प्रदेश १ को राजधानी बिराटनगर निश्चित



२१ बैशाख २०७६, इटहरी

१ नम्बर प्रदेशको राजधानी वृहत विराट क्षेत्रको बिराटनगरलाई तोक्ने सत्त्तारुढ दल नेकपाले निर्णय गरेको छ ।

संसदमा दुई तिहाई मत प्राप्त दल नेकपाले वृहत विराटनगर क्षेत्रको विराटनगरलाई राजधानी तोक्ने र आसपासमा नयाँ सिटीको निर्माण गर्ने निर्णय गरेको  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

प्रदेशसभामा २२ गतेसम्ममा प्रदेशको नाम र राजधानीको विषयमा प्रस्ताव हाल्न सभामुखले समयावधि दिनुभएको छ ।

नेकपाले आफूभित्र निर्णय गरेको भएपनि निर्णयको भाषा भने सार्वजनिक गरेको छैन । मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्नुअघि सर्वदलीय सहमति हुने, त्यसपछि संसदीय दलको बैठकबाट टुंग्गो लगाउने तयारी गरेको बताउनुभयो ।

आफूहरु प्रदेशको राजधानीको विषयमा टुंगोमा पुगिसकेको बताउँदै मुख्यमन्त्री राईले वृहत विराट क्षेत्रमा राजधानी तोकिएको भएपनि छरपष्ट पारेर संरचना विभाजित गर्ने पक्षमा निर्णय नभएको बताउनुभयो । उहाँले वृहत विराट क्षेत्र भित्र नै प्रशासनिक संरचना निर्माण गर्ने, पूर्वाधारको विकास गर्ने र स्याटालाइट सिटीको निर्माण गर्ने सोचका साथ आफूहरु अगाडि बढ्ने पनि बताउनुभयो ।

प्रदेशको नामाकरण अहिले नै गर्नुपर्ने आवश्यकता नभएको बताउँदै मुख्यमन्त्री राईले अहिले सहमति जुट्न नसके अर्को अधिवेशनबाट नामाकरण  टुंग्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्