
२३ बैशाख २०७६, इटहरी
जातीय छुवाछुत तथा भेदभाव विरुद्ध जनचेतना जागृत गर्ने उद्देश्यले ५० दिनअघि महाकालीको दोधारा र चाँदनीबाट सुरु भएको ‘नेपाल पदयात्रा– २०१९’ इटहरी आइपुगेको छ । जातीय छुवाछुत अन्त्य गर्ने जति कानुन बनेपनि चाँदनी दोधाराबाट इटहरीमा आइपुग्दा दलित समुदायमाथिको उत्पीडन जारी रहेको अभियानमा संलग्नले बताएका छन् ।
अभियन्ताहरू अशोक दर्नाल, होमराज आचार्य र रिता परियारलाई आइतबार इटहरीमा स्वागत गरिएको छ । आइतबार आफूहरूको अभियान ५० दिन पुगेको अभियान्ता होमराज आचायले बताए । उनले ५० दिनमा इटहरी आइपुग्दा अभियान सफल हुँदै गएको अनुभूति सुनाए । उनका अनुसार उनीहरूलाई हालसम्म ८५ स्थानीय तहले सहयोग गरेका छन् ।
उनले राष्ट्र निर्माणमा दलितहरूको रगत पसिना बगेको कुरा स्मरण गरे । उनले मन्दिरका मूर्ती र गजुर बनाउने दलितहरू त्यै मन्दिरभित्र पस्न नपाउनु विडम्बना भएको उनको भनाइ थियो । सङ्घर्ष गर्ने बेलामा अग्र भागमा दलित हुने उपलब्धि पाउने बेलामा पछि पारिने गरिएकोले उत्पीडन जारी रहेको उनले बताए ।
स्वागत कार्यक्रममा इटहरी उपमहानगर प्रमुख द्वारिकालाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, नेपाल कम्युनिस्ट नेकपा प्रदेश १ सदस्य डिबी शाहशंकर, नेपाली काँग्रेस इटहरी उपमहानगर समिति उपसभापति शिवराज दाहाल लगायतले छुवाछुत प्रथा अन्त्य गर्न बनेका कानुन कार्यान्वयन गर्न गराउन आफूहरू अग्रसर हुने बताएका छन् ।
इटहरीबाट शान्ति गजमेर र सहयोग विश्वकर्मा पनि अभियान टोलीसँग पैदल यात्रामा निस्किएका छन् ।





