सांसद पहाडीद्वारा नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण



२० बैशाख २०७६, काठमाडौं

फिक्कल गाउँपालिका वडा नं ३ को माध्यमिक विद्यालय रातमाटा खोलागाँउको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

एसिएन डेभलपमेन्ट बैंकद्वारा निर्मित भवनको उद्घाटन सिन्धुली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य गणेश कुमार पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

२०७२ सालको महाभुकम्पका कारण ध्वस्त भएको रातमाटा खोलागाँउको विद्यालय भवन पुनःनिर्माणार्थ एडिवीले रु. पाँच करोड २३ लाख १५ हजार दुई सय ६४ रुपैया आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक मोदनाथ पहाडीले परिवर्तन खबरलाई जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पहाडीले भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै विद्यालयको बाहिरी आवरण मात्र पढाई राम्रो नहुने भन्दै व्यवस्थापन तथा शिक्षकहरुलाई पढाईमा गुणस्तर ल्याउन समेत आग्रह गरेका थिए ।

निर्माण सम्पन्न भएपनि अपुग कक्षा कोठा पुरा गराउन, विज्ञान विषयको लागि आवश्यक ल्याव सामग्री तथा प्राविधिक शिक्षाको लागि आवश्यक पहल गर्न आफू प्रतिवद्ध रहेको प्रमुख अतिथि पहाडीले जनाए ।

विद्यालयका प्रधानाध्यापक रमेश कुमार फुँयालले विद्यार्थीहरुलाई आवश्यक कक्षाकोठा तथा विजुलीको समस्याले विभिन्न विद्युतिय कार्य गर्न समेत समस्या रहेकोले राष्ट्रिय विद्युत प्रसारण लाईनका लागि र थप कक्षा कोठा परिपूर्तीका लागि सांसद पहाडी समक्ष आग्रह गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि प्रदेशसभा सदस्यद्वय प्रदिप कटुवाल र राजन दाहाल, अतिथिहरुमा फिक्कल गाँउपालिका उपप्रमुख पार्वती सुनुवार, फिक्कल गाँउपालिका वडा नं ३ का वडाध्यक्ष टेक बहादुर रजन मगर लगायत अन्य शिक्षासेवी तथा समाजसेवीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खड्ग बहादुर रजन (धिरज)ले गरेका गरेका थिए भने संचालन विद्यालयका शिक्षक शम्भु प्रसाद पहाडीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्