परराष्ट्रविद् डा. राजन भट्टराईले खोले “मेरो सरकार” को रहस्य (भिडियो सहित)



२२ बैशाख २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टाराईले बूढानीलकण्ठ नगरक्षेत्रका सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले संसदलाई सम्बोधन गर्दा बोलेको मेरो सरकार शब्दको विषयमा प्रष्ट्याएका छन् ।

युवा भेलालाई सम्बोधन गर्दै भने, “सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम निकै राम्रो भएकोले विरोधीले समेत बिरोध गर्ने ठाउँ नपाएकोले महत्वकांक्षी योजना ल्यायो मात्र भन्न थालेका छन् । नीति र कार्यक्रम प्रस्तुत गर्दा राष्ट्राध्यक्षले मेरो सरकार भन्यो कि हाम्रो सरकार भन्यो ! अथवा नेपाल सरकार भन्यो कि भनेन् भन्ने जस्ता अत्यन्त सतही वा देखावटी कुरा गरेर अल्झाउन खोजिएको छ । त्यो कुनै महत्वपूर्ण कुरा होईन । त्यस्ता विषयमा हामी अल्झिनु हुँदैन । त्यसबाट हामी मुक्त हुनुपर्छ ।”

भट्टराईले अझ प्रष्ट भाषामा भने ‘मेरो सरकार’ भन्ने चलन आम रुपमा चलेको बताउँदै आधुनिक राज्य भएपछि यसका आफ्नै मान्यता हुन्छन् । मेरो सरकार भन्नु पनि आधुनिक राज्यको मान्यता हो । हिजो राजसंस्थाले मेरो सरकार भनेको प्रति आपत्ति गर्नेहरुले राज बस्ने स्थानमा राष्ट्रपति बसेको देख्दा के भन्ने भन्दै प्रश्न गरे ?

राष्ट्रपतिले अरु सांसद जस्तो खुरुखुरु हिडेर वक्तब्य दिएको भएपनि त हुन्थ्यो नि !  किन गाडीमा गएर दिनुपर्ने ? किन त्यो घोडाहरु समेत हिडाउनुपर्ने ? राष्ट्रपति विदेश भ्रमणमा जाँदा भीभीआईपी कक्षबाट रातो कार्पेट ओछ्याएर गार्ड अफ अनर लिएर किन जानुपर्ने ? नगरेपनि हुन्थ्यो त ? हिजो राजाले पनि गर्थे । हामीले त्यहीं पछ्याएको भन्न मिल्यो र ? राज्य भएपछि त्यसका निश्चित मान्यता हुन्छन् त्यसलाई पच्छाउनु पर्छ । गर्नुपर्छ ।

यहाँ मात्र होइन, चीनमा जाँदा पनि राष्ट्रपतिलाई २१ तोपको सलामी दिईयो । भारत र चीन जाँदा प्रधानमन्त्रीलाई २१ तोपको सलामी दिईयो । बेलायत जाँदा पनि त्यही गरिन्छ, चीन जाँदा पनि त्यही गरिन्छ, अमेरिका जाँदा पनि त्यही गरिन्छ, हामी पनि त्यही गर्छौं । यी यस्ता कुराहरु विश्वव्यापी हुन्छन्, सर्बमान्य हुन्छन् । नेपाल जस्ता लोकतान्त्रिक मुलुकहरुमा राष्ट्राध्यक्षले संसदमा सम्बोधन गर्दा ‘मेरो सरकार’ भन्ने चलन छ । त्यही आधारमा नेपालमा पनि भनिएको हो ।

‘मेरो सरकार’ भन्दा सामन्तपन झल्कियो भन्ने तर्कहरु समेत छन् । राजतन्त्र हुँदै नभएका मुलुकहरुमा समेत ‘मेरो सरकार’ भन्ने चलन छ । अमेरिकाको उदाहरण दिँदै डा. भट्टराईले भने त्यहाँ राजतन्त्र नै थिएन । त्यहाँ पनि माई गभरमेन्ट भन्ने चलन छ । त्यहाँ सामन्तीपन नझल्किने हाम्रोमा चाहिँ सामन्तीपन झल्किने ?

हाम्रा सामाजिक संजालहरु अझ कतिपय अवस्थामा हाम्रा मिडियाहरु सतही कुरामा अल्झिने विषय वस्तुको कुरा बुझ्न नचाहने, त्यस विषयको चर्चा र बहस नहुने प्रवृति अगाडि बढ्न हुँदैन । अरुले ल्याएको विषयमा समेत विषयवस्तु बुझेर मात्र त्यसको चर्चा गर्नुपर्छ भन्दै डा. भट्टराईले हल्लाको पछाडि नलाग्न युवाहरुलाई अनुरोध गरे ।

नीति कार्यक्रम राम्रो छ । विकासले गति लिएको छ । ‘समृद्ध नेपाल : सुखी नेपाली’को राष्ट्रिय नारा नेपाली जनताले मात्र मन पराएर हामीलाई भोट दिएका होईनन् । अन्तर्राष्ट्रिय रुपमा समेत हामीले जे आकांक्षा राखेका छौं, त्यसको समर्थन प्राप्त गरेका छौँ । भारतका प्रधानमन्त्रीले भनेका छन्, नेपाल सरकारको ‘समृद्ध नेपाल : सुखी नेपाली’को चाहना पुरा गर्न हामी हरतरहको सहयोग गर्न तत्पर छौं भन्नु भो अस्ति राष्ट्रपतिको चीन भ्रमणका समयमा चिनियाँ राष्ट्रपतिले आफ्नो भाषणमा २/३ पटक ‘समृद्ध नेपाल : सुखी नेपाली’ को आकांक्षा पुरा गर्न हामी सहयोग गर्न तयार छौं भन्नुभयो, अर्थात हाम्रो अन्तर्राष्ट्रिय ईमेज, हामीले अगाडि सारेका आकांक्षा, हाम्रा योजनाहरु वा वर्तमान सरकार, देशका प्रधानमन्त्री र राष्ट्रपतिको प्रतिष्ठा विगतका धेरै समयपछि आएर उठिरहेको छ । अगाडि बढिरहेको छ ।

देश समृद्ध बन्दै जाँदा, हाम्रो अन्तर्राष्ट्रिय छवि बढ्दै जाँदा, हाम्रो हरियो पासपोर्टले समेत अन्तर्राष्ट्रिय एयरपोर्टमा महत्व पाउँदै जान्छ । सरकार त्यो गतिमा अगाडि बढेको छ । त्यसैले तपाई युवाहरुले मुलुक कता जाँदै छ भन्ने विषयमा चासो देखाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्