बन्यो ‘नयाँ वृन्दावन गौशाला’



२३ बैशाख २०७६, इटहरी

पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्ने उदेश्यले मोरगंको सुन्दरहरैचामा ‘नयाँ वृन्दावन गौशाला’ ना दिएर राधाकृष्णको मन्दिर निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक रूपले मनोरम स्थलको रूपमा रहेको वुढीजमुना खोलाको पूर्व तर्फको किनारामा ३ विगाह क्षेत्रफलमा भौतिक पूर्वाधार निर्माण गर्न थालिएको हो ।

२०६६ साल देखि नयाँ वृन्दावन गौशाला राधेश्याम सेवा ट्रष्टको स्थापना गरी विभिन्न भौतिक पूर्वाधारहरू निर्माण गरिदै आएको थियो । नयाँ वृन्दावन निर्माण कार्य थालेको ट्रष्टले गौ सेवाका लागि गौशाला भवन, गौ सेवक वासस्थान, शिव मन्दिर, बुद्ध मूर्ती स्थापना, आश्रम भवन, राशि अनुसारको वृक्षारोपण गरी वगौचा निर्माण गरी सकेको ट्रस्टका संस्थापक संरक्षक दिनबन्धु शास्त्रीले जानकारी दिए ।

मन्दिर निर्माण कार्य सम्पन्न भएसँगै यही वैशाख २८ गते राधाकृष्ण भगवान्को ‘प्राणप्रतिष्ठा’ गरिने बताइएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना सहित प्राण प्रतिष्ठा र उद्घाटन कार्यक्रम रहेको शास्त्रीले बताए ।

जसअन्तरगत वैशाख २४ गते देखि ३० गते श्रीमद्भागवत सप्ताह महायज्ञ सञ्चालन हुने तथा सोही अवसरमा राधाकृष्णको ‘प्राणप्रतिष्ठा’ गरिने समेत उनले बताए । राधाकृष्णको ‘प्राणप्रतिष्ठा’ लगायतका धार्मिक अनुष्ठान आयोजना गर्न मन्दिर समुद्घाटन तथा प्राणप्रतिष्ठा मूल समारोह समिति बनाएर काम भइरहेको ट्रस्टका सचिव श्यामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्