
२४ बैशाख २०७६, काठमाडौं
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन नागराज शंकरमूर्ति एयरबस ३२० न्यारोबडी जहाजभित्र ककपिटमा निदाएका छन् ।
काठमाडौंबाट दुबई उडेका बेला नागराजले को–पाइलटको भरमा विमान छाडेर चालक दलका सदस्यसहित १६५ जनालाई छाडेर आफू मस्त निदाए ।
आफूले लगाउने टोपी भित्तामा झुण्ड्याएर घाँटीमा सिरानी अड्डाएर नेपाल वायु सेवा निगमका पाइलट ककपिटभित्रै निदाइरहेका छन् । घर वा होटलभित्र निदाएको भए त ठीकै थियो तर यी पाइलट हवाइजहाज उडाइरहेका बेला विमानभित्रै निदाए ।
पाईलट नागराज नेपाल एयरलाइन्समा आउनुभन्दा अघि हिमालयन एयरलाइन्समा कार्यरत थिए । हिमालयन एयरलाइन्समा पनि उनी त्यस्तै गर्दथे । त्यसैले सुरक्षामा संवेदनशील नदेखिएको भन्दै हिमालयन एयरलाइन्सले उनलाई बर्खास्त गरेको थियो । त्यसपछि उनी नेपाल एयरलाइन्समा आएका हुन् । आफूलाई निष्काशन गरेकोमा हिमालय एयरलाइन्सविरुद्ध उनले अदालतमा मुद्दासमेत हालेका थिए । नागराज भारतीय नागरिक हुन् ।
हालै गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै वरिष्ठ पाइलट विजय लामालाई निगम व्यवस्थापन पक्षले प्रवक्ताबाट हटाएको थियो । तर, ककपिटभित्रै निदाइदिने नागराजलाई भने केही नगरेको भन्दै नेपाल एयरलाइन्सका कर्मचारीहरु रुष्ट छन् ।
नेपाल एयरलाइन्सका एक कर्मचारी भन्छन्, ‘मुख्य पाइलट हुन् नागराज, उनी ककपिटभित्रै चुरोट पिउँछन् । त्यतिमात्रै होइन, हरेक उडानमा निदाइदिन्छन् । यस्तो गम्भीर लापरवाही हुँदा पनि नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्स चुप लागेर बस्नु आश्चर्यजनक छ ।’
कस्तो अवस्थामा पाइलट निदाउन पाउँछन् ?
कतिपय देशमा पाइलटहरुलाई ककपिटमा सुत्नका लागि अनुमति दिइएको हुन्छ । सामान्यतः लामो उडानमा त्यस्तो गर्ने गरिन्छ, जहाँ ३ या ४ जना पाइलटहरु हुन्छन् । अमेरिकाको सन्दर्भमा कम्तिमा दुईजना पाइलट जागेको अवस्था हुनुपर्छ । त्यो स्थितिमा अन्य एक वा दुईजना पाइलट सुत्न सक्छन् ।
हवाइजहाजको ककपिटभित्रै पाइलट निदाएको विदेशी समाचार त हामीले पढ्दै र सुन्दै आएका हौं, तर यो तस्वीर भने नेपाल एयरलाइन्सको हो ।





