प्रदेश नंं १ को नामाकरण ‘किराँत प्रदेश’नै गरिनुपर्ने यायोख्खाको माग



१९ बैशाख २०७६, काठमाडौं

प्रदेश नं. १ को नाम ‘किराँत प्रदेश’ नै हुनुपर्ने माग गर्दै आएको किराँत राई यायोख्खाले फेरी माग दोहार्याएको छ ।

प्रदेश सभाले बिहीबारसम्ममा नाम र राजधानी प्रस्ताव दर्ता गर्ने समयसीमा तोकेपछि यायोक्खाले सो माग दोहार्याएको हो ।

“किराँत कुनै एउटा जाति नभई इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।” यायोक्खा केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिवस राईले भने । ‘यसको सम्मान गर्नु हामी सबैको कर्तव्य हो’ । उनले थपे ।

यायोक्खाले डेढ दशकदेखि किराँत प्रदेशका पक्षमा शान्तिपूर्ण अभियान जारी राखेको जनाएको छ । उसले आफ्नो मागलाई लिएर सत्तारुढ राजनीतिक दलहरू, प्रतिपक्ष दलहरू, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री, सांसदहरू लगायतलाई ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘पहिचानको आधारमा प्रदेशको नाम किराँत राखिएन भने अन्ततः त्यो भूगोलमा शान्ति स्थापना हुन सक्दैन भन्ने हामीले बुझेका छौं, बुझेर पनि प्रदेशको नाम किराँत नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्