्नो खुसिहरु खोजिरहँदा
तिमीले मेरो मौनता माथि
निरन्तर प्रहार गरिरहँदा
तिमीले मेरा आस्था माथि
निरन्तर आँखा गाडिरहँदा
तिम्रो त्यो कालो नङ्ग्राहरुमा
चुपचाप मेरै अघि मेरा फूलहरु
बलात्कृत भएको म कहाँ देख्न सक्छु र ?
तिम्रा हतियारहरुले
मेरा झाङ्हरु रेटिरेटी हत्या भएको
म कसरी सहन सक्छु र ?

तिमीले
मेरा फूलहरुको
जताभाबी अश्मिता लुटिरहँदा
यी काँडाहरुको कुनै मूल्य छैनभनी
मेरो मानमर्दन गरिरहँदा
अनि मेरा हाँगाहरु लतारीरहँदा
म रमिते बनेर टुलुटुलु हेरिरहन कहाँ सक्छु र ?
म तिम्रो प्रतिकार नगरि रहन
म कहाँ सक्छु र ?
तिम्रो अघि मेरो स्वाभिमान
आत्मसमर्पण गर्न कहाँमान्छ र ?

त्यसैले ,
मेरो मौनता भङ्ग गरिरहने
तिम्रो एकलबादी सोच विरुद्ध
मेरो अस्तित्व रक्षाका लागि
अझ तीखो भएर
तिम्रो आक्रमण अनि अतिक्रमण विरुद्ध
म आक्रोश पोखिरहन्छु
अवरोध गरिरहन्छु ,बिद्रोह गरिरहन्छु !

प्रतिक्रिया दिनुहोस्