
२० बैशाख २०७६, काठमाडौं
गृहमन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।
बिहीबार साँझ बसेको बढुवा समितिको बैठकको निर्णयबाट रिक्त रहेको एउटा डीआईजी पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल २८ माघमा काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा शरुवा भएका थिए ।
परिसरमा रहँदा नेपाली नक्कली नोटको कारोबार, अवैध सुन बरामद, क्रिकेट र फुटबलका खेलमा हुने अनलाइन बेटिङदेखि उपत्यकामा शान्ति, सुरक्षा कायम गराउन पोखरेलले उत्कृष्ट कार्य गरेका थिए । काठमाडौं प्रहरीबाट सरूवा भएर उनी लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत् रहेका छन् ।
त्यसअघि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा उनले काम गरेका थिए ।
एसपी हुँदा जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्व गरेर सफलतापूर्वक दोश्रो संविधानसभाको निर्वाचन उनले सम्पन्न गराएका थिए । डीएसपी हुँदा संखुवासभामा पहिलो संविधानसभाको निर्वाचनमा खटिएका उनी त्यहाँबाट बानेश्वर वृत्तमा सरुवा गराइएका थिए ।
बानेश्वरपछि उनी यूएन मिसन, ट्राफिक महाशाखा लगायतमा काम गरेका थिए । बढुवा सिफारिससँगै २०४९ बैशाखको ब्याजबाट प्रहरी महानिरीक्षकका लागि उनी एक्ला दावेदार बनेका छन् ।





