दाइजोको निहुँ : फेसबुकमा स्टाटस पोष्ट गरेको २४ घण्टा नबित्दै घरभित्रै शव



२४ बैशाख २०७६, काठमाडौं

दाइजो नल्याएको निउँमा लामो समयदेखि यातना खेपिरहेकी बुटवल उपमहानगरपालिकाकी २५ वर्षीया लक्ष्मी खत्रीले फेसबुक स्टाटसमा ‘खै कति बेला हुन्छ शरीरको हत्या के थाहा ?’ शव फेला परेको छ ।

बिहीबार साँझ ७ बजेर ३८ मिनेटमा आफ्नो स्टाटस लेखेर विदेशमा रहेका आफ्ना पति अमृत खत्रीलाई ट्याग गरेकी थिईन् भने अर्को दिन बिहान ५ बजे उनको शव फेला पर्यो ।

घरभित्र यातना दिएको अरोपमा उनकी सासूलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ ।  फेसबुक स्टाटस भने अहिले हटाइएको छ ।

लक्ष्मीको मृत्युपछि माइती पक्षले यस घटनामा सासू हरिमाया खत्रीको मात्र संलग्न नभएर नन्दले पनि यातना दिएको आरोप लगाई प्रहरीमा अर्को जाहेरी दिने तयारी गरेका छन् ।

अर्घाखाँची, गोखुङ्गाकी लक्ष्मीको ७ वर्षअघि रूपन्देहीमा विवाह भएको थियो । उनकी एक छोरी छन् भने श्रीमान् वैदेशिक रोजगारीको सिलसिलमा गएका छन् । श्रीमान् नभएको बेला उनको हत्या भएको हो ।

माइती पक्षले सासू, ससुरा र नन्दले यताना दिएको अरोप लाउँदै इलाका प्रहरी कार्यालय बुटवल आएका छन् । उनीहरुले हिजो दिनभर प्रहरी परिसमा थिए । प्रहरीले हत्याको जाहेरी लिन मानेको छैन् । तर यातनाको विषयमा छानविन गर्न सासूलाई नियन्त्रणमा लिएको जनाएको छ ।

छिमेकी भन्छन् : यातना पहिलेदेखि नै दिइन्थ्यो
अघिल्लो दिन बिहान सासूबाट कुटिएर घाइते भएपछि राति १० बजेसम्म घरमा रुवाबासी चलेको र बिहान उक्त घटना भएको छिमेकीले बताएका छन् ।

माइतीपक्षले भने सासू, ससुरा र नन्दले हत्या गरी झुन्डाएका भन्दै प्रहरीमा जाहेरी दिने तयारी गरेका छन् । तर इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लिन मानेको छैन । बिहे गरेको ६ महिनादेखि नै लक्ष्मीले सासूको दुव्र्यवहार भोगेको माइती पक्षले जनाएको छ ।

दाइजो कम ल्याएको भन्दै सासुले कुटपिट गर्दै आए पनि उनले बाहिर नबताएको बुबा डोमबहादुर खत्रीले बताए । उनले भने ‘पटक पटक यातना दिएका थिए । हत्यामा सासू मात्र नभएर नन्द अरूको पनि हात छ, प्रहरीले यसतर्फ ध्यान दिनुपर्छ । हामी अर्को जाहेरी दिने तयारी छौँ ।

सासूको कुटाइबाट घाइते भएकी लक्ष्मीले बिहीबार मात्रै स्थानीय मेडिकलमा उपचार गराएकी थिइन् । उनका आँखामा निलडाम रहेको छिमेकीले बताएका छन् । बिहीबार दिउँसो नै उनले स्थानीय सिर्जनशील आमा समूहका पदाधिकारीलाई भेटेर न्याय दिन माग गर्दै बैठक बस्न आग्रह गरेकी थिइन् ।

‘मलाई सासूले दैनिक पिट्छिन् भन्दै आएकी थिइन्, मैले मिटिङ बसेर वडामा उजुरी दिनुपर्छ भनेकी थिएँ ।’ स्थानीय सत्यवती आमा समूहकी अध्यक्ष कल्पना पौडेलले भनिन् । लक्ष्मीले वर्षाैंदेखि सासूको हिंसा खेप्नुपरेको उनले बताइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले सासूबुहारीबीच झगडा भएको र हत्या गरेर झुन्ड्याएको माइती पक्षको आरोप रहेको जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान अगाडी बढाएको बताए ।

अर्घाखाँचीको गोखुङ्गाका माइती पक्षसहित स्थानीय महिला समूहले हत्या वा दबाबमा  आत्महत्या भएको भन्दै कारबाहीको माग गरेका छन् ।

प्रचलित कानुनअनुसार आत्महत्या गर्न बाध्य पार्नेलाई पाँच वर्षको जेल सजाय र ५० हजार जरिवाना रहेको छ । स्थानीय आमा समूहले प्रहरी कार्यालयमा घर्नासमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्